Comments Add Comment

नयाँ बजेटः फोन गर्नुहोस्, हाइड्रोको मालिक बन्नुहोस्

सरकारले घोषणा गर्दैछ 'हाम्रो कल, हाम्रो हाइड्रो' योजना

budget 2073-74

१४ जेठ, काठमाडौं । नेपाल टेलिकमका प्रयोगकर्ताहरुलाई खुसीको खबर ! तपाई अब घरमा बसीबसी फोन गरेकै भरमा हाइड्रोपावरको मालिक बन्न पाउनु हुनेभएको छ ।

सरकारले शनिबार सार्वजनिक गर्ने आर्थिक वर्ष ०७३/७४ को बजेट भाषणमार्फत् टेलिकमको फोन प्रयोगकर्ताहरुलाई हाइड्रो मालिक बनाउने नयाँ कार्यक्रम घोेषणा गर्ने भएको हो । सो कार्यक्रमको नाम ‘हाम्रो कल, हाम्रो हाइड्रो’ राखिएको छ ।

बजेट निर्माणमा संलग्न एक उच्च अधिकारीका अनुसार यो योजना अन्तर्गत टेलिफोन प्रयोगकर्ताहरुले फोन गर्दा प्रत्येक कल गर्दा ५ पैसा हाम्रो कल हाम्रो हाइड्रो नामक कोषमा स्वत जम्मा हुन्छ । र, उक्त कोषमा जम्मा भएको रकम सरकारले जलविद्युत आयोजना निर्माणका लागि लगानी गर्नेछ ।

‘कुन मोडालिटीमा रकम उठाउने भन्ने आज साँझ  टुंगोमा पुग्छ,’ स्रोतले भन्यो, ‘जसरी उठाए पनि एक कलमा ५ प्रतिशतको हाराहारीमा पैसा काट्ने हिसाब आउँछ ।’

सरकारले जलविद्युतमा लगानी गर्ने उद्देश्यले टेलिफोन प्रयोगकर्ताबाट कर उठाएको होइन । तपाईंले फोन गर्दा नेपाल टेलिकमले जति रकम काटेको छ, तपाईंले सो रकम बराबरको जलविद्युत आयोजनाको सेयर पाउनुहुन्छ ।

तपाईंले जतिधेरै फोन गर्नुहुन्छ, हाम्रो कल हाम्रो हाइड्रो नामक कोषमा त्यतिधेरै जम्मा हुन्छ । अनि तपाईले त्यति नै रकमको सेयर पाउनुुहुन्छ ।

यो योजनामार्फत सरकारले अर्बौ रुपैयाँ उठाएर जलविद्युतमा लगानी गर्ने योजना बनाएको छ ।

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले गत कात्तिक १५ गते नेपाल टेलिकमको प्रत्येक कलबाट केही हिस्सा उठाएर १२ सय मेगावाटको बुढीगण्डकी आयोजनामा लगानी गर्नुपर्ने प्रस्ताव गरेका थिए । थापाले बुढीगण्डकीका लागि मात्रै टेलिकमबाट वार्षिक १० अर्बका दरले रकम उठाएर पाँच वर्षमा ५० अर्ब जुटाउन सकिने प्रस्ताव गरेका थिए ।

(यो पनि पढ्नुस्: गगनको प्रस्ताव: नेपालीकै पैसाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना)

नेपाल टेलिकम मुलुककै ठूलो कारोबार गर्ने कम्पनी हो । यसबाट पैसा उठाउँदा वार्षिक अर्बौं रुपैयाँ जम्मा हुन सक्छ । नेपाल टेलिकमले पनि गत वैशाख ८ गते सार्वजनिक गरेको कम्पनी सुधारको मार्गचित्रमा पनि टेलिकमबाट हुने प्रत्येक कलमा टेलिकमकै सेयर उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment