Comments Add Comment

मेलम्चीदेखि मेट्रो रेलसम्मः कति भयो काम ?

१५ जेठ, काठमाडौं । भौतिक विकासको दृष्टिले देशको मुहार फेर्न सरकारले यसअघि नै घोषणा गरेका २१ वटा राष्ट्रिय गौरवका आयोजनाको गति कछुवाको भन्दा ढीलो देखिएको छ ।

जनतामा आधारभूत सेवा विस्तार गर्ने विशेष उद्देश्यसहित उच्च प्राथमिकता दिएर घोषणा गरिएका यस्ता अधिकांश आयोजनाहरुको प्रगति सुस्त रहेको तथ्यांकले देखाएको छ ।

aayojana table

अहिलेसम्म २१ वटा आयोजना घोषणा भएकामा एउटा पनि आयोजना पूरा हुन सकेका छैनन् । लक्ष्य हासिल गर्न सकेको अवस्थामा आगामी आर्थिक वर्षभित्र राजधानीमा मेलम्ची खानेपानी आइसकेको हुनेथ्यो ।

त्यसैगरी अर्को एक बर्षभित्र मध्य पहाडी लोकमार्ग सम्पन्न भइसक्नुपर्ने हो । तर, अहिलेसम्म ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यस आयोजना सम्पन्न हुन ८१२ किलोमिटर लम्बाइ सडक कालोपत्रे गर्नुपर्छ भने त्यसक्रममा ९० वटा पुलहरु निर्माण गरिनुपर्छ । यो काम आगामी आर्थिक वर्ष २०७४/०७५ मा पूरा गर्ने सरकारको लक्ष्य छ । हालसम्म माटे सडक ६०६ किलोमिटर निर्माण भएको छ, त्यसमा ग्राबेल र कालोपत्रे गर्ने तथा दाया वाया ढल निकास लगायतको काम बाँकी नै छ ।

लोकमार्गअन्तर्गत पूर्वी खण्ड काभ्रेको पाँचखालदेखि मेलम्ची सिपाघाट बाहुनेेपाटी हुँदै नुवाकोटको पाटी भञ्ज्याङसम्म सडक निर्माणका लागि  रेखांकनको काम समेत शुरु भएको छैन ।

रानीजमरा र बबई सिंचाइँ आयोजना पनि अर्को बर्षसम्म सम्पन्न भइसक्नुपर्ने हो । तर, अहिलेसम्मको प्रगति हेर्दा यी कुनै पनि लक्ष्य हासिल हुने कुनै आधार छैन ।

रानीजमरा ४० र बबई सिंचाइ आयोजना ४१ प्रतिशतमात्र सम्पन्न भएका छन् । आर्थिक बर्ष ०७०/०७१ मा सम्पन्न गर्ने लक्ष्य राखेको सिक्टा आयोजना निर्माण अवधि नाघेको २ आर्थिक बर्ष वित्दा बल्ल ५६.८९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । आयोजनामा हासिल गरिएको भौतिक प्रगतिका आधारमा यी राष्ट्रिय गौरवका आयोजनाहरुको प्रतिफल अनिश्चित देखिएको छ ।

रेल्वे तथा मेट्रो विकास आयोजनाको त एक प्रतिशत पनि काम भएको छैन भने बाँकी अन्य तीन आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पनि पूरा भएको छैन ।

कतिपय योजना त अहिलेसम्म एक प्रतिशत पनि काम हुन सकेका छैनन् । सबैभन्दा बढी रुचाइएका आयोजनाहरुको प्रगति झनै सुस्त छ ।

अन्य आयोजना भन्दा उच्च प्राथमिकता दिई कार्यान्वयन गर्न राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाए तापनि कतिपय आयोजना निश्चित आधार र मापदण्ड बेगर घोषणा गरिएका छन् । यस प्रकारका आयोजना कार्यान्वयन गर्ने छुट्टै कानुनी व्यवस्था रहेको देखिँदैन ।

कतिपय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार नगरेको, कार्यान्वयन क्षमताको अभाव रहेको, स्थानीयस्तरमा विवाद रहेको, अन्तर निकाय समन्वयको अभाव रहेको जस्ता कारणले ती आयोजना समयमा पूरा भई लक्षित प्रतिफल प्राप्त हुने अवस्था छैन ।

सरकारले कृषि उत्पादनमा आधारभूत आत्मनिर्भरता, एक बर्षभित्र लोडसेडिङबाट मुक्त बनाइने, रोजगारी सिर्जना गरिने जस्ता लोकपि्रय प्रतिवद्धता जनाएको छ । तर, यसका लागि अन्य नयाँ कार्यक्रमको खोजी गर्नतिर भन्दा घोषणा भएर अघि बढेका यी गौरवका आयोजनामात्र चाँडो सम्पन्न गर्नेतिर ध्यान दिने हो भने जनताका आधारभुत  आवश्यकताहरु धेरै पूरा हुने आधार छन् ।

कहिले सकिएला मेलम्ची काम ?

बिशेष गरी राजधानीवासीले व्यग्र प्रतिक्षा गरिरहेको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने समयावधि बढाएर ०७३ सालसम्म  पुर्‍याइयो । तैपनि अहिलेसम्म काम सम्पन्न भएन । ०५५ सालबाट सुरु भएको यस आयोजनाको भौतिक प्रगति अहिलेसम्म ६७ प्रतिशत मात्रै छ ।

melemchiमेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि २३ अर्व ४५ करोड खर्च हुने अनुमान गरिएकोमा अहिलेसम्म १४ अर्ब ७२ करोड खर्च भइसकेको छ ।

गौरव आयोजनाको अर्थ देशको समृद्धिका लागि बिशेष महत्व बोकेका गर्व गर्न लायक आयोजना हुन् । र, यस्ता आयोजनाको अनुगमनका लागि प्रधानमन्त्रीको कार्यालयमा सचिवको नेतृत्वमा आर्थिक तथा भौतिक पूर्वाधार महाशाखा नै कार्यरत छ ।

गौरवका आयोजनाहरुको भौतिक प्रगति सुस्ताइरहेका बेला त्यसको अनुगमन गर्न प्रधानमन्त्री कार्यालयमा गठन भएको सचिव नेतृत्वको महाशाखाले के गर्‍यो भन्ने प्रश्न पनि उठेको छ । प्रधानमन्त्री कार्यालय स्रोत भन्छ- ‘हामीले अनुगमन बढाएका छौँ, चालु आर्थिक बर्षमा भूकम्प र नाकाबन्दीले धेरै आयोजनाहरु प्रभावित भए । तैपनि प्रगति अवस्था सन्तोषजनक देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment