Comments Add Comment

अमेरिका बस्ने नेपालीको किन खोइरो खनिन्छ ?

यातायात र संचारको तिव्र रुपमा विकास भएकाले विश्व आजकल निकै साँघुरो भएको जस्तो सबैले महसुस गरिरहेका छन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्नको लागि यातायातका द्रुत साधनहरु विकास भएका छन् र हालखबरहरु आदानप्रदानका लागि आधुनिक संचारका माध्यम एवं साधनहरुको विकास भएको छ । तसर्थ आदिमकालमा जस्तो एक देशको सम्पर्क अर्को देशमा हुन नसक्ने परिस्थिति अहिले छैन ।

prakash shresthaअझै पृथ्वी ग्रहदेखि अन्य ग्रहहरुमा समेत बस्ती बसाल्ने सम्बन्धमा वैज्ञानिक खोज एवं अनुसन्धान जारी छ र मंगल ग्रहमा केही दशक पछि बस्ती बसाल्न सकिने दावी समेत वैज्ञानिकहरुले समय समयमा गर्दै आएका छन् । यसैले आज हरेक देशका नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा गतिशिल हुने क्रम चलिरहेको छ । चाहे त्यो पर्यटकको रुपमा होस् या मजदुरी गर्ने सन्दर्भमा होस् या व्यवसाय संचालन गर्ने सन्दर्भमा होस् या अध्ययनको शिलशिलामा होस् या आप्रवासीको रुपमा नै किन नहोस् यस्तो मानविय गतिशिलता भइनै रहेको छ ।

यसै शिलशिलामा नेपालीहरु पनि विभिन्न देशहरुमा रोजगारी एवं व्यवसाय संचालन गर्ने क्रममा, अध्ययनको क्रममा त्यस्तै आप्रवासीको रुपमा गएका छन् । यसमा पनि भारत, खाडी मुलुक, दक्षिण कोरिया, जापान, इजरायल जस्ता मुलुकमा अस्थायीरुपमा रोजगारी एवं व्यवसायको शिलशिलामा गएका छन् र उनीहरु नेपाली नागरिकता र पासपोर्ट साथमा राखेर बसिरहेका छन् ।

उनीहरु केही बर्ष बिराएर नेपाल पनि जाने आउने गर्छन् र निश्चित समयपछि सधैंको लागि नेपालनै र्फकनु पर्ने बाध्यता हुन्छ । किनकी उनीहरुको लागि सधैं ती देशहरुमै बस्ने अनुमति नहुन सक्छ । तर विकशित देश अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायत अन्य युरोपियन मुलुक गएका नेपालीहरु भने अधिकांशले पिआर र त्यही देशको नागरिकता पाएका हुन्छन् र नपाएकाहरु पनि पाउने क्रममा हुन्छन् ।

तीमध्ये केही नगण्य सधैंका लागि नेपाल फर्कन पनि सक्छन् तर अधिकांश ती देशहरुमै सधैंका लागि बसोबास गर्ने शुर कसेर आफ्नो सबैखाले चाँजोपाजो मिलाइसकेका हुन्छन् । केटाकेटीहरुलाई स्कुल, कलेज पढाएर, गाडी, घरको बन्दोबस्त मिलाइसकेका हुन्छन् र आफन्तहरु, नातापाताहरु, आमा-बुवा, दिदी-बहिनी, साला-साली, मामाको छोरो, फुपूको छोरो, काकाहरुको छोरा-छोरीहरु, सासु-ससुरा ज-जसलाई जे जसरी ल्याउन मिल्छ त्यसरी ल्याउने जुक्ती अपनाएका पनि हुन्छन् । यसो गर्नु स्वाभाविक पनि हुन्छ किनकी यस्तो हामी नेपालीहरुको परम्परागत संस्कार पनि हो की आफन्तहरु सबै सकभर एकै ठाउँमा मिलेर बस्न खोज्ने । त्यस्तैगरी सुविधा सम्पन ठाउँ विदेशमा समेत सबैलाई जुटाएर बस्न खोज्नुलाई अन्यथा मान्न पनि हुँदैन ।

आखिर हामी जहाँ रहेपनि नेपाली नै हौं । विदेश जाँदैमा र विदेशमा बस्दैमा नेपाली मन परिवर्तन हुन सक्दैन । किनकी नसा-नसामा नेपाली माटोको सुवास सधैं रहिरहेको हुन्छ

अझै पछिल्लो समयमा आएर अमेरिका आउने क्रम निकै बढेको छ । विगतमा, खासगरी डिभी कार्यक्रम लागु हुनु भन्दा पहिला, थोरै संख्यामा मात्र नेपालीहरु अध्ययन गर्ने क्रममा, व्यापारिक प्रयोजनबाट आयोजित सेमिनारहरु, गोष्ठीहरुमा सहभागी हुन र अन्य प्रयोजनबाट आएर अमेरिका बस्ने गरेका थिए । कतिपय व्यक्तिहरु ४०/४५ बर्षदेखि अमेरिका बसेको पनि देखियो । तापनि जब डिभी कार्यक्रम चालु भयो त्यसपछि बर्षेनी नेपालीहरु धेरै संख्यामा आएका छन् भने विभिन्न कार्यक्रममा आउने, पढ्न आउने, आफन्त भेट्न आउने, पारिवारिक नातेदार (अमेरिका आइसकेकाले बाबुआमा र परिवारका अन्य सदस्य बोलाउने) भिसामा आउने, व्यापारिक प्रदर्शनी, गोष्ठी, सेमिनार, सांगितिक कार्यक्रम, भिजिटिङ भिसामा आउने, अवैधानिकरुपमा कडा सिमा नाघेर आउने (लाखौं खर्च गरेर जोखिमपूर्ण यात्राबाट मेक्सिको हुँदै आउने) जस्ता बिभिन्न तरिकाबाट अमेरिका आएर बस्नेहरुको संख्या विगत केही बर्षदेखि निकै बढीरहेको छ ।

सबै पेशा र क्षेत्रका व्यक्तिहरु नेपालबाट अमेरिका आएका छन् । लगभग हरेक क्षेत्रमा नेपालीहरुको उपस्थिति रहेको छ भन्न सक्ने अवस्था छ । सामान्य स्तरको कामदेखि माथिल्लो स्तरको विज्ञता र निपुणता हासिल गरेका व्यक्तिले गर्ने काम वा पेशामा समेत नेपालीहरुले जिम्मेवारी समालेका छन् । डाक्टर, इन्जिनियर, वैज्ञानिक, पाइलट, प्रोफेसर, वकील, लेखापरीक्षक, कम्पनीको डाइरेक्टर तथा व्यवस्थापक, कारिन्दा, कियर गिभर, क्यासियर, पत्रकार, कलाकार, ट्याक्सी चालक, व्यवसायी वा उद्यमीदेखि अमेरिकन राज्य सरकारका विभिन्न जिम्मेवार नियोगहरुमा समेत नियुक्त भएर जिम्मेवारी पाएका छन् । कतिपय अमेरिकन मूल राजनीतिमा पनि लागेर परिचय बनाइसकेका छन् ।

यसरी हेर्दा नेपालीहरु मोटामोटी रुपमा हरेक क्षेत्रमा क्रियाशिल छन् र विस्तारै उनीहरु कारिन्दा र कामदारबाट माथी सिँढी चढेर व्यवसायी एवं उद्यमी र बहुराष्ट्रिय कम्पनी र सरकारी अफिसहरुमा पनि जागिर गर्न थालेका छन् । अर्थात् उनीहरुको आर्थिक हैसियत र सामाजिक स्तरमा वृद्धि भएको देखिन्छ । त्यस्तै अमेरिकामा रहेका नेपालीहरुले नेपालको कला, संस्कृति र पहिचानलाई अमेरिकन र विश्व समुदायको बीचमा परिचित गराउने काममा पनि आफ्नो तर्फबाट सक्दो प्रयास व्यत्तlmगत एवं संघ-संस्थाहरु मार्फत गरिरहेकै छन् । अब एक किसिमले नेपाल र नेपालीबारे अधिकांशलाई जानकारी हुँदै पनि गएको छ र हुने क्रम पनि जारी छ ।

अमेरिकनहरु र अमेरिका आएर स्थायीरुपमा बसेका अन्य मुलुकका आप्रवासीहरुले समेत नेपालीहरुलाई इमान्दार, लगनशिल एवं पौरखी व्यक्तिहरुको रुपमा लिने गर्दछन् र सबैले विश्वास गर्दछन् । अमेरिकामा बस्ने नेपालीहरुले आफूहरु जन्मभूमि छोडेर सात समुन्द्र पारि आएर बसे पनि आफ्नो कला, संस्कृति, संस्कार, भाषाभुषा, रहनसहन, चाडवाड, परम्परा, रितीरिवाजलाई भने अंगालिरहेका छन् । नेपालका हरेक गतिविधि, घटनाक्रम, राजनीतिक परिवर्तनहरुमा यिनीहरुको चासो र सदभाव सधैं रहिरहेको छ । त्यस्तै मातृभूमिमा कुनै भवितव्य पर्दा सहयोग गर्न सदा तत्पर रहेका देखिन्छन् ।

नेपाल दुख्दा, दुख्ने र खुशी हुँदा खुशी हुने अवस्था जहिले पनि रहिरहेको छ अमेरिकन नेपालीहरुमा । तसर्थ भौतिकरुपमा टाढा रहेर पनि मानसिकरुपमा सधैं नेपालको माया गरिरहेको पाइन्छ । तर, बिडम्वना भनौं या के भनौं भन्दा पनि कसैको चित्त दुख्ला भन्ने डर । यद्यपी साँचो कुरा भन्नैपर्छ त्यो के भने नेपालमा बस्ने इन्टरनेटका पहुँच भएका केही व्यक्तिहरुले सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमहरुमा अनावश्यक गालीगलौज र आरोप लगाउने गरेको देखिन्छ ।

खासगरी नेपालको कुनैपनि घटनाक्रमहरु, राजनीतिक उथलपुथलहरुबारे अमेरिका बस्ने नेपालीहरुले गर्ने टिकाटिप्पणीहरु प्रति नेपालमा बस्नेहरुबाट कडा आलोचना गर्दै त्यहाँ बसेर बोल्ने अधिकार छैन । बोल्ने भए नेपालमै आएर बोल्नु पर्छ । देश छोडेर जाने पलायनवादी हुतियाराहरु पछि बुढेसकालमा काम गर्न नसक्ने अनुत्पादक भएपछि नेपाल फर्कने त हौला भन्ने विभिन्न गालिगलौज र आरोपहरु लगाइरहेको पाइन्छ । ती गाली र आरोप हेर्दा लाग्छ नेपालको नामसमेत लिने अधिकार अमेरिका आउने नेपालीहरुले गुमाइसकेका छन् र अमेरिका आउनुमा ठूलो जघन्य अपराध नै गरेका छन् ।

नेपालबाट के कति कारण किन अमेरिका आए र आइसकेपछि नेपालका लागि के अनुचित कार्य गरे त्यसको कुनै पुष्टी नगरी स्पष्टीकरण नदिइकन यत्तिकै विनाकारण गाली गर्ने अधिकार ती नेपालमा बसेर गाली गर्ने केही वुद्धिजिवी भनौदाहरुलाई हुँदैन र तिनीहरुले के बुझ्नु पर्‍यो भने नेपालमा बस्ने कस्को ईच्छा नहोला । एकपटक अमेरिका आउन र घुम्न  त्यस्तै आइसकेपछि मन परेमा बस्न पाइन्छ भनेपछि को फेरि फर्केर नेपाल सहजै जान चाहन्छ । त्यहाँको बेरोजगारीको समस्या, नातावाद कृपावाद, भनसुन प्रथा, घुस बेगर काम नबन्ने प्रचलन, राजनैतिक खिचातानीले उव्जाएको नकारात्मक प्रभाव, राजनीतिक दलहरुको बन्द, हड्ताल, शहरबजारको धुवाँधुलो, वातावरणीय प्रदुषण, हत्या हिंसा, महंगीले चरम पीडा पाएको व्यक्तिले त्यस्ता सबै किसिमको असुविधा नभएको अर्थात् स्वच्छ वातावरणीय परिवेशमा भौतिक सुविधायुक्त विभिन्न अवसरहरु प्राप्त हुन सक्ने ठाउँ हतपत छोडेर जो कोही जान चाहन्न र यता आइसकेपछि यतै जीवनको रथ चलाउने निधो गर्दछ ।

स्मरणर होस् संसारको जे जति भुभागमा ४/५ पुस्ता पहिलेदेखि नै किन नहोस् नेपालीहरु गएर बसेको भएपनि नेपालप्रति अगाध माया गर्छन् र परेको खण्डमा आवश्यक आर्थिक एवं भौतिक सहयोग गर्न खोज्छन् चाहे ति बर्मा बसुन या थाइल्याण्ड या भारतको दार्जिलिङ, सिक्किम, अछाम र भुटनिज नेपालीहरु अमेरिकालगायत अन्यत्रै किन नबसुन् । यी सबै ठाउँमा बस्नेहरुले नेपाली कला, संस्कृति र भाषालाई पनि जिबन्त राखिरहेका छन् । अझै नेपालमा बस्ने नेपालीहरुले भन्दा बढी नेपालीपन र नेपाली संस्कारहरु विदेशमा बस्ने नेपाली समुदायहरुले अनुसरण गरेको पाइन्छ ।

सकभर नेपालीहरु सबै एकै ठाउँमा मिलेर बस्ने र मिनी नेपाल झल्कने तरिकाले खाद्य पसलहरुदेखि अन्य सुविधाहरु उपलव्ध हुने व्यवस्था मिलाउने, सकभर नेपालमा उपलव्ध हुने सबैजसो सेवा सुविधा उपलव्ध गराउने, सबै चाडपर्व, सांस्कृतिक गतिविधीहरु मिलेर मनाउने गरेको पाईन्छ । यसले गर्दा पनि हामी सहजै दावाका साथ भन्न सक्छौं, ‘एकपटकको नेपाली सधैको नेपाली’ । नेपालीहरु जहाँ रहेपनि भुगोलबाट टाढा रहेपनि नेपालको सदा सर्वदा माया गरिरहन्छन् र नेपाललाई कुनै आपतविपत पर्दा अप्ठ्यारो आईपर्दा हरसंभव सहयोग गर्न तत्पर रहन्छन् । जसरी विगतको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीको समयमा विदेशमा रहेका नेपालीहरुले जुन किसिमको सहयोग र सदभाव देखाए त्यसबाट पनि सजिलै आंकलन गर्नुपर्दछ की संसारभरि छरिएर रहेका नेपालीहरु परेका बेलामा एकमतले सहयोग गर्न र काँधमा काँध थाप्न तयार छन् । जे जसरी, जे कारणले विदेश जान बाध्य भए वा रहरले गए त्यो आफ्नो ठाउँमा छ र परिवार नेपालमै हुनेहरुले विदेशको जुनसुकै ठाउँमा स्थायी वा अस्थायी रुपमा बसेपनि उनीहरुलाई पैसा पठाएकै हुन्छन् ।

चुनौती र जोखिम बहन गर्ने क्षमता भए अमेरिका अवसरको भूमि हो अन्यथा कामचोर प्रवत्ती र अल्छीहरुको लागि एक किसिमको जेल नै हो

त्यस्तै अमेरिका पनि आए जतिका व्यक्तिका सबैको परिवारका सदस्यहरु आईसकेका पनि छैनन् र डिभी बाहेक नयाँ आउनेहरु प्रायः एक्लै आएका पनि हुन्छन् । साथै तिनीहरुको कागजी प्रकृया मिलाउन पनि समय लाग्ने भएकाले नेपालमा रहेका परिवारलाई पैसा पठाइ नै रहेका हुन्छन् । जसले गर्दा पनि केही न केही रुपमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सरकार वा राज्यलाई आर्थिक मद्दत पुग्न गएकै हुन्छ । विभिन्न शुल्क र करको रुपमा रकम तीनका परिवारहरुले बस्तु तथा सेवा उपभोग गर्दा र विभिन्न सुबिधा राज्यबाट लिने क्रममा बुझाएका हुन्छन् । त्यस्तै स्थायीरुपमा नै अमेरिका बस्नेहरुले पनि आफन्तहरुलाई समय-समयमा केही न केही पैसा पठाएका हुन सक्छन् ।

अझै नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका हुन सक्छन् त्यसबाट पनि नेपालको राज्यलाई सहयोग पुगेकै हुन्छ । तसर्थ अमेरिका बसेका नेपालीहरुलाई विनासित्तैमा गाली गरेर अर्थ छैन । बरु सकिन्छ भने नेपाली उत्पादनलाई कसरी अमेरिका लगायत अन्य मुलुकमा बिक्री वितरण गर्न सकिन्छ, के कसरी बजार विस्तार गर्न विदेशमा रहेका नेपालीको सहयोग लिने हो त्यसतर्फ ध्यान दिनुको साथै पर्यटन प्रवर्द्धन गर्नका लागि अवश्यक कार्यक्रम विस्तार गर्ने, लगानी भित्राउन उचित वातावरण तय गर्न नेपाल सरकारलाई कदम चाल्न लगाउने जस्ता अनेकन सकारात्मक कार्यहरु गर्नेतर्फ सोच्नु जरुरी छ ।

त्यस्तै नेपालमा बसिरहेका नेपालीहरु पनि अमेरिका आउन आवश्यक ठाने बिभिन्न तवरबाट आउन सकिन्छ तर नेपाल आइसकेपछि पनि आखिर काम गर्नै पर्छ । काम र लगनशिलता देखेर नै विदेशबाट आउनेहरुलाई अमेरिकन सरकारले यहाँ बसेर काम गर्ने र स्थायी बसोबास गर्न सक्ने सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो । अन्यथा अन्य देशका व्यक्ति आउँदा फाइदा नहुने भए आउन दिन र बस्न दिने नै थिएन । अर्कोतर्फ मिहिनेत गरेमा आफै व्यवसायको मालिक बनेर यहीको अमेरिकनहरुलाई समेत काम पनि दिन सकिन्छ । भन्नुको अर्थ सधैं कामदार नै बन्नुपर्छ भन्ने छैन, योग्यता, क्षमता र दक्षता हुने हो भने सानै पुँजीबाट सञ्चालन गरेको व्यवसायलाई समेत विकास र विस्तार गरी ठूलो व्यवसायको मालिक बन्न सकिने, आफ्ना सन्तानहरुलाई उचित शिक्षादिक्षा दिएर योग्य व्यक्ति बनाउन सकिने पनि मौका त्यति नै छ ।

काम गर्ने आँट र हिम्मत हुन सके, खोजी गर्न सके सबैतिर अवसर नै अवसर छ । साथै विभिन्न चुनौतीहरु पनि साथसाथै बहन गर्नुपर्ने छँदैछ । यसैले चुनौती र जोखिम बहन गर्ने क्षमता भए अमेरिका अवसरको भूमि हो अन्यथा कामचोर प्रवत्ती र अल्छीहरुको लागि एक किसिमको जेल नै हो । अतः नेपालमा बस्नेहरु पनि अमेरिका बस्नेहरु प्रति डाह र ईर्श्या गर्ने काम नगरिकन मन लागेमा यतै आएर काम गरे हुन्छ र नेपालीहरु मिलेर थप प्रगती हुने काम अगाडि बढाउन सके धेरै राम्रो हुन्छ सबै नेपाली समुदायको हितको लागि । नेपालमै बसेर नेपालमै काम र जिविकोपार्जन गर्ने हो भने अमेरिकामा बस्नेहरुप्रति सधैं सकारात्मक र आत्मियताको भावना प्रस्तुत गर्दा नै सबैको हित हुन्छ । आखिर हामी जहाँ रहेपनि नेपाली नै हौं । विदेश जाँदैमा र विदेशमा बस्दैमा नेपाली मन परिवर्तन हुन सक्दैन । किनकी नसा-नसामा नेपाली माटोको सुवास सधैं रहिरहेको हुन्छ । अतः जहाँ जे जसरी रहेपनि नेपाली मन सधै जोडिन सकोस् र नेपालको हितमा सधैं सबैका पाईला एकसाथ अगाडि बढिरहुन् । सबैको जय होस् !

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment