Comments Add Comment

हिमालयले जेठ १८ देखि नियमित उडान भर्ने, पहिलो गन्तव्य दोहा

Himalaya Airlines A320 Final 810
१० जेठ, काठमाडौं । हिमालय एयरलाइन्सले यही जेठ १८ गतेदेखि नियमित उडान सुरु गर्ने भएको छ । हिमालयले पहिलो नियमित गन्तव्य कतारको दोहा बनाएको छ ।

हिमालयको एयरबस ३२०-२१४ विमान काठमाडौंबाट स्थानिय समय राती ११ बजे दोहातर्फ उड्ने छ । दोहाबाट विमान स्थानिय समय साढे दुई बजे उडेर बिहान सवा १० बजे काठमाडौंमा अवतरण गर्नेछ ।

यसअघि हिमालयले भारतको दिल्लीबाट नियमित उडान सुरु गर्ने जनाएको थियो । तर, भारतमा उडान अनुमतिका लागि धेरै समय लाग्ने भएपछि दोहाबाट नियमित उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

दोहा सुरुमा हप्ताको तीन दिन उडान भर्ने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । विस्तारै दैनिक उडान भर्ने योजना रहेको उनले सुनाए । नेपाली एयरलाइन्सका लागि कतार पोटेन्सियल मार्केट हो ।

दोहामा हुने नियमित उडानले दुई देशबीच पर्यटन प्रवर्द्धन र जनस्तरमा सम्बन्ध विस्तार गर्न सघाउ पुग्ने उपाध्यक्ष श्रेष्ठको विश्वास छ । उनले हिमालय एयरलाइन्सले नेपाली संस्कृतिको झलक दिँदै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गरे ।

‘नेपाल उडान भर्ने विदेशी एयरलाइन्स धेरै छन्, तर नेपालबाट विदेश उडान भर्ने एउटामात्र एयरलाइन्स छ’ कम्पनीका महाप्रबन्धक राजु केसीले भने- ‘पहिला अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमको हिस्सा ५० प्रतिशत थियो, अहिले घटेर ५ प्रतिशतमा झरेको छ, हाम्रो उद्देश्य नेपालबाट उड्ने जहाजको हिस्सा बढाउने हो, निगमसँग प्रतिस्पर्धा गर्ने होइन ।

कम्पनीले कतारको लागि जेनरल सेल्स एजेन्ट (जीएसए) क्लियोपेट्रा ट्राभल्सलाई नियुक्त गरेको छ । सो कम्पनीले कतारमा हिमालय एयरलाइन्सको मार्केटिङ, बजार विकास, आरक्षण, टिकेटिङ लगायतका सेवाहरुको प्रतिनिधित्व गर्नेछ । हिमालयले कतारी बजरामा सुपथ मूल्यमा आरामदायी सेवा प्रदान गर्ने दाबी गरेको छ ।

कम्पनीले छिट्टै एयरबस ३१९ विमान ल्याउने बताएको छ । यो विमान ल्याएपछि चीन र भारतमा उडान गर्ने केसीले बताए । कम्पनीले आगामी पाँच वर्षभित्र १५ वटा एयरबस ३२० सिरिजका विमान ल्याएर एशियाली मुलुकका विभिन्न शहरमा उडान गर्ने तयारी गरेको छ ।

कम्पनीले केही समयपछि लामो दुरी उडान भर्ने एयरबस ३३० विमान ल्याएर जापान ,कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका उडान भर्ने योजना बनाएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले यसअघि श्रीलंकामा दुईवटा चार्टर्ड उडान गरेकेा थियो ।

हिमालय एयरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपालीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment