Comments Add Comment

चौंरीगाईको दूध बेचेर लखपति बन्दै गत्लाङका स्थानीय

yak--chauri-gai११ जेठ, गत्लाङ (रसुवा) । चौँरीगाईको दूध बेचेर मासिक एक लाख ५० हजार रूपैयाँसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् ।

चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । हिमाली क्षेत्रको पहिचानका रुपमा पालिने चौँरीगाइले यहाँका किसानलाई आर्थिक रुपमा बलियो मात्रै बनाएको छैन, गाउँमा केही प्रगती हुँदैन भन्दै विदेशीने युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने शिक्षा दिएको छ ।

गत्लाङका रामबहादुर तामाङले २० वटा चौँरीगाई पाल्नुभएको छ भने सात वटाले दूध दिन्छन । बिहानबेलुका दुग्ध विकास संस्थानले खोलेको चिज उत्पादन केन्द्रमा दूध बिक्री गर्छन् । उनले चौँरीगाईको दूध बिक्री गरी घरमै रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरिरहेका छन् ।

“साउनमा १३ वटा चौँरीगाई ब्याउँछ, त्यसपछि अहिलेको भन्दा आम्दानी बढ्छ,” उनले भने । तर चौँरीगाईलाई खुवाउन दाना र नुनको तामाङलाई सँधै समस्या परिरहन्छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पानी न्यून मात्रामा परेपछि यसपाली घाँसको पनि समस्या भएको छ । गत्लाङको पठारमा चौरी धपाउँदै तामाङले भने– “हामीजस्ता हिमाली भेगका किसानलाई सरकारले केही सहुलियतको व्यवस्था गर्नुपर्छ ।”

यस्तै गत्लाङकै साइली तामाङसित पनि १६ वटा चौँरीगाई छन् । तीमध्ये ६ वटाले अहिले दूध दिन्छन् । घरमै बसेर मनग्य आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । दुग्ध संस्थानले स्थापना गरेको चिज उत्पादन केन्द्रका कारण दूध बिक्री गर्न सहज भएको तामाङ बताउँछन् ।

“चौँरीगाईले दूध दिने समयमा मासिक रु दुई लाखसम्म कमाई हुन्छ,” उनले भने– “सहरमा बस्नेलाई मात्रै होइन, हामीजस्ता किसानलाई पनि सरकारले हेर्नुप¥यो ।” स्थानीय नुमा गेल्मु तामाङ चौँरीगाई नै आफूहरुको आर्थिक उपार्जनको आधार भएको बताउँछन् ।

‘भूकम्पका कारण समस्यामा चिज उत्पादन केन्द्र’

चिज उत्पादन केन्द्रका धनबहादुर जिरेल साउन, भदौ, असोज, कात्तिक र मङ्सिरसम्म किसानले उल्लेख्य मात्रामा दूध ल्याउने गरेका कारण आफूहरुलाई चिज उत्पादन गर्न सहज भएको बताउँछन् ।

उनी भन्छन्, “किसान अत्यन्तै उत्साहित छन्, चौँरीगाईपालन यहाँको परम्परागत पेसा हो । यसलाई आधुनिकीकरण गरेर आर्थिक उर्पाजनमा लगाउनुपर्छ ।” वार्षिक नौ हजार किलो चिज उत्पादन गर्ने केन्द्रले तीन हजार १०० किलो घीउ उत्पादन गर्छ । उत्पादन केन्द्रमा नै प्रतिकिलो एक हजार १०० मा बिक्री हुने चिजको बजार ठूलो रहेपनि मागअनुसार उत्पादन गर्न नसक्दा माग धान्न गाह्रो परेको जिरेलको भनाइ छ । केन्द्रमा उत्पादित चिज दुग्ध विकास संस्थानमा जाने गरेको छ ।

केन्द्रका अर्का कर्मचारी तेजबहादुर खड्का स्थानीय किसानको आम्दानीको स्रोतका रुपमा स्थापित केन्द्रलाई विस्तार गर्न सके अझै राम्रो हुने बताउँछन् । भदौ लागेपछि केन्द्रमा १५ जना भन्दा बढी कर्मचारी रहने गरेको भए पनि हाल न्यून मात्रामा चिज उत्पादन हुँदा चारजना मात्रै रहने गरेका छन् ।

केन्द्रले किसानलाई चौँरीगाई पाल्ने आधुनिक सीपसमेत सिकाएको छ । तर गत सालको गोरखा भूकम्पका कारण भत्किएको केन्द्रको भवन पुनःनिर्माण गर्न हालसम्म पहल हुन सकेको छैन । विसं २०३४ मा स्थापित सो चिज उत्पादन केन्द्रको आधुनिक भवन बनाउन सरकारले ध्यान दिनुपर्ने प्रमुख जिरेल बताउँछन् । भवनको अभावमा कर्मचारी सामान्य टहरामा बसेर रात काट्ने गरेका छन् ।

“किसानले जता चाँैरी लैजान्छन्, उतै कर्मचारी जाने गरेका छाैं” एक कर्मचारीले भने। तर परम्परागत चाैंरी पालनलाई आधुनिकीकरण गर्दै चिज उत्पादन केन्द्रलाई सुविधा सम्पन्न बनाउन सके हिमाली क्षेत्रका किसानको मुहार अझै उज्यालो हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment