Comments Add Comment

पर्वतका विद्युत केन्द्रमा उत्पादन वृद्धि

१४ जेठ, पर्वत । मुलुकभर चर्को विद्युत्भार कटौती भइहेका बेला पर्वत जिल्लामा रहेका विद्युत् उत्पादन केन्द्रमा भने विद्युत उत्पादन वृद्धि भएको छ ।

पछिल्लो सातादेखि वर्षा भएपछि र हिउँ पग्लन थालेपछि पर्वतको देउपुरस्थित मोदीखोला जलविद्युत केन्द्र र चुवास्थित तल्लो मोदीखोला ए जलविद्युत केन्द्रमा एक सातायता विद्युत् उत्पादन वृद्धि हुन थालेको हो ।

हिउँ पग्लन थालेपछि मोदीखोला जलविद्युत केन्द्रमा पाँच मेगावाट र तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा तीन मेगावाट थप विद्युत उत्पादन भएको हो । केही दिनयता चर्को घामसँगै वर्षा र हिउँ पग्लन थालेकाले खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेपछि दिनमा भन्दा रातको समयमा विद्युत् उत्पादन अझै बढेको केन्द्रले जनाएका छन् ।

देउपुरस्थित १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा अहिले १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । एक साताअघि पाँचदेखि ६ मेगावाट मात्रै उत्पादन भएको केन्द्रमा अहिले दैनिक १० मेगावाट उत्पादन भइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार बिहान–दिउँसो नौ र बेलुकाको समयमा १० मेगावाटसम्म उत्पादन हुने गरेको छ । अहिले दुईवटै टर्वाइन सञ्चालन भएको उनले बताए । गर्मीयाम सुरु भएसँगै हिउँ पग्लन थालेकाले सुख्खायाममा भन्दा विद्युत् उत्पादन बढेको उनले बताए । हिउँदको समयमा उक्त केन्द्रबाट चार मेगावाट मात्रै उत्पादन भएको थियो । लामो समयको खडेरीका कारण खोलामा पानीको सतह घटेकाले यस वर्षको हिउँदमा सबैभन्दा कम उत्पादन भएको थियो ।

यसैगरी, पर्वतकै चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा पनि ६ मेगावाट उत्पादन भइरहेको छ । केही दिनदेखि परेको वर्षा र हिउँ पग्लेका कारण विद्युत् उत्पादन बढेको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका इन्जिनियर विपिन शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार एक साताअघि ३ मेगावाट मात्रै उत्पादन हुँदै आएको थियो । गत वर्षको साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको तल्लो मोदी ए को पूर्ण मर्मत यसै साता मात्रै सकिएको हो । दुईवटै टवाईन अहिले सुचारु भएको इन्जिनियर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब खोलामा क्रमश पानीको बहाब बढ्दै जाने भएकाले उत्पादन पनि क्रमश बढ्दै जान्छ ।

त्यसैगरी, पर्वतको देउपुर गाविसमै रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन बढेको छ । खोलामा पानीको बहाव बढेकाले उत्पादनमा सुधार आएको आयोजनाले जनाएको छ । हिउँ नदीका रुपमा रहेको मोदीखोलामा गर्मीयाम सुरु भएसँगै हिउँ पग्लन थाल्ने भएकाले पानीको मात्रा बढ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment