Comments Add Comment

मनोवादः चुच्चे रेलमा काठमाडाैंदेखि तरार्इसम्म

धेरैपछि आफ्नै ब्यापार-व्यवसायमा दिनुपर्ने अति व्यस्त समयलार्इ कटौती गरेर हामी पुराना पाँच जना साथी चुच्चे रेल चढेर काठमाण्डौ देखि तरार्इ हेर्न जाने योजना गर्दै थियौं  । सबैको समय मिल्यो । साथी दिपेशको होटलमा काम गर्ने तीनजना भियतनामी नागरिकहरु, जो तीन बर्ष अगाडि कामदार भिषामा नेपाल आएका थिए, तिनीरुको भिषाको अवधि सकिएर भियतनाम फर्कन पर्ने  भएकाले थाइल्याण्डबाट नयाँ कामदारहरु नआउँदासम्म हामी चारजना साथीहरु घुम्न जाने योजना बन्यो ।

Ram-Dhunganaकाठमाण्डौमा मेट्रो त दैनिकी नै बनिराखेको थियो । आफुसँग दुर्इ चारवटा महँगा बिदेशी कारहरु हुँदा पनि प्रदुषण र सवारीको चाप घटाउन एउटा जिम्मेवार नागरिकको हिसाबले म मेट्रो रेलमै यात्रा गर्न रुचाउँछु । कामको ब्यस्तताले गर्दा लामो दुरीको द्रुत गतिको रेल चढेर काठमाण्डौ बाहिर घुम्न जान पाएका थिएनौं । पहिलो पटक द्रुत गतिको रेल चढेर काठमाण्डौ बाहिरको यात्रामा लागेका थियौं ।

 रेलले गन्तव्य ततायो । रेलभित्र नेपाली भन्दा बिदेशीहरु धेरै देखिन्थे । कोही अमेरिकन, युरोपियन, अफ्रिकन,चाइनिज र कोरियनहरु पनि उत्तिकै हुन्थे । धेरैजसो नेपालमा टुरिस्ट भिषामा आएर यतै गैरकानुनी रुपमा काम गर्दै बसेका थिए ।

नेपाल घुम्न आउने बिदेशी टुरिस्टहरुको भिड थामिनसक्नु थियो । नेपाल  घुम्न जानु आफ्नो शान सम्झिन्थे बिदेशीहरु । जिन्दगीमा एकचोटि जसरी पनि पुग्नै पर्ने गन्तब्यको रुपमा नेपाललार्इ लिन्थे ।

 कतिपय विदेशीहरु एकपटक नेपाल नहेरी मर्दिँन पनि भन्थे भन्ने कुरा अन्तरास्ट्रिय मिडियाहरुबाट थाहा पाइन्थ्यो ।

विश्वका धनी मानिएका देशहरुमा आर्थिक मन्दी लाग्दा र ती देशहरुको अर्थतन्त्र कमजोर हुँदै जाँदा नेपालले धमाधाम पेट्रोल, फलाम, ग्यास उत्खनन् गरेर विश्व बजारमा बेचिराखेको थियो ।

 हिमाली भेगका  हाम्रा बहुमुल्य जडिबुटीहरु, यार्सागुम्बा चिराइतो, लगायत विदेशमा निर्यात गरेर देशको अर्थ व्यवस्था मजबुत भएको हो ।

सोलुखुम्बुमा विश्वकै सबैभन्दा ठूलो दुग्धजन्य पदार्थ उत्पादन गर्ने कारखाना खुलेको थियो । जहाँ चौरी गार्इ र सगरमाथा नाम गरेको छुट्टै प्रजातिको हिमाली गार्इ, जसलार्इ नेपालका वैज्ञानिकले  विकास गरेका उच्च प्रजातिको धेरै दूध दिने गार्इका रुपमा प्रख्याति कमाएको थियो । यी गार्इको दूधबाट धेरै किसिमका दुग्धजन्य पदार्थहरु बनाउने गरिन्छ । नेपाल घुम्न आउने टुरिस्टहरुले आफ्नो देश फर्कँदा त्यो कम्पनीमा बनेको चिजहरु आफ्ना परिवार साथीभाइलार्इ  उपहारका रुपमा नलगिदिए खिन्न हुन्छन् रे ।

चुच्चे रेल गुड्दै थियो । हामी नेपालको अद्भभुत बिकास, प्रगति र सम्बृद्दि हेर्दै थियौं । खानेकुराको ट्रे गुडाउँदै रेल परिचारिका आइन् । मैले सोधें, तिमी कहाँबाट ?  बेलायती रहिछिन् उनी । नेपालमा होटल म्यानेजमेन्ट बिषय पढ्न आएकी, बिदाको समयमा ‘ पार्ट टाइम जब’ गरेकी रे । नेपालमै पीआरका लागि अप्लाइ गरेकी छु, पीआर भयो भने नेपालमै बस्छु भनी ।

एउटा बिदेशी टुरिस्टले मलार्इ सोध्यो, यो होर्डिंग बोर्डमा देखिएको चश्मे को हो ?  मैले सानका साथ भनें ‘उनी नेपालको रेल अनि सम्वृद्धिका पिता हुन् । जसको ओरिजिनल नाम हो’ खड्गप्रसाद ओली ।

यत्तिकैमा साथी रमेशले मै बिहे गरौ कि के भनिहाल्यो । मैले धत् तँ जस्तो बुढालार्इ पनि भर्खरकी तरुनीले हेर्छे त ‘भनें । रमेशले  तनक्क जिउ तन्काउँदै भन्यो । मसँग बिहे गर्ने बित्तिकै अंगीकृत नागरिकता पाउँछे यसले । अहिलेको नेपाली उखान सुनेको छैनस् तैलें ‘ नेपालको पीआर भनेपछि बिदेशी केटीहरुका तीन नेत्र’बेलायती युवतीलार्इ देखेपछि रमेशको सुकिसकेको जवानी फेरि हराभरा भएर आयो ।

चुच्चे रेल आफ्नै गतिमा जंगल, रास्ट्रिय निकुन्ज, खोला छेउछाउको बाटो भएर द्रुत गतिमा हुँइकिँदै थियो । निकुन्जको बाटो भएर हुइँकिरहदा बिश्वकै दुर्लभ चारपाटे बाघ, एक सिंगे गैंडा लगायतका जनावरहरु देखापर्थे । बिदेशीहरु वाउ ! इट इज अमाजिन ! भन्दै ती जनावरहरु आफ्नो क्यामेरामा कैद गरिहाल्थे ।

बीचबीचमा नेपालको सम्बृदि र वैभव देख्न पाइन्थ्यो । नेपाली कला संस्कृति झल्किने हिसाबले बनाइएका चारतारे पाँचतारे बिशाल होटलहरु । आकाशमा प्याराग्लाइडिंगमा उडिरहेका मानिसहरु । रंगिचंगी केबलकार चढेर नेपालको सौन्दर्य देखेर आफुलार्इ थाम्न नसकेर चिच्याउँदै गरेका बिदेशी पर्यटकहरु ।

खोलामा कोही मोटरबोटको तिब्र रफ्तारमा हुँइकिँदै छन् भने साहसी खेल र्याफ्टिंगमा गुल्टुंग मुल्टुंग गर्दै छन् कोही । हलुका डुंगामा आनन्दले जलबिहार गरिराखेका  बिदेशीहरु प्रसस्तै देखिए ।

तरार्इका समथर भु- भागका बिशाल फाँटहरु । जहाँ आधुनिक किसिमले खेती गरिएको छ । बिदेशी  चिनियाँ र भारतीय कामदारहरु बाली लगाउने र भित्राउने काम गरिराखेका छन् । खेतीको नेपाली मालिक चाँहि परैबाट दुरबीन लगाएर बिदेशी कामदारले काम ठगे\नठगेको निगरानी गरिरहेको छ ।

ठाउँठाउँमा ठुलाठुला होर्डिंग बोर्डमा नेपाली ढाकाटोपीमा सजिएर दाहिने हात माथि ठड्याएको फोटो देखिन्छ । जुन फोटो देखेपछि नेपालीहरु पनि फोटोकै पाराले आफ्ना हात माथि उठाउँछन्  । नेपालीको सिको गरेर कतिपय विदेशी पनि त्यसै गर्छन् ।

एउटा बिदेशी टुरिस्टले मलार्इ सोध्यो । यो होर्डिंग बोर्डमा देखिएको चश्मे  मानिस को हो ?  मैले सानका साथ भनें ‘उनलार्इ नेपाली रेल अनि विकास र सवृद्धिका पिता भनेर चिनिन्छ । जसको ओरिजिनल नाम हो’खड्गप्रसाद ओली  । सम्वृद्ध नेपालका परिकल्पनाकार र आफ्नो कल्पना सपनालार्इ उनले साकार पारेर देखाए । र, सम्बृद्द नेपाल आज हाम्रो पहिचान बनेको छ ।’

देश बिकाशमा महत्वपूर्ण योगदान दिएकाले आजभोलि मानिसहरु खड्ग प्रसाद ओलिलार्इ  ‘बिकाश ओली’ भनेर पनि चिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment