Comments Add Comment

आर्थिक वृद्धिदर ०.७७ प्रतिशत, मूल्यवृद्धि ९.७ प्रतिशत

Bishnu-Poudel

१३ जेठ, काठमाडौं । भुकम्प र नाकाबन्दीले गर्दा आर्थिक वर्ष २०७२/७३ मा देशको अर्थतन्त्र संकुचित बनेको प्रतिवेदन सरकारले बिहीबार सार्वजनिक गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्भेक्षण अनुसार चालु आवमा आर्थिक वृद्धिदर केवल ०.७७ रह्यो । जबकि मूल्यवृद्धि दर भने यो एक वर्षमा ९.७ प्रतिशतले बढेको छ ।

आर्थिक वृद्धिदर सरकारले प्रक्षेपण गरेको (६ प्रतिशत) भन्दा अत्यन्त न्यून छ भने मूल्यवृद्धि दर भने लक्ष्य (९.५ प्रतिशत) कै हाराहारीमा छ । आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान १.३ प्रतिशतले र गैरकृषि क्षेत्रको योगदान ०.७ ले बढेको आर्थिक सर्भेक्षणमा जनाइएको छ । मूल्यवृद्धिका हकमा खाद्य तथा पेयको मूल्य ११.३ प्रतिशतले बढ्यो भने गैरखाद्य तथा सेवा समुहको ८.६ प्रतिशतले बढ्यो ।

चालु आवमा राजश्व संकलन १४.३ प्रतिशतले वृद्धि भएर बढेर दोस्रो चौमासिक सम्ममा दुई खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यही अवधिमा सरकारी खर्च २ खर्ब ६८ अर्ब एक करोड भएको छ । गत आर्थिक वर्षको तुलनामा मुलुकको आयात आठ महिनामा १३.९ प्रतिशतले घटेर जम्मा चार खर्ब ३५ अर्ब ८० करोडको आयात भएको छ । आयात घट्दा नेपालको ब्यापार घाटा ३ खर्ब ९३ अर्ब सात करोड रुपैयाँमा सिमित भएको छ । चालु आवमा रेमिट्यान्स १५ प्रतिशतले बढेर अर्थतन्त्रलाई केही भरथेग गरेको छ । आठ महिनाको अवधिमा ४ खर्ब २७ अर्ब २७ करोड रेमिट्यान्स देशमा भित्रिएको तथ्यांक छ ।

आठ महिनामा नेपालको सोधनान्तर वचत १ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ छ भने कुल विदेशी विनिमय मुद्रा सञ्चिती १० खर्ब ६ अर्ब ६८ करोड रहेको छ । आयातको वर्तमान स्थितिलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले १८.८ महिनाको वस्तु र १५.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ ।

अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटाले आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान ह्रास हुँदै जानु चिन्ताको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment