Comments Add Comment

महन्तले नै सुझाएका थिए वैठकको समयः प्रधानमन्त्रीका सल्लाहकार

११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलिय वैठकमा मधेसवादी दलहरु अनुपस्थित रहे । यद्यपि, मधेसवादी नेताहरुसँगकै परामर्शमा वैठकको समय निश्चित गरिएको प्रधानमन्त्रीले बताएका छन् ।

मधेसी मोर्चा अनुपस्थित रहेको वैठकमा उनले सोमबार मोर्चाका नेताहरुसँग आफूले फोनमा परामर्श गरेर नै आज विहान वैठक बोलाएको जानकारी दिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले एक प्रेस विज्ञप्ति जारी गरी मोर्चाका शिर्ष नेता महन्त ठाकुरसँग प्रधानमन्त्रीको फोनमा छलफल भएको उल्लेख गरेका छन् ।

Mahantha-thakur‘प्रधानमन्त्रीले आजविहान ९ बजे बैठक बोलाउन खोज्नु भएकोमा ठाकुरले ९ बजे आफ्नो आँखा जाँच गराउनुपर्ने भएकोले १० बजेपछि बैठक राख्न सुझाव दिनुभएको हो । त्यसै अनुसार आज १०.३० बजे प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । तर आज विहान ९.३० बजेपछि अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई फोन गरी आफुहरुको बैठक बसेर मात्र वार्तामा आउने वा नआउने जानकारी गराउने बताउनुभयो ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीले हिजो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाएका थिए । मोर्चाका तर्फबाट वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफमा प्रधानमन्त्रीले मोर्चालाई सम्बोधन गरी पत्र पठाएको प्रेस सल्लाहकार दाहालले बताएका छन् ।

बैठकमा मोर्चाका नेताहरु सहभागी नभए पनि प्रधानमन्त्रीले सरकार वार्ता र संवादबाटै समस्याको राजनीतिक समाधान खोज्ने पक्षमा दृढ रहेको बताए । मोर्चासँग अनौपचारिक र औपचारिक वार्तालाई जारी राख्न तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय समस्यालाई राजनीतिको खेल नबनाउन आग्रह गरेका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदार, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, नेकपा मालेका महासचिव एवं उपप्रधानमन्त्री सिपी मैनाली, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्च्छे, राष्ट्रियजनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर केसी लगायत उपस्थिति थिए ।

‘उपस्थित नेताहरुले प्रधानमन्त्रीले मोर्चासँग गरिररहेको अनौपचारिक र औपचारिक वार्ता प्रयास तथा उनीहरुलाई लिखितपत्राचार गर्नुले सरकार वार्ताप्रति गम्भीर देखिएको बताउनुभयो’, दाहालले विज्ञप्तिमा भनेका छन् । समस्याको राजनीतिक समाधान खोज्न आ-आफ्नो ठाउँबाट अनौपचारिक र औपचारिक पहल जारी राख्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment