Comments Add Comment

संस्थानको नाफामा छलाङ, ५ अर्बबाट ३४ अर्ब नाफा

३७ संस्थानमध्ये २० वटा नाफामा, १४ वटा घाटामा

१३ जेठ, काठमाडौं । गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको नाफा उल्लेख्य रुपमा बढेको छ । सरकारी स्वामित्वमा रहेका ३७ सार्वजनिक संस्थानमध्ये २० वटा संस्थान नाफामा र १४ वटा घाटामा गएका छन् ।

अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७१/७२ मा संस्थानहरुको खुद नाफा ३३ अर्ब ९२ करोड २७ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवभन्दा करिब २९ अर्वले बढि हो । आव २०७०/०७१ मा सार्वजनिक संस्थानको नाफा ५ अर्ब ५ करोड ३ लाख रुपैयाँमात्र रहेको थियो ।

corporation

विगतका वर्षहरुमा नोक्सानमा रहेको नेपाल आयल निगम एकैपटक १५ अर्ब रुपैयाँ नाफामा गएपछि संस्थानको समग्र नाफा ह्वात्तै बढ्न गएको हो । त्यस्तै, समिक्षा अवधिमा नेपाल दूरसञ्चार कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले समेत उल्लेख्य नाफा बढाएका छन् ।

गत आवसम्ममा ३७ वटा सार्वजनिक संस्थानहरुमा नेपाल सरकारको कुल सेयर लगानी १ खर्ब २६ अर्ब १६ करोड र कुल ऋण लगानी १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आव २०७०/०७१ सम्ममा सार्वजनिक संस्थानहरुको खुद सञ्चित नोक्सानी २६ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा गत आवसम्ममा सार्वजनिक संस्थानहरुको खुद सञ्चित नाफा १३ अर्ब २२ करोड रहेको देखिन्छ ।

सञ्चित नाफा अत्यधिक भएका संस्थानहरु

सञ्चित नाफा एक अर्बभन्दा बढी रहेका संस्थानहरुमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ६५ अर्ब ९९ करोड, नेपाल नागरिक उड्डयन प्राधिकरण ५ अर्ब ६७ करोड, राष्ट्रिय विमा संस्थान ३ अर्ब ३७ करोड, एनआइडीसी डेभलपमेन्ट बैंक १ अर्ब ६७ करोड र कृषि विकास बैंक १ अर्ब ५० करोड रुपैयाँ गरी पाँचवटा रहेका छन् ।

सञ्चित नोक्सानी अत्यधिक भएका संस्थानहरु

सञ्चित नोक्सान १ अर्बभन्दा बढी भएका संस्थानहरुमा नेपाल विद्युत प्राधिकरण २५ अर्ब २० करोड, नेपाल आयल निगम १७ अर्ब ८० करोड, राष्ट्रिय वाणिज्य बैंक ६ अर्ब २५ करोड, नेपाल ओरियन्ट म्याग्नेसाइट प्राली ४ अर्ब १५ करोड, उदयपुर सिमेन्ट उद्योग ३ अर्ब ७१ करोड, नेपाल वायुसेवा निगम १ अर्ब ८८ करोड, नेपाल औषधि लिमिटेड १ अर्ब १९ करोड, नेपाल टेलिभिजन १ अर्ब १५ करोड, नेपाल खाद्य संस्थान, १ अर्ब १० करोड, नेशनल ट्रेडिङ लिमिटेड १ अर्ब ९ करोड गरी १० वटा रहेका छन् ।

गत आवमा संशोधित कुल गार्हस्थ्य उत्पादन २१ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । जसमध्ये सार्वजनिक संस्थानहरुको कुल सञ्चालन आयको योगदान १२.७५ प्रतिशत रहेको छ । सो अवधिमा संकलन भएको कुल राजश्व ४ खर्ब ५ अर्ब ८७ करोडमा सार्वजनिक संस्थानहरुबाट प्राप्त लाभांशको योगदान १.५९ प्रतिशत रहेको छ ।

औद्योगिक क्षेत्र

औद्योगिक क्षेत्रमा ७ वटा सार्वजनिक संस्थानहरु रहेका छन् । जसमध्ये जनकपुर चुरोट कारखाना बन्द छ भने नेपाल ओरियण्ट म्याग्नेसाइट प्राली सञ्चालन नै हुन सकेको छैन । नेपाल औषधि लिमिटेडले सीमित उत्पादन गरिरहेको छ । दुग्ध विकास संस्थान र हेटौंडा सिमेन्ट उद्योगको सञ्चालन आय ९.७२ प्रतिशत र १४.६० प्रतिशतले वृद्धि भएको छ ।

७ संस्थानमध्ये गत आवमा ५ वटा संस्थान घाटामा गएका छन् । जनकपुर चुरोट कारखानाले कुनै पनि कारोबार नगरेको देखिएको छ । दुग्ध विकास संस्थानले मात्र नाफा गरेको देखिन्छ । अघिल्लो वर्ष दुग्ध विकास संस्थान पनि घाटामा थियो ।

व्यापारीक क्षेत्र

व्यापारिक क्षेत्रमा कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय विउविजन कम्पनी, नेशनल ट्रेडिङ कम्पनी, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम र दी टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड गरी ६ वटा संस्थानहरु रहेका छन् ।

जसमध्ये गत वर्ष नेशनल ट्रेडिङ लिमिटेडले बाहेक सबैले नाफा कमाउन सफल भएका छन् । अघिल्लो आवमा नेशनल ट्रेडिङ, नेपाल आयल निगम र दी टिम्बर कर्पोरेशन गरी तीनवटा संस्थान घाटामा थिए ।

सेवा क्षेत्र

सेवा क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र र नेशनल कन्स्ट्रक्सन कम्पनी गरी ७ वटा संस्थान रहेका छन् ।

जसमध्ये नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र र नेशनल कन्स्ट्रक्सनका कर्मचारीलाई सुविधासहित अवकाश गरेपश्चात कुनै कारोबार भएको छैन । कारोबार गर्ने पाँचवटा संस्थानमध्ये राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र बाहेक अरुले नाफा कमाएका छन् । यो संस्थान अघिल्लो वर्ष पनि घाटामा थियो ।

सामाजिक क्षेत्र

सामाजिक क्षेत्रमा सांस्कृतिक संस्थान, गोरखापात्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी गरी पाँचवटा संस्थान रहेका छन् । जसमध्ये गोरखापत्र संस्थानबाहेक सबै संस्थानहरु घाटामा रहेका छन् ।

जन-उपयोगी क्षेत्र

जन-उपयोगी क्षेत्रमा नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी गरी तीनवटा संस्थान रहेका छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीबाहेक दुईवटा संस्थान निरन्तर घाटामा रहेका छन् ।

वित्तीय क्षेत्र

वित्तीय क्षेत्रमा कृषि विकास बैंक, राष्ट्रिय विमा संस्थान, एनआइडीसी डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपाल आवास फाइनान्स, नेपाल स्टक एक्सचेञ्ज, नागरिक लगानी कोष र जलविद्युत लगानी तथा विकास कम्पनी गरी ९ वटा संस्थान रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थान (जीवन) बाहेक सबै नाफामा रहेका छन् ।

वित्तीय विवरण हेर्नुहोस्

Public Interpises 3Public Interpises 2Public Interpises

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment