Comments Add Comment

प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

मधेसी मोर्चाले उठाएका मागबारे छलफल हुने

KP Oli११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सत्तारुढ दलहरुका साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनमा रहेका मधेसवादी पार्टीलाई समेत बोलाइएको छ ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहान साढे १० बजे बोलाइएको छ । बैठकमा आगामी बजेटका बिषयमा छलफल गरिने बताइएको छ । साथै संयुक्त गठबन्धनको आन्दोलन र वर्तमान राजनीतिक समस्या समाधानका विषयमा समेत छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालका अनुसार बैठकमा बजेटका विषयमा भन्दा पनि संघीय गठबन्धनले उठाएका मागहरुलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा छलफल हुने छ ।

बैठकमा उपस्थित हुन सबै दलहरुलाई इमेलमार्फत निम्तो पठाइएको र स्वंय प्रधानमन्त्रीले समेत निम्तो गरेको दहालले अनलाइखबरलाई बताए ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनले पछिल्लो समय राजधानी केन्दि्रत आन्दोलन गर्दै आएका बेला प्रधानमन्त्रीले मोर्चालाई औपचारिक पत्र लेख्नुका साथै सर्वदलीय बैठकको आयोजना गरेका हुन् ।

यसैवीच प्रधानमन्त्री ओलीले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन मंगलबार साँझ औपचारिक पत्र पठाएका छन् । उनले विगतमा भएका वार्ता र संवाद समस्या समाधानका लागि सरकार सकारात्मक भएको र आफू वार्ताबाटै समस्या समाधान गर्ने पक्षमा रहेका पत्रमा उल्लेख गरेका छन् ।

मोर्चालाई पत्र पठाउनु र सर्वदलीय बैठक गर्नु अघि प्रधानमन्त्रीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर दुई घण्टा छलफल गरेका थिए । ठाकुर दिल्लीबाट फर्केलगत्तै प्रधानमन्त्री र उनीवीच भेट वार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment