Comments Add Comment

कृषि तथा वनविज्ञानमा भर्ना लिने त्रिविको तयारीप्रति आपत्ति

University-of-ASgritulture-and-Forest१४ जेठ, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा त्रिविले आगामी शैक्षिक सत्रदेखि पुनः विद्यार्थी भर्ना लिने तयारी गरेकोप्रति विश्वविद्यालयले आपत्ति जनाएको छ । विश्वविद्यालयले यहाँबाट ‘फेज आउट’ हुन लागेको त्रिविले फेरि भर्ना लिन्छु भन्नु गैरलोकतान्त्रिक र हेपाहा प्रवृति भएको जनाएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिले त्रिविले रामपुर भित्र अब फेरि भर्ना लिएर कार्यक्रम सञ्चालन गर्न नसक्ने र लिइहाले दुर्भाग्य हुने बताए । रामपुर कृषि क्याम्पसको ९० प्रतिशत दायित्व र सम्पत्ती विश्वविद्यालयको मातहत आइसकेको भन्दै रजिष्ट्रार कोलाक्षपतिले त्रिविले कार्यक्रम नै सञ्चालन गर्ने भए जिल्लाका अन्य भूभाग वा अन्य प्रदेशहरुमा गर्न सक्ने जिकिर गरे ।

‘रामपुरमा आएर विश्वविद्यालयसँग सिंगौरी खेल्न के जरुरी छ ?’ त्रिविलाई प्रश्न गर्दै रजिष्ट्रार कोलाक्षपतिले भने, ‘के यो विश्वविद्यालय चितवन र यस वरपरका जिल्लाका नागरिकहरुको गौरव र महत्वको विषय होइन ?’

उनले चितवनमा कृषि विषय नै अध्ययन गराउनका लागि अर्को कृषि क्याम्पस आवश्यक नभएको बताए । ‘कृषि तथा वनविज्ञान विश्वविद्यालय पनि राज्यकै सम्पत्ती हो, त्रिवि पनि राज्यकै सम्पत्ती हो । एकै ठाउँमा दुई वटा संरचना राखेर दोहोरो खर्च किन गराउने ?’ रजिष्ट्रार कोलाक्षपतिले भने ।

त्रिविको भेटेरिनरी संकायको अन्तिम ब्याच मात्र रामपुरमा छ । अबको ५ महिनापछि त्रिविको सबै कार्यक्रम फेजआउट हुँदैछ । फेरि कृषि तथा बनविज्ञान विश्वविद्यालयभित्र भर्ना शुरु गर्ने भनेर त्रिविले गरेको तयारी राज्यको नीति नियम र कानुन नमान्ने काम हुने विश्वविद्यालयले जनाएको छ ।

हेटौंडाको वन विज्ञान संकायमा समेत त्रिविले एफएफयूसँग अनावश्यक विवाद गरिरहेको छ । हेटौंडाको वन संकायलाई विश्विद्यालय मातहत राख्ने र पोखराको वन विज्ञान अध्ययन संस्थानलाई त्रिविको मातहतमा लैजाने सहमतिलाई त्रिविले लत्याउँदै आएको रजिष्ट्रार कोलाक्षपतिले बताए ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय ऐन २०६७ मा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको चितवन जिल्लास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस र मकवानपुर जिल्लामा सञ्चालित हेटौंडा वन क्याम्पसलाई संयुक्त रूपमा समावेश गरी कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र रामपुर कृषि क्याम्पस परिसरमा यो विश्वविद्यालयको स्थापना गरिने उल्लेख छ । साथै विश्वविद्यालयको केन्द्रीय कार्यालय चितवन जिल्लामा रहने उल्लेख छ ।  दुबै विश्वविद्यालयको विवादका कारण पाँच सय बढी विद्यार्थीहरुको भविष्य अन्योलमा छ ।

जिल्ला नेताहरुको पनि विरोध

चितवनका राजनीतिक दलहरु समेतको आग्रहमा त्रिवि रामपुर छिर्न लागेको दावीको जिल्लाका राजनीतिक दलहरुले खण्डन गरेका छन् । ‘आजसम्म त्यस बिषयमा कुनै पनि छलफल र बैठक क्रियाशिल जिल्लाका राजनीतिक दलहरुका बीचमा भएको छैन,’ नेकपा माओवादी केन्द्रका जिल्ला नेता यमबहादुर परियारले भने, ‘रामपुर अव त्रिविलाई फेरि किन चाहियो ?’

यस्तै एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले त्रिविलाई रामपुरमा आएर विद्यार्थी भर्ना गर भनेर जिल्लाका राजनैतिक दलहरुले नभनेको बताए । थपलियाले भने, ‘बरु जिल्लाकै अन्य स्थानमा व्यवस्था गर्न सकिन्छ तर रामपुरमा त्रिविलाई अब स्थान दिइँदैन ।’

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शक्तिखोर, दियालो बंगला वा अन्य स्थानमा त्रिविको कृषि संकाय सञ्चालन गर्न सकिने बताए ।

त्रिवि पदाधिकारीकै मत बाझियो

त्रिविका उपकुलपति प्रा. डा. तीर्थ खनियाले त्रिविले आगामी भाद्र महिनाबाट रामपुरमा भर्ना लिने बताएका थिए । तर, त्रिविकै रजिष्ट्रार डिल्ली उप्रेतीले त्रिविले अहिलेसम्म रामपुर क्याम्पसमा भर्ना लिने बारेमा कुनै पनि निर्णय नगरेको र कसले के स्वार्थ पूर्तिका लागि बोलेको हो त्यो आधिकारीक नहुने बताए ।

‘निर्णय गर्ने स्थानमा म छु, त्रिवि कार्यकारी परिषदको सदस्य सचिव नै म हुँ, अहिलेसम्म भर्ना खोल्ने निर्णय भएको बारेमा मलाई जानकारी छैन,’ रजिष्ट्रार उप्रेतीले भने ।

उपकुलपति खनियासँग कुराकानी गर्न खोज्दा चीन गएको उनी निकट स्रोतले जानकारी दियो ।

यता, त्रिवि अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिन नरेन्द्र चौधरीले आफ्नो यस बारेमा कुनै धारणा नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment