Comments Add Comment

नेपाल टेलिभिजन १ अर्ब १५ करोड घाटामा

१४ जेठ, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७१/०७२ सम्ममा टेलिभिजनको सञ्चित नोक्सानी बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

nepal-television-logoनेपाल टेलिभिजनलाई गत आवमा ८ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । यो अवधिमा टेलिभिजनले ३१ करोड ७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । तर, कुल सञ्चालन लागत आम्दानी भन्दा झण्डै साढे ६ अर्ब बढी (३७ करोड ५० लाख रुपैयाँ) रह्यो ।

नेपाल टेलिभिजनले चालु आवमा पनि २७ करोड ८९ लाख रुपैयाँमात्र आम्दानी गर्ने लक्ष्य राखेको छ । जुन गत आवको भन्दा झण्डै तीन करोड रुपैयाँ कम हो । आम्दानी घट्ने, तर खर्च बढ्ने भएकाले यस वर्ष टेलिभिजनको खुद नोक्सानी बढेर १५ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

नेपाल टेलिभिजनले आगामी आर्थिक वर्षमा ३१ करोड ३४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गर्ने लक्ष्य राखेको छ । त्यो बेलासम्म टेलिभिजनको कुल सञ्चालन लागत बढेर ४० अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ । आगामी आवमा चालु आवको भन्दा ५० लाख रुपैयाँ कम १४ करोड ५० लाख रुपैयाँ खुद नोक्सानी हुने प्रक्षेपण टेलिभिजनको छ ।

नेपाल टेलिभिजनले लिएको आम्दानी र खर्चको प्रक्षेपणले सञ्चिती नोक्सानी बढ्दै जाने स्पष्ट हुन्छ । टेलिभिजन सञ्चालनका लागि सरकारकै भर पर्नुपरेको छ । नेपाल टेलिभिजनमा स्थाई ३८९ जना र अन्य १४ गरी ४०३ जना कर्मचारी कार्यरत छन् । जसमध्ये प्राविधिकतर्फ २६६ र अप्राविधिकतर्फ १२३ जना छन् । स्थायीतर्फ अधिकृत तहका कर्मचारी १७३ र सहायक तहका २१६ जना रहेका छन् । त्यस्तै, ज्यालादारीतर्फ अधिकृत तहका २ जना र सहायक तहका १२ जना कर्मचारी रहेका छन् ।

नेपाल टेलिभिजनको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ३१ करोड र चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

नेपाल टेलिभिजनले राष्ट्रिय च्यानल, एनटिभी प्लसर र समाचार च्यानल गरी ३ वटा च्यानलहरु २४ घण्टा प्रसारण गरिरहेको छ । केन्दि्रयसहित १९ वटा प्रशारण केन्द्रमार्फत निःशुल्क रुपमा समाचार र विभिन्न मनोरञ्जनात्मक तथा दिगो शान्ति र राष्ट्रिय स्थायीत्वमा सहयोग पुग्ने कार्यक्रमहरु नेपाल टेलिभिजनबाट प्रशारण भइरहेका छन् ।

भू-उपग्रहमार्फत नेपाल लगायत विश्वका ११६ मुलुकहरुमा नेपाल टेलिभिजन प्रशारण हुन्छ । देशभित्र भु-सतही प्रसारण जनसंख्याको आधारमा ७२.५ र भौगोलकि आधारमा ५२ प्रतिशत पुगेको छ । एनटिभी प्लसको प्रसारण पहँच जनसंख्याको आधारमा ४२ र भौगोलिक आधारमा ३० प्रतिशत पुगेको छ ।

आव २०७३/०७४ मा एनालग प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने, कोहलपुर र इटहरीमा क्षेत्रिय प्रसारण केन्द्रहरु स्थापना र सञ्चालन गर्ने लक्ष्य राखिएको अर्थ मन्त्रालयद्वारा जारी गरिएको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment