Comments Add Comment

पशुपति संग्रहालय स्थापना गरिने

१४ जेठ, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण सामग्री सङ्कलन गरेर पशुपति सङ्ग्रहालय स्थापना गरिने भएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले रु तीन करोड उपलब्ध गराउने भएपछि पशुपतिनाथको महास्नानघरलाई जीर्णोद्वार गरी सङ्ग्रहालय बनाउने तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गत वर्ष वैशाखमै सङ्ग्रहालय स्थापनाको तयारी गरिए पनि वैशाख १२ गतेको भूकम्पले अगाडि बढ्न नसकिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।  “बैंकले महास्नानघरको जीर्णोद्वार गरी सङ्ग्रहालय निर्माणका लागि रु तीन करोड सहयोग गर्ने पत्र आज कोषमा प्राप्त भएको छ, सङ्ग्रहालय निर्माण चालु आवमै सुरु गरिनेछ”– उनले भने ।

सङ्ग्रहालयमा पशुपतिका प्रस्तर मूर्तिकला, पुराना कलाकृति, तस्बिर, चित्रकला र शाकाहारी चमेनाघर पनि स्थापना गरिने कोषले जनाएको छ । मुलुकमा धार्मिक पर्यटक बस्ने समय बढाउन सङ्ग्रहालय प्रभावकारी हुने डा टन्डनले बताए ।

यससम्बन्धी सम्झौता केही दिनमै हुने भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment