Comments Add Comment

कोकिन तस्करीको जालो नेपालबाट भारत हुँदै चाइनासम्म

तस्करीको जालो नेपालदेखि भेनेजुएलासम्म

Lagu-aushad

१४ जेठ, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो ६ सय ८३ ग्राम कोकिनसहित सार्वजनिक गरेका चार जना अभियुक्तहरु चारै देशका थिए । ब्युरोको विषेश निगरानीपछि भेनेजुयलाकी महिला एमरिस कारमेन नारभाज पक्राउ परिन् जो वैशाख २५ गते नै काठमाडौं आइपुगेकी थिइन् ।

नाइलनको डोरीमा राखेर ल्याइएको कोकिन गिरोहको आदेश अनुसार आधा-आधा गरेर उनले काठमाडौंमा रहेका दिलबहादुर गुरुङमार्फत् गिनीको पासपोर्टधारी नाइजेरियन नागरिक मोहृमद लाम्नी डोबालाई दिन ल्याएकी थिइन् ।

चाइना हुँदै नेपाल आइपुगेका डोबाल र तनहुँ घर भै काठमाडौंको रानीबारी बस्दै आएका दिलबहादुर गुरुङ कोकिनसँगै पक्राउ परेपछि कोकिन तस्करहरुको थप जालो खुल्दै आएको ब्युरोका डीएसपी पे्रम शाही बताउँछन् ।

त्यस्तै भारतीय नागिर थाइड खान कोलकत्ताबाट मुम्बइ हुँदै कोकीन लिन जेठ ३ गते काठमाडौं आइपुगे । थाइड नेपालबाट कोकिन रिसिभ गरेर भारत हुँदै चाइना पुर्‍याउने जिम्मेवारीसहित आइपुगेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

नेपालका मुख्य एजेन्ट दिलबहादुर

कोकिन तस्करीको आरोपमा पक्राउ परेका तनहुँका दिलबहादुर गुरुङ करिब १० वर्ष देखि चरेस तस्करीमा सक्रिय व्यक्ति भएको ब्युरोले बताएको छ ।

नेपालबाट हङकङ, थाइल्याण्ड, भारत लगायतका देशहरुमा २६ पटक चरेस पठाइसकेका गुरुङले यसपटक कोकिनमा हात हालेका ब्युरोका डीएसपी शाही बताउँछन ।

दिलबहादुरले हङकङमा रहेका अर्का पाकिस्तानी नागरिक वाहिब खानसँग चरेसको कारोवार गर्दै आएका थिए । दिलबहादुरले नेपालबाट पठाएको चरेस अन्य मुलकमा पठाउने काम हङकङमा बसेर वाहिबले गर्दै आएको प्रहरीको दाबी छ ।

उनले नेपालबाट दिलबहादुरले पठाएको चरेस २०१० देखि २०१५ सम्ममा १ सय २० पटकभन्दा बढी विभिन्न देशमा पुर्‍याइसकेको प्रहरी बताउँछ । यसपटक भने तिनै वाहिबले दिलबहादुरलाई पनि कोकिन तस्करीमा सामेल गराएको अनुसन्धानबाट खुलेको छ ।

स्रोतका अनुसार दुई किलो भन्दा बढी कोकिन नेपालबाट चीनसम्म पुर्‍याउने जिम्मेवारी गुरुङले लिएका थिए । तर, अन्तिममा नेपालबाट चीन जान नसक्ने बताएपछि तस्करहरुले चीनबाट नाइजेरियाकै नागरिक डोबालाई नेपाल पठाएको डीएसपी शाहीले बताए ।

कोकिन लैजान चिनियाँ र भारतीय पनि काठमाडौंमा

नेपालमा दिलबहादुर गुरुङ र डोबाले लिएको कोकिन लिन भारतीय नागरिक थोहिड खान काठमाडौं आइपुगेका थिए । तर, माफियाले त्यही कामका लागि चाइनिजलाई पनि काठमाडौं पठाएको प्रहरीको दाबी छ । १० गते नै नेपाल आइपुगेका थाहिड पक्राउ परेपछि ब्युरोे चिनियाँको प्रतिक्षामा थिए ।

यसैवीच बुधबार कोकिन बोक्न आइपुगेकी २७ वर्षीय चिनियाँ महिला दोङदोङ पनि बुधबार नै ठमेलस्थित एक होटलबाट पक्राउ परिसकेकी छिन् । कोकिन लिएर चीन जान दोङदोङलाई नाइजेरियाबाट परिचालन गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । काठमाडौं आएलगतै उनले डोबालाई सम्पर्क गरेकी थिइन् त्यसैका आधारमा उनी पक्राउ परेकी हुन् । चिनियाँ महिला कोकिन लिएर केरुङको नाका हुँदै चाइना जान लागेको प्रहरीको दााबी छ ।

प्रहरीका अनुसार भारतीय नागरिक पनि काठमाडौंबाट भारत हुँदै कोकिन चाइना पुर्‍याउने जिम्मेवारीसहित आएका थिए । तर, माफियाले उनलाई मात्रै विश्वास नगरेर चानियाँ महिलालाई पनि पठाएको स्रोतको कथन छ ।

भारतीय नागरिक थाहिड, नेपाली दिलबहादुर, नाजेरियन डोबा र भेनेजुयलाकी एमरिस र दुई चाइनिजहरु संलग्न यो सबै जालोको रिमोट भने भेनेजुयलाबाट जोन नाम गरेको व्यक्तिले चलाइरहेको प्रहरी बताउँछ ।

यता नेपालदेखि चाइनासम्मको सञ्जाल सम्हाल्ने जिम्मेवारी भने नाइजेरियन बगाटाले लिएको ब्युरोका डीआइजी जयबहादुर चन्दले बताए ।

कोकिनका अन्तरमहादेशीय कारोबारी नेपालमा

फरक-फरक देशका सदस्य नेपालमा पक्राउ परेपछि कोकिन तस्करीको धन्दा कसरी चलिरहेको छ भन्ने दृश्य स्पष्ट भएको ब्युरोका डीआइजी चन्दले बताए । उनी भन्छन् ‘कोकिन तस्करीको अन्तरमहादेशीय सञ्जाल नेपालमा भेटिएको छ ।’

त्यसैगरी एसएसपी गणेश केसी ब्युरोको लगातारको निगरानीले कोकिनका अन्तरदेशीय कारोबारी पक्राउ परेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment