Comments Add Comment

प्रेस स्वतन्त्रताको नाममा हुने अपराधिक प्रवृत्तिविरुद्ध लड्छु: गगन

'पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छु'

 

gagan-thapa

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तर, प्रेस स्वतन्त्रताको नाममा हुने अपराधिक प्रवृत्तिका विरुद्ध सधैं लड्ने बताए ।

गगन थापाको उजुरीमा प्रहरीले चन्द्रमान श्रेष्ठ लगायतलार्इ पक्राउ गरेको थियो । यसबारे विज्ञप्ती जारी गर्दै गगनले भनेका छन्, पत्रकारिताको नाममा आधारहीन र षडयन्त्रपूर्ण समाचार बनाएर स्वतन्त्र प्रेसलाई नै बदनाम गर्ने गरी कसैको चरित्र हत्या गर्ने उद्देश्यका साथ काम गरिरहेका यस्ता अपराधिक तत्वलाई निरुत्साहित गर्न कानूनी उपचार अपनाउन नेपाल प्रहरीमा छानबिन र कानूनी कारबाहीका लागि निवेदन दिएको हुँ ।’

थापाका अनुसार वैशाख २८ गते उनी कुनै कार्यक्रममा बोलेका थिएनन् । संसदमा थिए । तर, ‘भारतको विरुद्धमा उत्रने नेपाली भेडा हुन्- गगन थापा’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

विगतमा पनि कपोलकल्पित समाचार कोर्ने र अनर्गल प्रचार गर्दै राजनीतिक चरित्रहत्या गर्ने, सार्वजनिक जीवनलाई तहसनहस पार्ने प्रयास भएको उनले उल्लेख गरेका छन् ।

‘पार्टी भित्र होस् वा बाहिर, संचार माध्यममा होस वा सार्वजनिक मञ्चहरूमा मैले सदैव राष्ट्र, राष्ट्रिय एकता र नेपाली जनताको वृहत्तर हितका पक्षमा खुलेर बोलेको छु र लडेको छु । पछिल्लो समयमा नेपाल-भारत सम्बन्धमा र नेपालको आत्मसम्मानका खातिर मैले राखेका धारणा र अडान सवैसामू जगजाहेर छ, उनले भनेका छन्, मलाई रत्तिभर संदेह छैन- यो मेरो राजनीतिक मूल्य, मान्यता र विश्वासका खिलाफमा मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने कुत्सित मनसायका साथ गरिएको षडयन्त्र हो । हुँदै नभएको कार्यक्रमको कल्पना गरेर राष्ट्रको संवेदनशील विषयमा बोल्दै नबोलेको कुरा बोलेको भनेर दुस्प्रचार गर्नु आफैमा अपराधिक कृत्य हो र यसको कानूनी उपचार हुनै पर्छ ।’

कांग्रेस नेता गगनले स्वतन्त्र प्रेस लोकतन्त्रको आत्मा भएको र प्रेस स्वतन्त्र, मर्यादित र विश्वासनीय हुनुपर्छ भन्ने मेरो मान्यता रहेको बताएका छन् । तर यस्ता केही पात्र र प्रवृत्तिका कारण पत्रकारिताको विश्वसनीयता, मर्यादा र प्रतिष्ठामा आँच पुग्नेमात्र होइन अन्ततः स्वतन्त्र प्रेसको अवधारणा विरोधीहरूलाई नै मलजल पुग्छ, उनले भनेका छन् ।

अनैतिक समाचार सम्प्रेषण गर्नेहरूलाई निरुत्साहित गर्नु र स्वच्छ पत्रकारिताको दायरामा ल्याउनु पीडित व्यक्तिमात्र होइन, स्वतन्त्र र जबाफदेही पत्रकारिताका पक्षधर सबैको दायित्व भएको उनले बताएका छन् ।

प्रेससंग सम्बन्धित प्रेस काउन्सिल जस्ता नियमनकारी निकाय रहेको भएपनि यो विषय प्रेससँम मात्र संबन्धित नभएर आफैंमा अपराधिक काम भएको उनको तर्क छ । थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको दुरुपयोगका बिरुद्ध हाम्रो संविधानले तोकेको कानुनी उपचारको प्रावधानको सदुपयोग गर्नु मेरो कर्तव्य समेत हो भन्ने ठानेर कानूनी उपचारको वाटो समातेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment