Comments Add Comment

सामसुङले भित्रायो ५० प्रतिशत डाटा बचाउने ‘जे फाइभ’ र ‘जे सेभेन’

Samsung-Galaxy-J7-New 2
१२ जेठ, काठमाडौं । चर्चित कोरियन स्मार्टफोन कम्पनी सामसुङले ५० प्रतिशतसम्म डाटा बचत गर्ने ग्यालेक्सी ‘जे फाइभ’ र ग्यालेक्सी ‘जे सेभेन’ नेपाली बजारमा भित्राएको छ । कम्पनीले परिस्कृत फिचरसहित दुई स्मार्टफोन बजारमा ल्याएको हो ।

गत वर्ष बजारमा भित्रिएको ‘जे फाइभ’ र ‘जे सेभेन’ नेपाली ग्राहकमाझ लोकप्रिय बनेको छ । यही सफलतापछि कम्पनीले दुबै मोडलमा आकर्षक फिचरहरु थपेर २०१६ इडिसन ल्याएको हो ।

दुबै स्मार्टफोनमा अल्ट्रा डाटा सेभिङ मोड राखिएको छ । जसले ५० प्रतिशतसम्म डाटा बचत गर्ने सामसुङ नेपालका नायव महाप्रबन्धक प्रणयरत्न स्थापितले अनलाइनखबरसँग बताए । यो फिचरले इन्टरनेट चलाउँदा साइट र फाइलहरु सानो बनाइदिन्छ ।

अल्ट्रा डाटा सेभिङ मोडले ब्याक ग्राउन्डमा चल्ने अरु एपहरुलाई पनि स्वतः बन्द गरिदिन्छ । जसले गर्दा डाटा बचत गर्न मद्दत मिल्छ । स्थापितका अनुसार यो सामसुङले आफै विकास गरेको फिचर हो ।

यस्ता छन् विशेषताहरू

Samsung J5 & J7

दुबै स्मार्टफोनमा अर्को आकर्षक फिचरका रुपमा ‘एस बाइक मोड’ रहेको छ । यो सवारी चालकका लागी उपयुक्त फिचर हो । मोबाइलमा यो मोड ‘अन’ गरेपछि कल गर्ने व्यक्तिलाई बाइक चलाइरहेको संकेत दिन्छ । साथै, यदि जरुरी काम भएमा १ थिच्न भन्छ । ‘कलर’ले एक थिचेपछि मात्र बाइक चालकको मोबाइल बज्छ ।

एस बाइक मोडमा चालकले बाइक रोकेर मात्र फोन उठाउन मिल्छ । यो फिचरले मोबाइलका कारण हुने सवारी दुर्घटना कम गर्ने विश्वास गरिएको छ ।

तेस्रो आकर्षक फिचरका रुपमा अल्ट्रापावर सेभिङ मोड रहेको छ । यो फिचरले चार्ज सकिन लागेको मोबाइलको ब्याट्री लाइफ बढाइदिन्छ । जे सेभेनमा ३३०० एमएएच र जे फाइभमा ३१०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

samsung pranaya ratna sthapit (3)

सामसुङ नेपालका नायव महाप्रबन्धक प्रणयरत्न स्थापित ।

दुबै स्मार्टफोनमा क्यामेरालाई विशेष ध्यान दिइएको छ । अघिल्ला मोडलमा भन्दा नयाँ मोडलमा क्यामेराका फिचरहरु सुधार गरिएको नायव महाप्रबन्धक स्थापितले बताए । स्मार्टफोनमा अगाडि ५ मेगापिक्सेल र पछाडि १३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । अगाडि पछाडिका दुबै क्यामेरामा एलइडी फ्लास लाइट छ ।

क्यामेरामा अपार्चर (लेन्सको साइज) १.९ रहेको छ । लेन्सको साइज जति ठूलो भयो, त्यती नै बढी लाइट दिन्छ । दुबै स्मार्टफोनले कम प्रकाशमा समेत उज्यालो फोटो तथा भिडियो खिच्ने स्थापितले जानकारी दिए ।

सामसुङ जे सेभेनमा ५.५ इञ्च र जे फाइभमा ५.२ इञ्चको एचडी सुपर एमोलेड डिस्प्ले रहेको छ । दुबै स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न मिल्छ । स्टाइलिस डाइमण्ड कट मेटल फ्रेमले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ ।

Samsung-Galaxy-J5-New

सामसुङ जे फाइभ ।

दुबै स्मार्टफोनमा २ जीबी र्‍याम र १६ जीबी मेमोरी रहेको छ । मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

सामसुङ जे सेभेनमा १.६ गीगाहर्ज अक्टाकोर प्रोसेसर राखिएको छ भने जे फाइभमा १.२ गीगाहर्ज क्वार्डकोर प्रोसेसर राखिएको छ । दुबै स्मार्टफोनमा एन्ड्रोइड ६.० मार्समल्लो अपरेटिङ सिष्टम रहेको छ । जसले गर्दा स्मार्टफोन उच्च गतिमा चलाउन सकिन्छ ।

नेपाली बजारमा सामसुङ जे सेभेनको मूल्य २७ हजार ९ सय ९० रुपैयाँ र जे फाइभको २५ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । कम मूल्यमै अत्याधुनिक फिचर भएको हुँदा दुबै स्मार्टफोन ग्राहकको रोजाईमा पर्ने स्थापितको विश्वास छ ।

Samsung-Galaxy-J7-New 5

सामसुङ जे सेभेन ।

नेपालमा सामसुङको जे सिरिज लोकपि्रय मोडल हो । मिड सेगमेन्टको जे सिरिज साउथ इष्ट एशियामै अत्याधिक रुचाइएको छ । ‘नेपालमा मध्यम खालको स्मार्टफोन बजारमा सामसुङको हिस्सा ७० प्रतिशत भन्दा बढी छ’ नायव महाप्रबन्धक स्थापितले भने- ‘यति ठूलो हिस्सा बनाउन जे फाइभ र जे सेभेनकै योगदान रहेको छ ।’

नयाँ मोडलले नेपाली स्मार्टफोन बजारमा सामसुङको उपस्थिती अझ बलियो बनाउने स्थापितले बताए । नेपालमा सर्वाधिक बिक्री हुनेमा मध्यम खालका स्मार्टफोन पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment