Comments Add Comment

देशको ऋण ६ खर्ब पुग्यो, प्रतिव्यक्ति २१ हजार

१३ जेठ, काठमाडौं । पछिल्लो सरकारी आँकडा अनुसार हाल देशको कुल ऋण ६ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले प्रत्येक नेपालीको थाप्लोमा २१ हजार ३ सय ६० रुपैयाँ ऋणको भार रहेको देखाउँछ ।

केन्द्रिय तथ्यांक विभागका अनुसार बिहीबारसम्ममा देशको कुल जनसंख्या २ करोड ८४ लाख ३० हजार ३० छ । देशको कुल जनसंख्याले कुल ऋणलाई भाग गर्दा प्रत्येक नेपालीको थाप्लोमा २१ हजार ३ सय ६० रुपैयाँ ऋण देखिएको हो ।

मुलुकले तिर्न बाँकी हरेको ऋणमध्ये २ खर्ब ३२ अर्ब ४० करोड नेपालीकै हो भने ३ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ विदेशीको ऋण हो । देशको कुल ग्राहस्र्थ उत्पादनको १०.३ प्रतिशत आन्तरिक ऋण र १६.७ प्रतिशत वैदेशिक ऋण तिर्न बाँकी रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । नेपालको कुल ग्राहर्स्थ उत्पादनको अहिलेको आकार साढे २१ खर्ब रुपैयाँको हो ।

पछिल्ला वर्षहरुमा नेपालको ऋण बढ्दै गएको छ । उदाहारणका रुपमा पछिल्लो १० वर्षलाई हेर्ने हो भने मात्रै पनि देशको ऋण दोब्बरले बढेको छ । आर्थिक वर्ष ०६३/०६४ मा ३ खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ मात्रै ऋण थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष भने मुलुकको कुल ऋण ९ अर्ब रुपैयाँले घटेर ५ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको थियो ।

भूकम्प र नाकाबन्दीका कारण आर्थिक क्रियाकलाप विस्तार हुन नसक्दा चालू आर्थिक वर्षमा ६१ अर्ब ८० करोड रुपैयाँले ऋण बढेको आर्थिक सवेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment