Comments Add Comment

शिद्धबाबाको त्राशदीः डाँडो भत्काउने कि सुरुङ खन्ने ?

भुक्तभोगी अर्थमन्त्रीले बजेटमा पार्ने आशा

Siddhababa Pahiro (7)

११ जेठ, काठमाडौं । बुटवलको शिद्धबाबा भन्ने बित्तिकै याद आइहाल्छ, त्यहाँको कहालीलाग्दो पहिरो । शिद्धबाबा प्रशिद्ध धार्मिक स्थल हो । तर, त्यहाँको मन्दिर भन्दा अगाडि पहिरो सम्झिनुपर्ने नियति अफसोचपूर्ण हो ।

शिद्धबाबा पुगेपछि यात्रु तथा चालकहरु अत्तालिन्छन् । पहिरोका डरले कतिबेला यो सडक पार गरौं भन्ने हुन्छ । हिउँद होस् वा वर्षात, शिद्धबाबामा सधैभरी यात्रुहरु त्रासदीपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् ।

शिद्धबाबाको पहिरोले मानिसको ज्यान लिन थालेको बर्षौं भइसकेको छ । तर, अहिलेसम्म सडक सुरक्षित बनाउन ठोस कदम चालिएको छैन् । पहिरोका विषयमा धेरै बहस भएपनि समस्या समधानमा कोही अगाडि नसरेको स्थानिय बताउँछन् ।

यो पनि पढ्नुहोस्, सिद्धबाबा पहिरोमा पाँच वर्षमा २५ को मृत्यु

यसपटक सरकारको अर्थमन्त्री बुटवलका विष्णु पौडेल भएका छन् । उनले यस पटकको बजेटमा शिद्धबाबालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । शिद्धबाबा पहिरोका विषयमा हामीले त्यस क्षेत्रका नेता तथा स्थानियसँग कुराकानी गरेका थियौं । यस्तो रहेको उनीहरुको भनाइः

बजेट छुट्याउने विश्वास छ

गोकर्ण विष्ट, एमाले सचिव

Gokarna-Bista1बुटवल-तानसेन सडकमा पर्ने शिद्धबाबाको पहिलो असाध्यै जोखिमपूर्ण छ । वषर्ात् होस वा हिउँदमा शिद्धबाबाको पहिरो नकाटेसम्म चालक तथा यात्रुको निकै जोखिमपूर्ण र त्रासदीपूर्ण यात्रा हुने गरेको छ । यो पहिरोमा धेरैपटक डरलाग्दा दुर्घटना भएर मानवीय तथा आर्थिक क्षति भएको छ ।

शिद्धबाबा पहिरोको तत्कालिन तथा दीर्घकालिन समधान खोज्नुपर्छ । तत्काललाई कसरी सुरक्षित आवागमन बनाउने भनेर ठोस काम गर्नुपर्छ । दीर्घकालमा यसको विकल्प खोज्नुपर्छ ।

यो सडकबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाहरुमा आवातजावत हुन्छ । पश्चिमाञ्चल क्षेत्रमा पहाडलाई तराईसँग र तराईलाई पहाडसँग जोड्ने यो महत्वपूर्ण सडक हो । तर, सरकारले यति ठूलो जोखिम बढ्दासमेत अहिलेसम्म प्राथमिकतामा राखेको छैन ।

केही महिना अगाडि अहिलेका अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता तथा सरोकारवाला पक्षहरुबीच शिद्धबाबा पहिरोका विषयमा छलफल भएको थियो । त्यतिबेला यसको तत्कालिन र दीर्घकालिन समस्याको समधान खोज्ने भनेर कुरा भएको थियो ।

अहिले स्वंयम विष्णु पौडेल अर्थमन्त्री हुनुभएको छ । बजेट बनाउने जिम्मा उहाँकै मन्त्रालयको हो । उहाँ शिद्धबाबा पहिरोका बारेमा पुरै जानकार हुनुहुन्छ । मन्त्री नहुँदै उहाँले यो पहिरोका बारेमा चासो पनि देखाउनुभएको थियो । त्यही भएर यो पटक शिद्धबाबा पहिरोको समस्या समधानमा उहाँले पहल गर्ने विश्वास छ ।

हामीले पनि शिद्धबाबा पहिरोका बारेमा कुरा उठाइरहेका छौं । यो सडकलाई फराकिलो र सुरक्षित बनाउन पर्याप्त बजेट छुट्टाउनुपर्छ । तत्काललाई बाटो सुरक्षित बनाउन बजेट छुट्टाउनुपर्छ । दीर्घकालमा यसको विकल्प खोज्ने गरी बजेट छुट्टाउन मेरो आग्रह छ ।

बैकल्पिक बाटो चाहिन्छ

रामेश्वर खनाल, पूर्व अर्थसचिव

Rameshower khanalशिद्धबाबामा पहिरो जान थालेको करिव १५ वर्ष भइसक्यो । पहिला केरावारीमाथि कालिमाटी भन्ने ठाउँमा धेरै पहिरो जान्थ्यो, त्यो ठाउँ पहिरोले प्रख्यात बनाएको थियो । पहिरोका कारण बाटो बन्द भइरहन्थ्यो ।

तर, शिद्धबाबामा गएको पहिरोले यातायात रोक्नेमात्र होइन, धेरैको ज्यान लागिसक्यो । वितेको १५ धेरैको ज्यान शिद्धबाबाले खाइसकेको छ । कमजोर माटोमा चिराचिरा परेको कडा पत्थरले बनेको शिद्धबाबाको डाँडोबाट अप्रत्यासित रुपमा ढुंगा खस्ने गर्छ ।

शिद्धबाबाको बाटो फराकिलो बनाएर मात्र सुरक्षित हुँदैन । यसको विकल्प खोज्नै पर्छ । घोप्टो परेको शिद्धबाबा पहाडमा धादिङको कृष्णभिरमा जस्तो प्रविधि अपनाएर पहिरो रोक्न सकिदैन । यहाँको बाटो सुरक्षित बनाउन सुरुङ खन्ने अथवा अन्यत्रबाट सडक लैजानुपर्छ ।
पाल्पा दोभान साइडमा कडा र स्थिर चट्टान रहेको हुँदा त्यहाँ सुरुङ बनाएर युद्ध भएको थियो । त्यो सुरुङ अझै रहेको छ । शिद्धबाबा सडकलाई सुरक्षित बनाउन पुरानो दोभानसम्म सुरुङ खनेर बाटो निकाल्नुपर्छ ।

सुनवल र बुटवलको बिचमा रहेको खैरेनी भन्ने ठाउँबाट सडक झडेँवा निस्कन्छ । अहिले त्यहाँ सानो सडक छ । त्यसलाई स्तरोन्नती गरेर विकल्प दिन सकिन्छ । भडेँवाबाट तानसेन जोड्ने बाटो खुलिसकेको छ । यो बाटो स्तरोन्नती गरे पनि सडक सुरक्षित बनाउन सकिन्छ ।

डाँडो भत्काएर सडक फराकिलो बनाऔं

चन्द्र भण्डारी, नेता नेपाली कांग्रेस

Chandra-Bhandariसिद्धबाबा पहिरो निकै डरलाग्दो र कहालीलाग्दो छ । यो पहिरोले अहिलेसम्म करीव ३ हजार मानिसको ज्यान खाइसकेको छ । अझै कहिलेसम्म मानिसको ज्यान लिने हो भन्न सकिदैन । सरकारले दीर्घकालिन दृष्टिकोण र रणनीति बनाएर सिद्धबाबाको जोखिम हटाउनुपर्छ । आज यो पहिरोका बारेमा गम्भिर भएर नसोँचे भोली झनै विकराल स्थिति आउन सक्छ ।

हामी उक्त सडकबाट यात्रा गर्दा बारबार बाँचिरहेका छौं, फेरि त्यही पहिरोमा परेर मर्न पनि सक्छौं । त्यहि भएर हामीले यसको बारेमा गम्भिर हुनैपर्छ । मैले पहिलोपटक सिद्धबाबा पहिरो र सडकको बिषयमा सदनमा कुरा राखेको थिंएँ ।

तत्कालिन अर्थमन्त्री डा.रामशरण महतका पालामा शिद्धबाबामा टनेलको काम अघि बढेको थियो । त्यसपछि पटक-पटक लामो बहस र छलफल पनि भएको छ । पहिले टनेललाई जोड दिऔं, त्यो सफल नहुने भएमा सिद्धबाबाको भिरलाई डिसमिस गरेर रि-कन्स्ट्रक्सनमा लगाउन सकिन्छ ।

यसो गर्दा बुटवलको विकास पनि हुन्छ, त्यहाँ बस्ती पनि बसाउन सकिन्छ । यसले दीर्घकालिन फाइदा पुर्‍याउँछ । नेपालका अन्य ठाउँहरु खन्नुभन्दा शिद्धबाबाको ढुंगा गिट्टी बालुवालाई पूर्व झापासम्म र पश्चिम महाकालीसम्म विकास निर्माणमा प्रयोग गर्न सकिन्छ ।

सडक सुरक्षित बनाउने सरकारको दायित्व हो

महेशमान सिंह, अध्यक्ष बुटवल उद्योग बाणिज्य संघ

Mahesh man singhसडक सुरक्षित बनाउने दायित्व सरकारको हो । तर, सरकारले खासै पहल नगर्दा सिद्धबाबाको जोखिम दिन प्रतिदिन बढिरहेको छ । हामी निजी क्षेत्रबाट राज्यलाई गर्नुपर्ने सहयोग गर्न तयार छौं । राज्यले त अगुवाइ गर्नुपर्‍यो नि । हामीसँग ठूलो बजेट नभएका कारण केहि गर्न सकेका छैनौं, चिन्ताबाहेक ।’

समय समयमा केही फोरमहरुमा हामीले सिद्धबाबाको सडक सुरक्षाका विषयमा आवाज उठाइरहेका छौं । सम्बन्धित सरोकारवाला पक्षलाई पनि झक्झकाइरहेका छौं । तर, काम कहीँबाट हुन सकेको छैन । शिद्धबाबा पश्चिमाञ्चल क्षेत्रमा परेपनि राष्ट्रकै समस्या हो । यसमा राज्यले ध्यान दिनुपर्छ ।

हरेक पटक यात्रा गर्दा मन झसङ्ग हुन्छ

महेन्द्र पाण्डे, प्राध्यापक एवं अधिवक्ता

Mahendra dandeyपाल्पाको दोभानबाट दैनिक यहि बाटो हुँदै बुटवलमा पढाउन आउँछु । हरेक यात्रामा शिद्धबाबा पुग्दा मन झसङ्ग हुन्छ । कतिबेला ढुंगाले किचेर मरिने हो, ठेगान छैन । यस्तो कहालीलाग्दो पहिरोबाट दैनिक हजारौं मान्छेले यात्रा गर्नुपर्ने बाध्यता छ ।

यो सडकलाई सुरक्षित बनाउन, विकल्प खोज्न धेरै ढिला भइसकेको छ । अब चाँडै यसको विकल्प खोज्नुपर्छ । हामी सधै कुरामात्र गर्छौं, अब काम गरेर देखाउने बेला आएको छ । यस क्षेत्रका नेताहरु शिद्धबाबा पहिरोको समस्या समधानका लागि एकजुट भएर लाग्नुपर्छ । विनात्रास सहज ढंगले आवागमनको व्यवस्था मिलाउन शिद्धबाबाको विकल्प सिघ्र खोज्नुपर्छ ।

आफ्नै आँखाअगाडि धेरै दुर्घटना देखेको छु

दलबहादुर गुरुङ, पाल्पा दोभानका अगुवा

Dal bahadur Gurungशिद्धबाबा पहिरोका कारण धेरैले दुःख पाइरहेका छन् । यहाँको समस्या समधानका लागि सरकारले एकिकृत योजना बनाएर अघि बढेमा स्थानिय पनि सहयोग गर्न तयार छन् ।

मैले धेरै पटक आफ्नै आँखा अगाडि दुखद दुर्घटनाहरु देखेको छु । धेरै मानिसहरु मरेको, धेरै सवारी क्षतविक्षत भएको आँखै अगाडि देख्दा यो बाटो हिँड्न पनि मन लाग्दैन । सरकारले यहाँका जनतालाई भयरहित तरिकाले गन्तव्यमा पुग्ने व्यवस्था मिलाउनु लागिहाल्नुपर्छ ।

वर्षातमा घर जान सकिँदैन

श्याम अर्याल, स्थानिय यात्रु

Shyam-Aryalशिद्धबाबाको सडकबाट यात्रा गर्न थालेको धेरै भयो । त्यहाँ खसिरहने पहिरोका कारण सधैभरी त्रासदीपूर्ण यात्रा गरिरहनु परेको छ । शिद्धबाबा पुगेपछि मन झसंग हुन्छ । कतिबेला पहिरो कटेर बाहिर निस्किएला भन्ने हुन्छ । शिद्धबाबा काटेपछि युद्ध जितेजस्तो आभाष हुन्छ ।
यो सडकबाट दैनिक सयौं सवारी कुद्छन्, हजारौं यात्रुले यात्रा गर्छन् । यति व्यस्त सडक सुरक्षित बनाउन कसैको ध्यान गएको देखिँदैन । सरकारले तत्कालै यो सडकलाई सुरक्षित बनाउनुपर्छ ।

यही पहिरोको डरले वषार्तमा घर जान सकिदैन, घरमा गएको फर्किन सक्दैन । शिद्धबाबाको तत्कालिन र दीर्घकालिन समस्या समधानमा सरकार लाग्नुपर्छ । विश्वमा विकसित पहिरो रोक्ने विधिहरु अपनाई सडक सुरक्षित बनाएर यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण मिलाउनु सरकारको दायित्व हो ।

सडक सुरक्षित भए धार्मिक पर्यटक ओइरिन्छन्

लक्ष्मण पोखरेल, सचिव, सिद्धबाबाधाम विकास समिति

Laxman-Pokhrealशिद्धबाबा एउटा प्रख्यात धार्मिक गन्तव्य हो । शिद्धबाबाको दर्शनका लागि दैनिक ठूलो संख्यामा भक्तजन आउने गर्छन् । तर, यहाँको भिरले धेरैलाई आतंकित बनाउने गरेको छ । यहाँको सडकलाई व्यवस्थित गरेर धार्मिक पर्यटन विकासमा टेवा पुर्‍याउनुपर्छ ।

यहाँ धेरै कुरामात्र भयो, काम भएन । हामी शिद्धबाबाको एकीकृत गुरुयोजना पनि बनाउँदै छौं । हामीले यो सडक सुरक्षित होस् भन्ने चाहन्छौं । डरलाग्दो सडकका कारण कतिपय बिदेशीहरु भिरको बाटो हिँड्न डराउदा धार्मिक पर्यटनमा असर परेको छ ।

शिद्धबाबा कतिबेला पार गरौं भन्ने हुन्छ

बिमल थापा, बस चालक

सिद्धबाबामा पहिरोको डरले कतिबेला यो सडक पार गरौं भन्ने हुन्छ । पहिरो गएका ठाउँमा सडक भत्किएको हुँदा गाडी कुदाउन पनि मिल्दैन, जहाँ जोखिम बढी छ, त्यहीँ नै बिस्तारै कुदेपछि यात्रुहरु अत्तालिन्छन् । यसरी ज्यान हत्केलामा राखेर गाडी चलाउन थालेको वर्षौं भयो । तर, अहिलेसम्म सडक सुरक्षित बनाउने काम भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment