Comments Add Comment

बादल त लेनिनभन्दा पनि सिपालु !

Maoist Center

यही ०७३ जेठ ६ गते नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा उल्लेख्य राजनीतिक घटना घटेकोे छ । रामबहादुर थापा ‘बादल’ को वैचारिक नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को एउटा हिस्सा, प्रचण्डले नेतृत्व गरेको एमाओवादीमा विलीन हुन गएको छ ।

यो प्रक्रियामा मात्रिकाले नेतृत्व गरेको नेकपा (माओवादी), मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, तिलक परियारले नेतृत्व गरेको नेकपा माओवादीको विद्रोही समूह, अन्य स-साना माओवादी समूहहरू, बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिका केही विद्रोहीहरू, इतिहासको कुनै कालखण्डमा माओवादी आन्दोलनमा सहभागी भएका तर हाल स्वतन्त्र रहेका केही व्यक्तिहरू र दुईवटा गैर-कम्युनिस्ट पार्टीहरू पनि समावेश भएका छन् ।

आश्चर्य, गैर-कम्युनिस्ट समूहहरूसमेत जोडिएर बनेको पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राखिएको छ ।

यस परिघटनापछि नवसंशोधनवादका नाइके तथा तिनका पक्षपोषकहरूले यो प्रक्रियालाई नेपालमा माओवादी आन्दोलनको एकीकरण भनेर हल्ला गरिरहेका छन् । तर अर्कोतिर, नेपाल र विश्वभरिका क्रान्तिकारीहरूले भने यो परिघटनालाई नेपालमा माओवादी आन्दोलनको एकीकरण मान्न तयार छैनन् । बरु तिनीहरूले यसलाई एक, नेकपा (क्रान्तिकारी माओवादी) बाट बादल गुटको पलायन हो र दुई बादल गुटलगायत अन्य स-साना समूहको एमाओवादीमा विलय भएको हो भन्ने अर्थमा बुझेका छन् ।

अर्थात, यो परिघटनाले बादल गुटको क्रान्तिकारी कित्ताबाट भएको पलायन र नवसंशोधनवादी कित्तामा भएको ध्रुवीकरणलाई अभिव्यक्त गरेको छ । यो सङ्क्षिप्त लेख यी दुई विषयहरू र यसैसँग सम्बन्धित विचार, राजनीति र कार्यदिशामा केन्द्रित हुनेछ ।

विचित्रको दुई लाइन सङ्घर्ष

सामान्यतः महाधिवेशन वा राष्ट्रिय सम्मेलन भएको बेलामा पार्टीमा दुई लाइन सङ्घर्ष अलि चर्को हुने गर्दछ । विचार, राजनीति तथा कार्यदिशामा हुने बहसका सन्दर्भमा यस्तो हुनु स्वाभाविक हो । तर, यसपटक हाम्रो पार्टी क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा चलेको दुई लाइन सङ्घर्ष अलि भिन्न प्रकृतिको रहृयो ।

यसपटकको बहस पहिला विचार, राजनीति र कार्यदिशाका विषय टुङ्ग्याएर त्यसपछि अन्य पार्टीहरूसँग एकता प्रक्रिया अगाडि बढाउने कि एकताको कुरा पहिला टुङ्ग्याएर त्यसपछि विचार, राजनीति र कार्यदिशामा छलफल गर्ने भन्ने विषयमा केन्दि्रत भयो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्तो दुई लाइनसङ्घर्षहरू मुस्किलले देख्न पाइन्छ ।

कामरेड किरणको पक्षमा रहेका क्रान्तिकारीहरू पहिलोको पक्षमा थिए भने वादल गुट पछिल्लोको पक्षमा देखिन्थ्यो । तर, यो रूप पक्ष मात्र थियो । सारमा बहस पार्टी एकता मालेमावादका आधारमा गर्ने कि नवसंशोधनवादका आधारमा गर्ने भन्नेमा केन्द्रित थियो ।
Ram Bahadur Thapa Badal
बादलले यस पटकको केन्द्रीय समितिको बहसलाई आधारभूत वैचारिक तथा राजनीतिक विषयमा केन्दि्रत गर्न चाहनुभएन । नयाँ जनवादमा भिन्नमत राखेर बादलले पार्टीमा दुई लाइनसङ्घर्ष सुरु गर्नुभयो । तर, अध्यक्ष किरण एमाओवादीसँग विनाशर्त एकता गर्न राजी भएमा भिन्न मतबाट पछि हट्न पनि तयार हुनुभयो । यसरी वहाँले विचारलाई होइन, निशर्त एकतालाई बहसको केन्द्रमा राख्नुभयो ।

सुरुमा बादलले भिन्नमतका रुपमा दस्तावेज प्रस्तुत गर्नुभयो । तर, केसमा आइपुग्दा त्यो किरणको दस्तावेजमाथि सुझाव बन्न गयो । फेरि त्यसलाई वहाँले ‘१४ बुँदे एकताका आधार’ ल्याएर आफैंले निषेध गर्नुभयो र अन्ततः त्यो पनि प्रचण्डले तयार पारेको १२ बुँदे सहमतिमा आएर नवसंशोधनवादमा विलय हुन पुग्यो ।

वादल दस्तावेजमा प्रस्तुत आफ्नो वैचारिक अडानमा कहिल्यै कायम रहनुभएन । एमाओवादीसँगको एकतालाई किरण पक्षले निशर्त स्वीकार गरे दस्तावेजमा प्रस्तुत आफ्ना सबै अडानबाट पछि हट्न वहाँ तयार देखिनुभयो । त्यो वस्तुतः बादलको एमाओवादीसँग भएको वैचारिक एकताको परिणाम नै थियो, अरु केही थिएन । यो वैचारिक एकताले नै बादल समूहको नवसंशोधनवादीहरूसँग सङ्गठनात्मक एकता सम्भव भएको हो ।

अब, एमाओवादीेभित्र मालेमाका आधारभूत विषयमा गम्भीर बहस हुने सम्भावना छैन । एमाओवादीसँग बहस गरेर उसलाई क्रान्तिकारी रुपान्तरण गर्न बादल समूह एकतामा गएकै होइन । बरु बादलको नवसंशोधनवादमा रुपान्तरणपछि एमाओवादीसँग वहाँको एकता सम्भव भएको हो ।

यो एकता क्रान्तिका लागि होइन, प्रतिक्रियावादी संविधान र प्रतिक्रियावादी सत्ताको रक्षा गर्न बनेको हो । यो तथ्यलाई बादलले प्रस्तुत गर्नुभएको दस्तावेजले प्रस्ट पारेको छ । यसलाई राम्रोसँग बुझ्नु जरुरी छ ।

बादलको दस्तावेजका वैचारिक पक्ष

बादलले आˆनो दस्तावेजमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विगतका अनुभवहरूको समीक्षा गर्न प्रयास गर्नुभएको छ । २० औं शताब्दीमा सम्पन्न समाजवादी तथा नयाँ जनवादी क्रान्तिहरू प्रतिक्रान्तिमा बदलिनुका पछाडि वैचारिक तथा राजनीतिक कारणहरू के थिए भन्ने विषयमा बादलले आˆनो स्पष्ट मत जाहेर गर्नुभएको छ ।

यस सन्दर्भमा बादल लेख्नुहुन्छ- “समाजवादी/नयाँ जनवादी कार्यदिशामा पैदा भएको जडता/विचलन, परिणामतः दुबै जनसत्ताहरूको बिघटन” । वहाँको विचारमा प्रतिक्रान्तिको कारण क्रान्तिकारीहरूको जडता हो । अर्थात्, रुस तथा चीनलगायतका समाजवादी देशमा भएका प्रतिक्रान्तिका जिम्मेवार दक्षिणपन्थी संशोधनवादीहरू होइनन्, क्रान्तिकारीहरू र तिनको जडता हो ।

वादलको यस्तो निष्कर्षलाई सही मान्ने हो भने प्रतिक्रान्तिको मुख्य कारण बर्नस्टिन तथा काउत्स्की हुँदै ख्रुश्चेभसम्म र छन् तु स्यु, लिउ शाओचीदेखि तेङ्ग सियाओ पिङ्गसम्मका दक्षिणपन्थी संशोधनवादी नेताहरू होइनन्, समाजवादी तथा नयाँजनवादी कार्यदिशा निर्माण गर्ने, सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न गर्ने र समाजवादको अभ्यास तथा विकास गर्ने लेनिन, स्टालिन र माओलगायतका विश्व सर्वहारा वर्गका महान् नेताहरू हुन् ।

त्यस्तै, नेपालमा क्रान्ति सम्पन्न हुन नसक्नुका पछाडिको मूल कारण मनमोहन, रायमाझी, तुलसीलाल तथा मदन भण्डारी र प्रचण्डसम्ममा अभिव्यक्त भएको दक्षिणपन्थी संशोधनवाद होइन, बरु नेपाली कम्युनिस्ट आन्दोलनका सबै क्रान्तिकारी नेताहरू र पछिल्लो चरणमा विशेषतः कमरेड किरणको जडता हो । सत्य यस्तै हो त ? होइन, संसारभरि नै प्रतिक्रान्तिका कारण दक्षिणपन्थी संशोधनवादीहरू हुन् ।

फेरि, वादलको दस्तावेजले प्रतिक्रान्तिको कारण जडताका साथै विचलन पनि हो भनेको छ । तर, त्यो कस्तो विचलन हो ? कुन पात्रहरूमा कहिले र कसरी देखापर्‍यो भन्नेबारे वहाँले कहीँ कतै उल्लेख गर्नुभएको छैन । वहाँले दक्षिणपन्थी संशोधनवादीहरूलाई नछोइकन क्रान्तिकारीहरूलाई जड भनेर चर्को आक्रमण गर्नुभएको छ । योे दक्षिणपन्थी संशोधनवादी विचलनको अभिव्यक्ति हो ।

राजनैतिक पक्षः

इन्द्रमोहन सिग्देल

इन्द्रमोहन सिग्देल

बादलले वैज्ञानिक समाजवादसँग सम्बन्धित आधारभूत राजनीतिक विषयमा गम्भीर प्रश्नहरू उठाउनुभएको छ । जस्तो कि,एक, बादलले “पुरानै समाजवादी रणनीतिद्वारा सर्वहारा अधिनायकत्व स्थापना/सुदृढ गर्न खोज्ने ‘वाम’ चिन्तन” लाई प्रतिक्रान्तिको अर्को कारण हो भन्नुभएको छ । पुँजीवाददेखि साम्यवादका वीचको समाजवादी कालभरि सर्वहारा वर्गको अधिनायकत्व अनिवार्यरूपमा आवश्यक हुने र त्यो सङ्क्रमणकालमा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको प्रक्रियाद्वारा सर्वहारा अधिनायकत्वलाई सुदृढ गराइराख्नुपर्छ भन्ने माक्र्सवादी-लेनिनवादी-माओवादी मान्यतालाई वहाँले ‘वाम’ चिन्तन भन्नुभएको छ ।

त्यतिमात्र होइन, वादलजीले प्रतिक्रान्ति रोक्ने उपाय पनि सुझाउनुभएको छ । वहाँ लेख्नुहुन्छ, “सर्वहारा नेतृत्व यान्त्रिक/नोकरशाहीरुपमा होइन, त्यसलाई सिर्जनात्मक/प्रतिस्पर्धात्मक ढङ्गबाट स्वीकृत गराउनुपर्दछ” । यसरी वहाँ सर्वहारावर्गको अधिनायकत्वका विरुद्ध उभिनुमात्र भएको छैन, बरु सिर्जनात्मक राजनीतिक प्रतिस्पर्धा र शान्तिपूर्ण सङ्क्रमण सत्तामा सर्वहारा अधिनायकत्वलाई मजबुत बनाउने उपाय हुन् भन्नुभएको छ । वस्तुतः यो कुनै नयाँ कुरा होइन, आधुनिक संशोधनवादका पिता भनेर चिनिने ख्रुश्चेभले १९५६ मा अगाडि सारेको शान्तिपूर्ण सङ्क्रमणको उही बासी तर्क हो ।

दुुई, समाजवादी शिविरमा प्रतिक्रान्ति भएको सन्दर्भलाई कोट्टयाएर बादलले आˆनो दस्तावेजमा अल्पविकसित तथा विकसित पुँजीवादी देशहरूका लागि पुँजीवादी तथा समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशाबारे पनि नयाँ प्रस्थापना अगाडि सार्नुभएको छ । वहाँ लेख्नुहुन्छ, “समाजवादी/पुँजीवादी क्रान्ति पुरानै कार्यदिशाबाट अब सम्भव छैन । …. अल्पविकसित पुँजीवादी मूलुकहरूको सामाजिक आर्थिक अवस्था सङ्क्रमणकालीन भएकोले त्यहाँ पुँजीवादी क्रान्तिको मूल रणनीति अन्तर्गत समाजवादी रणनीतिलाई एउटा निश्चित अवस्थासम्म संयोजन गर्नु पर्दछ । अर्थात, मूलतः राष्ट्रिय पुँजीवादी अंशतः समाजवादी कार्यक्रम लागु गर्दै समाजवादोन्मुख राष्ट्रिय जनवाद स्थापना गर्नु पर्दछ ।”

नयाँ जनवाद भनेको आफैमा समाजवाद उन्मुख साम्राज्यवाद तथा सामन्तवादविरोधी क्रान्ति हो र यो समाजवादको तयारीको चरण हो । यो कार्यक्रमलाई किन फेर्नुपर्‍यो ? हाम्रो देशको क्रान्तिको चरण बदलिएको हो र ? वस्तुतः यो एमाओवादीको हेटौंडा महाधिवेशनले ग्रहण गरेको समाजवादी कार्यक्रमसँग तालमेल मिलाउन अगाडि सारिएको हो भन्ने बाहेक यसमा अरु कुनै कारण छैन ।

अर्कोतिर, राष्ट्रिय जनवादको मान्यता सबैभन्दा पहिले ख्रुश्चेभले अगाडि सारेका हुन् । नेपालमा तुलसीलालले नेकपाको तेस्रो महाधिवेशनबाट यो राजनीतिक कार्यक्रम ग्रहण गरेका थिए ।

तीन, बादलले अब हुने समाजवादी क्रान्तिको राजनीतिक तथा वैचारिक कार्यदिशा पनि प्रस्तावित गर्नुभएको छ । वहाँ लेख्नुहुन्छ, “विकसित पुँजीवादी देशहरूमा समाजवादको मूल रणनीति अन्तर्गत राष्ट्रिय पुँजीवादी क्रान्तिको रणनीतिलाई एउटा अवस्थासम्म संयोजन गर्नु पर्दछ । अर्थात, मुलतः समाजवादी अंशतः राष्ट्रिय पुँजीवादी कार्यक्रम लागु गर्दै सारतः राष्ट्रिय समाजवादको स्थापना गर्नुपर्छ ।”

रुसमा समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि एकजना पत्रकारले पूर्वका अविकसित मुलुकको क्रान्तिको चरित्र के होला भन्ने प्रश्नको जवाफमा लेनिनले भन्नुभएको थियो यो मैले होइन, पूर्वका कमरेडले पत्ता लगाउने कुरा हो । आश्चर्य ! बादलले साम्राज्यवादी मुलुकको क्रान्तिको कार्यदिशा राष्ट्रिय समाजवाद हुने कुरा भने ठोकुवा गरिदिनुभयो । वाह ! बादल त लेनिनभन्दा पनि सिपालु हुनुहुँदो रहेछ ! तर, वहाँले भन्नुभएको राष्ट्रिय समाजवाद, नाजी पार्टीको नेतृत्वमा सञ्चालित जर्मनीको सर्वसत्ताबादी आन्दोलनभन्दा कहाँनेर फरक छ ? यसबारे भने वहाँले आˆनो दस्तावेजमा केही भन्नुभएको छैन ।

चार, संसदीय व्यवस्थाबारे वादलले आˆनो दस्तावेजमा लेख्नुहुन्छ, “संसदीय व्यवस्था प्रतिक्रियावादी शक्तिहरूको दलाल संयन्त्र हो । …. अन्तर-साम्राज्यवादी अन्तरविरोध संसदीय व्यवस्थामा व्यक्त हुने भएकाले क्रान्तिको तयारी गर्न यसलाई एउटा महत्वपूर्ण मोर्चाका रुपमा आवश्यकता अनुसार कुशलतापूर्वक उपयोग गर्नुपर्छ ।”

यसले संसदीय व्यवस्थाको उपयोग कार्यनीतिक मात्र होइन, रणनीतिक हुनुपर्छ भन्ने अर्थ लाग्छ । र, यो संसदवाद हो ।

पाँच, बादलले नेपालमा समाजवादउन्मुख राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गर्नका लागि सङ्घर्षको कार्यदिशा पनि निर्धारण गर्नुभएको छ । वहाँ लेख्नुहुन्छ, “कार्यनीतिक दृष्टिले सडक, सदन र सरकार तथा अन्तर्राष्ट्रिय मोर्चाहरूबाट विद्यमान राज्यसत्ता/व्यवस्थामाथि चौतर्फी हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारी गर्नुपर्दछ ।”

सङ्घर्षको मोर्चाका हिसाबले सडक, सदन र सरकार समान महत्वका हुन सक्दैनन् । यी तीनवटामा सडक प्रमुख हुन्छ, सदनलाई कार्यनीतिक अर्थमा उपयोग गर्न सकिन्छ र सरकारको उपयोग विशिष्ट स्थितिमा मात्र हुन सक्छ । तीनैवटालाई समान तरिकाले प्रस्तुत गर्नु विचारका हिसाबले सारसङ्ग्रहवाद हो र राजनीतिक हिसाबले संसदीय गोलचक्करवाद । क्रान्तिको तयारीको नाममा निरपेक्षरूपमा संसदमा जाने कुरा संसदवाद र सधैं सरकारमा जाने नीति मिलेराँवाद हो ।

छ, जतिबेला बादलले आफ्नो दस्तावेज केसका सामु पेश गरिराख्नुभएको थियो त्यतिबेला वहाँले गर्वका साथ भन्नुभयो कि हिजोको मिलेराँवाद आजको क्रान्तिकारी माक्र्सवाद बन्न सक्छ । वस्तुतः यो भनाइले सरकारमा सहभागी हुने प्रश्नमा बादल गुटको मान्यता के हो भन्ने कुरा स्पष्ट गर्दछ ।

सात, बादलले आफ्नो दस्तावेजमा सर्वहारा अन्तर्राष्ट्रियतावादबारे एक शब्दसम्म पनि उच्चारण गर्नुभएको छैन ।

निष्कर्ष

बादलले आफ्नो दस्तावेजमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने कुराको दाबी गर्नुभएको छ । यस्ता दाबी धेरै सुनिए, यो कुनै नयाँ तर्क भने होइन ।

प्रचण्डले चुनवाङ बैठक हुँदै हेटौंडा महाधिवेशनसम्म आउँदा यस्तै कुरा गरेका थिए । इतिहासमा जसले मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको कुरामा निकै जोड दिए, तर ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा व्यवहारमा लागु गर्ने कुरामा चासो राखेनन्, ती अन्ततः संशोधनवादी बने ।

यो कुरा ख्रुश्चेभ हुँदै तेङ्ग शियाओ पिङ्गदेखि प्रचण्डसम्म आइपुग्दा स्पष्ट देखियो । अहिले बादल मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका नाममा त्यही संशोधनवादी धारमा लामवद्ध हुनुभएको छ । यसकारण, पार्टी एकताका नाममा वादल र प्रचण्डको पुनर्मिलन नेपालमा नव-संशोधनवादी ध्रुवीकरणको एउटा नयाँ आयाम हो ।

(सिग्देल मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment