Comments Add Comment

भूकम्पपछि हाउजिङप्रति आकर्षण बढ्यो: लोहनी

भूकम्पको परकम्पले अझै हल्लाउँदैछ । गत वर्षको भूकम्पमा क्षति पुगेका हाउजिङ र अपार्टमेन्ट छाडेकाहरु अझै आफ्नो आवासमा फर्किन सकेका छैनन् । भूकम्पमा क्षति पुगेका हाउजिङ विकासकर्ताहरु यस क्षेत्रमा थप लगानी गर्ने पक्षमा छैनन् । तर, भूकम्प्रतिरोधी घर बनाएर बेच्ने कम्पनीहरु भने ठूला लगानी लिएर हाउजिङमा फर्किएका छन् । त्यसै मध्यको एक हो, ग्रिनहिल हाउजिङ कम्पनी । बालकोट र मूलपानीमा दुईवटा सामुहिक आवासमा लगानी गरेर राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले अहिले इमाडोलमा तेस्रो प्रोजेक्ट पनि सुरु गरेको छ । कम्पनीको काम, योजना र समग्र हाउजिङ क्षेत्रको विद्यमान अवस्थाबारे ग्रिनहिल हाउजिङका प्रवन्ध निर्देशक भेषराज लोहनीसँग अनलाइनखबरले गरेको कुराकानीः

-भेषराज लोहनी, प्रबन्ध निर्देशक, ग्रिनहिल सिटी
भेषराज लोहनी, प्रवन्ध निर्देशक, ग्रिनहिल सिटी

भूकम्पपछि काठमाडौंको घर तथा अपार्टमेन्टको कारोबारमा कस्तो असर पर्‍यो ?

पक्का पनि भूकम्पपछि अपार्टमेन्टमा धेरै समस्या आयो । तर, इन्डिभिजुअल घर एकल घरसहितका सामुहिक आवासमा त भूकम्पपछि झन् विश्वास बढेर गयो ।

धेरै छरिएका ठाउँमा बस्नेहरु पनि हाउजिङमा आए । हाम्रै रोज भिलेज र ग्रिनहिल सिटी मूलपानी प्रोजेक्टमा ग्राहकको संख्या बढेको छ ।

हामीलाई गर्व लाग्छ, भूकम्पका बेलामा धेरै सर्वसाधारण हाम्रा प्रोजेक्टका ओपन स्पेशहरुमा आएर बसे । त्यहाँका फराकिला चौडा सडक, खुला ठाउँ र हाम्रै हाउजिङ भूकम्पका बेलामा सेल्टर बन्यो । यसले हामीलाई उत्साहित बनायो भने ग्राकहलाई हाम्रा योजनाप्रति विश्वास बढायो ।

उसोभए अहिले समग्र हाउजिङको बजार फेरि पुरानै अवस्थामा फर्किएको हो ?

ठूलो भूकम्पका बेलामा अग्ला घर, अपार्टमेन्ट, मलहरुसँग मान्छे डराए । तर, पनि भूकम्पमा अपार्टमेन्टहरुमा कुनै मानवीय क्षति हुन पाएन । भन्नुको मतलव अपार्टमेन्टहरु भौतिक रुपमा बलिया नै थिए । तर, केही अपार्टमेन्टमा डिजाइन र आर्किटेक्चरल कमजोरीले ठूलो क्षति भयो ।

मान्छेको विश्वास अपार्टमेन्टसँग घटेपनि त्यो विस्तारै उकालो लागिरहेको छ । काठमाडौंमा अहिलेसम्म मान्छेसँग इन्डिभिजुअल घर किन्न पाउने विकल्प पनि भएकाले अहिले अपार्टमेन्टबाट इन्डिभिजुअल घरतर्फ तानिएका छन् । विस्तारै यो चेञ्ज भएर अपार्टमेन्टलाई पनि विश्वास गर्ने दिन टाढा छैन ।

अपार्टमेन्टमा जान मानिसहरु किन डराइरहेका छन् ? आवास विकासकर्ताहरुले पनि स्तरीय निर्माण र मजबुतीमा सम्झौता गरेका कारण धेरै क्षति भएर त्यस्तो भएको त हैन ?

अपार्टमेन्टको ब्यापार अझै सुध्रिएको छैन । इन्डिभिज्यूअल घरको बजार र आकर्षण भने पहिले भन्दा बढेको छ । अपार्टमेन्टसँग मान्छेको विश्वास घट्दा हाउजिङको बजार बढ्दै गएको छ ।

मुख्य २ कुराहरु छन्, पहिलो-अपार्टमेन्टको डिजाइन नै भूकम्प प्रतिरोधी हुनुपर्छ । त्यसका लागि डेभलपरहरुले निकै ध्यान दिनुपर्छ । दोस्रो-स्ट्रक्चरल मेटेरियल निकै हल्का हुनुपर्‍यो । जतिसक्दो हलुका निर्माण सामग्रीको प्रयोग भयो भने हाउजिङ प्रतिको विश्वास बढ्छ ।

२० तलाका घरमा माथिसम्मै ईंटा नै प्रयोग र्नुपर्छ भन्ने छैन । माथिल्ला तलाहरुमा जतिसक्दो हुलका निर्माण सामग्री प्रयोग गर्नु वैज्ञानिक हुन्छ । यी कुरामा चनाखो हुन सकियो भने भविष्यमा अपार्टमेन्टको बजार फेरि उठ्ने छ ।

भविष्यमा कोर सिटीभित्र अपार्टमेन्ट पद्धतिमा नगइ सुख पनि छैन । किनभने अब हामीसँग काठमाडौंमा धेरै खाली जग्गा छैन । अब त हाउस पुलिङमा जानुपर्ने अवस्था चाँडै आउँदैछ । व्यवसायीहरु पनि जिम्मेवार भएर लाग्नुपर्छ । विस्तारै अपार्टमेन्टमा आकर्षण बढ्नैपर्छ ।

हाउजिङ क्षेत्रमा देखिएका समस्याको कारण राज्यको कमजोरी नीति पनि हो भनिन्छ । तपाईं के पाउनुहुन्छ ?

bheshraj lohani (2)हाम्रो बिल्डीङ कोड छ, त्यो विभिन्न देशको हेरेर बनाएको पाइयो । यत्रो ठूलो भूकम्प जाँदा पनि नयाँ घरहरुमा धेरै क्षति भएन ।

त्यसले हाम्रो कोड कमजोर छैन भन्ने देखायो । अब यसको कार्यान्वयन नै महत्वपूर्ण छ ।

सय वर्ष पुराना, अव्यवस्थित र नक्सा पासको प्लानिङ भन्दा अघिका घरहरु धेरै ढलेका हुन् ।

अब त गाउँदेखि नगरपालिकाहरुमा नक्सा पास गर्ने प्राविधिकहरु छन् । त्यसैले अब भएको नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।

तपार्इंले भनेजस्तै काठमाडौंमा खाली जग्गा सकिदै जान थाल्यो, आबादी बढिरहेको छ । त्यसमाथि जग्गाको भाउ पनि पछिल्लो एक बर्षमा झण्डै ३० प्रतिशतसम्मले बढेको देखिन्छ । यस्तो अवस्थामा काठमाडौंको आवास विकल्प भनेको त अपार्टमेन्ट नै हुनुपर्ने हो । तर, भूकम्पपछि अपार्टमेन्टको अबस्था दयनीय देखियो । यसलाई कसरी सम्बोधन गर्नेहोला ?

यसका लागि गर्नुपर्ने काम धेरै छन् । पहिलो काम जमिनको क्षेत्राङ्कन गर्नुपर्छ । कुन ठाउँ ठूला घर बनाउन उपयुक्त हो र कुन ठाउँमा हैन भने निर्क्यौल गर्नुपर्छ । दोस्रो कुरा भूकम्प प्रतिरोधी किसिमको डिजाइनलाई बाध्यात्मक बनाउनुपर्छ । र निर्माणलाई बलियो बनाउने गरी काम गर्‍यौँ भने भूकम्पले गर्ने क्षति धेरै घटाउन सकिन्छ । यसका लागि सरकारले बलियो र दूरदर्शी नीति लिनुपर्छ ।

त्यसको कार्यान्वयन गर्ने निकायहरु, नक्सापास गर्ने र  अनुगमन गर्नेहरु जिम्मेवार हुनुपर्छ । व्यवसायी पनि इमान्दार र जिम्मेवार बन्नुपर्‍यो । व्यक्तिहरुले पनि जथाभावी निर्माण गर्नु भएन । गुणस्तरीय निर्माण सामाग्री र दक्ष जनशक्ति लिएर निर्माण गनुर्‍यो । अब यही बाटोबाट अघि बढ्ने हो ।

अपार्टमेन्टको हकमा पनि गर्ने त्यही हो । स्तरीय र वैज्ञानिक निर्माण भए अहिले देखिएका समस्या आउँदैनन् ।

भूकम्पकै कारण लगभग एक बर्षसम्म कुनै नयाँ परियोजना आउन नसकिरहेको अवस्थामा तपाईंहरुले इमाडोलमा ग्रिनहिल हाउजिङको नयाँ परियोजना सुरु गर्नुभएको छ । कस्तो रेस्पोन्स पाउनुभएको छ ?

हो, कोर सिटीमा अपार्टमेन्टको विकल्प छैन । तर, भूकम्पको त्रास हटिनसकेको अवस्थामा व्यवसायीहरु अहिले नै नयाँ अपार्टमेन्ट ल्याउने पक्षमा छैनन् । उपभोक्ता पनि अहिले अपार्टमेन्ट किन्ने मानसिकतामा छैनन् । अब नयाँ टेक्नोलोजिसहित भूकम्प प्रतिरोधी घर बनाउन जरुरी छ ।

हामीले प्रायः साढे २ तलको इन्डिभिज्यूअल घर बनाएर काम गरिरहेका छौं । बालकोट र मूलपानी पछि हामी इमाडोलमा अहिले तेस्रो प्रोजेक्ट गरिरहेका छौं । हाम्रा अघिल्ला प्रोजेक्टमा भूकम्पका बेला कुनै क्षति हुन पाएन । त्यसैले हामी आत्मविश्वासी भएर यो प्रोजेक्टमा आएका छौं ।

तयारी र योजनाका साथ काम गर्‍यो भने साढे २ तलाका इन्डिभिजुअल घर बनाउँदा ठूलो क्षति हुँदो रहेनछ भन्ने प्रमाणित भएको छ । त्यसैले भूकम्पको त्रास नमेटिँदै हामीले इमाडोलमा काम थाल्यौं ।

यहाँ कति युनिट बनाउँदै हुनुहुन्छ ? अहिलेसम्म कति बुकिङ भए ?

यहाँ ९५ युनिट घरहरु बन्ने छन् । छोटै समयमा हामीले एकतिहाइ घरहरु बुक गरिसकेका छौं । हामी निर्माणमा कुनै पनि किसिमका सम्झौता गर्दैनौं । हामीले यसअघि विकास गरेका आवासहरु देखेर उपभोक्तालाई कम्पनीप्रतिको विश्वास बढेको छ ।

यसले पनि पुष्टी गर्छ कि ग्रुप हाउजिङमा मान्छेको विश्वास झन् बढेको छ । त्यसैले हामी नयाँ परियोजना लिएर अघि बढेका छौं ।

शहरमा आवासीय घरको किनबेच भइरहेकै छ । किन मान्छेले प्लानिङ गरिएको हाउजिङ कै घर किन्न पर्छ र ?

योजना विनाको विकास अव्यवस्थित हुन्छ भन्ने कुरा हामीले बुझेकै छौं । मान्छेहरु सानासाना गोरेटोमा पनि ठूला-ठूला घरहरु बनाएर बसेका छौं । भोलि त्यहाँ कुनै मानवीय तथा दैवी प्रकोप भयो भने पनि तुरुन्त निस्कन र रेस्क्यु गर्न सकिँदैन । ठूलो मानवी र भौतिक क्षति हुन जान्छ । अव्यवस्थित बस्तीमा चोरी लगगायतका आपराधिक गतिविधि भयो भने तुरुन्तै सहयोग पुर्‍याउन नसकिने अवस्था हुन्छ । मानिलिनुस् घरमा कसैलाई हृदयघात भयो, साँघुरो गल्लीबाट एउटा एम्बुलेन्स पुर्‍याउन सकिँदैन ।

भेषराज लोहनी, प्रबन्ध निर्देशक, ग्रिनहिल सिटी एउटा घरमा आगो लाग्यो भने दमकल लैजान सकिँदैन । सिंगो बस्ती जोखिममा पर्छ । दैनिक जनजीबनमा बालबालिका, वृद्धवृद्धाहरुलाई बस्ने, खेल्ने, कुरा गर्ने र भाइचारा बढाउने खाली ठाउँ र वातावरण पनि हुँदैन । तर, हाम्रा प्रोजेक्टमा पूर्वाधार विकास गरिएका छन् । बत्ति, पानी र सेक्युरेटी लगायत व्यवस्था गरिएका छन् । कोलनीका बसै घरका परिवारबीच भाइचारको सम्बन्ध छ ।

सबैलाई बाहिर निस्कने, कुरा गर्ने र भाइचारा बढाउने अवसर छ । सबै एकै किसिमका घर छन्, सबैमा समानता छ । अव्यवस्थित ठाउँमा बस्दा कोठाबाट निस्कने ठाउँ छैन । बच्चा बाहिर निस्कँदा दुर्घटनामा पर्ने जोखिममा हुन्छन् । त्यसैले योजना विना बनेका घरको तुलना हाम्रा घरहरुसँग गर्नै सकिँदैन । तर, व्यवस्थित बसोवासमा यस्ता समस्या छैन । अर्को महत्वपूर्ण कोलनीमा बनेका घरहरुको रिसेल भ्यालु पनि बढी हुन्छ । यो पुरानो घर भन्ने वातावरण हुँदैन ।

हामीले न्युनतम् ६ मिटरको बाटो दिएका छौं ।  ७ प्रतिशत ओपन स्पेश दिएका छौं । कम्युनिटी हल दिएका छौं । स्वीमिङ पुल, ग्रोसरी, सेक्युरेटी, सिसी क्यामेरा, ब्याकअपका लागि सोलार लाइट, बत्ति पानीको व्यवस्था गरेका छौं । मानिसको दैनिक जीवनमा आवश्यक पर्नै सबै सुविधा दिएका छौं ।

तपाईंहरुको कम्पनी त नेपालका सिमित ठूला डेभलपरमध्ये गनिन्छ, इमाडोलको परियोजनापश्चात कहाँ कहाँ आवास विकास गर्दै हुनुहुन्छ ?

हामीले चौंथो प्रोजेक्ट भक्तपुरमा ल्याउँदैछौं । जहाँ १ सय ५० युनिट घर बन्नेछ । रोज भिलेज हामीले ३ सय करोडमा सकेका थियौं । मूलपानीमा हामीले ५ सय करोडमा सकेका थियौं ।

इमाडोलको प्रोजेक्ट झण्डै डेढ सय करोडको प्रोजेक्ट हो । पहिला जग्गा किनेर बुकिङ लिई घर बनाइने भएकाले हामी लगानीमा सुरक्षित छौं । हामीले एकैपटक ठूलो मात्रामा निर्माण सामग्री किनेर घर बनाउने भएकाले साधारण घर बनाउन भन्दा सस्तो पर्छ । हामी माटोको परीक्षण गरेर उपयुक्त ठाउँमा मात्र आवास क्षेत्र विकास गछौं ।

अरु धेरै प्राविधिक तयारी पनि हामीले गरेका हुन्छौं । त्यसैले ग्राहकको विश्वास हामीसँग धेरै छ । हामी हाउजिङ क्षेत्रमा दीर्घकालसम्म लगानी गर्न चाहान्छौं ।

bheshraj lohani (3)
कुराकानी टुंगाउनुअघि अन्तिममा, एकीकृत बस्तीका रुपमा विकास गरिएका घर किन्दा उपभोक्ताले के-के बिषयमा ध्यान पुर्‍याउनुपर्ला ? केही टिप्स दिनुस् न ।

पहिलो कुरा डेभलपर वा व्यावसायीको प्रोफाइल हेर्नुपर्‍यो । यसअघि धेरै ग्राहक ठगिएका पनि छन् । बुकिङ गरे, पैसा बुझाए तर, घर पाएनन् । व्यावसायी टाट पल्टिए । त्यसैले विश्वासिलो डेभलपर चिन्न उसको प्रोफाइल र इतिहास हेर्नुपर्छ । ठूलो लगानी गरेर घर किन्ने भन्ने कुरा संवेदनशील हो । न्युनतम्  डेढ-दुई करोड खर्च गर्न लाग्दा आफूले किन्ने घर कस्तो गुणस्तरको छ भन्नेमा सचेत हुनुपर्छ । त्यसले जाने आफैंले, नत्र इञ्जिनियरसँग सल्लाह लिएर घर किन्ने निर्णय गर्न सकिन्छ ।

हामी नेपालीहरु धेरै अव्यवस्थित रुपमा बसेका छौं । देशभर २ प्रतिशत जनतामात्र प्लानिङ एरियामा बसेका छन् । यो हाउजिङ व्यवसाय मानव सभ्यता रहेसम्म रहन्छ । अब ठूला व्यावसायीहरु ठूला लगानी गर्ने गरी यस क्षेत्रमा आउनुपर्छ । उपभोक्तालाई धेरैखाले छनौट हुनुपर्छ । मुख्य कुरा, उपभोक्ताले आफू नठगिने गरी बिज्ञको परामर्श लिएर सामूहिक आवास परियोजनाका घरहरु छानेर किन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment