Comments Add Comment

म गणतन्त्र कसरी मनाउँ मनिषा !

मनिषा, तिम्रो आत्मामा शान्ति मिलोस् । परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दछु ! समवेदना र श्रद्धाञ्जली दिन सक्ने निरीह हैसियतवाहेक अरु मसँग केही छैन मनिषा !

हुन त जनताको सुन्दर नयाँ संबिधानको एकथान विधानमा छौं ! राजतन्त्रको अन्त्यसँगै गणतन्त्र नेपालको रंगशालामा उभिएका छौं, जहाँ आज गणतन्त्रको नारा गुञ्जिरहेको छ ! तर म भने अहिले सीमापारिको भूमिमा उभिएर, नयाँ संविधानको विधानमा घोप्टो परेर भावविह्ल भएको छु !

देशको सबैभन्दा भन्दा सम्वेदनशील मुद्दा भनेको मानव अधिकारको मुद्दा हो नानु, जहाँ हामी स्वतन्त्र भएर जिन्दगीको अन्तिम घडीसम्म बाँच्न पाउ भन्ने हुन्छ ! जुन मुद्दाभित्र सबैभन्दा छोरीहरु पिसिएको कुरा पनि सत्य छ । हिजो नेहाहरु पिसिए, आज तिमी पिसिएकी छौ ! शायद भोलि म पनि पिस्सिने छु । पर्सिपल्ट देश पिसिएको हुनेछ ! जेसुकै होस् देश नेपाल पिसिएको दिन सबैभन्दा ठुलो आघात हुनेछ !

केबी गुरुङ
केबी गुरुङ

प्रिय नानु ! इतिहासलाई फर्केर हेर्दा राजतन्त्रमा देशका चेलीहरुलाई राजा महाराजाहरुले रखेल बनाई अस्मिता लुटेको कहानी भेटिन्छ र आक्रोसमा यिनै लुटिएका अस्मिताहरुलाई जोगाउन राजतन्त्रको मलामी गएको मान्छे पनि हुँ म ! यिनै राजा महाराजाहरु चेलीहरुको चरित्र/अस्मितासँग खेलवाड गर्दा राजतन्त्रप्रति अत्यन्त घृणा जागेको हो मलाई ! नत्र मलार्इ राजतन्त्रले खान-लाउन नदिएको पनि होइन ! त्योभन्दा अगाडिका शासनकालहरुतिर नजाउँ !

किनभने आफुले नभोगेको र नदेखेको शासनकाललाई वकालत गर्नु व्यर्थै लाग्छ । शायद हल्लैहल्लाको संसार हो यो, जुन संसारमा सजिसजावट कहानीहरु क्यानभासमा धेरै सजिँदा रहेछन्, जसले नवयुगका मान्छेहरुलाई मूर्ख बनाउन शिवाय अरु केही जानेन जस्तो लाग्छ ! शायद त्यो मेरो बैचारिक भुल हुनुपर्छ !

आज गणतन्त्र आउँदा देशका चेलीहरुको अस्मिता त लुटियो नै, अस्मितासँगै जिन्दगी नै लुटिने हुँदा म जस्ता दाजुहरु र आमाहरु आफैले डोली चढाएर भित्र्याएको गणतन्त्रप्रति घोर घृणा जगाउँदै छन् मनिषा ! भोलि गणतन्त्र इतिहास कस्तो बन्छ, त्यो त थाहा भएन !

मलाई थाहा थिएन, कुनै पापीले तिम्रो चिरहरण गरेपछि निम्तिएको शोकाकुलमा यसरी गणतन्त्रको रंगशालामा उभिएर समवेदनाका कलमहरु चलाउला भनेर ! बरु सोचेको थिएँ मनिषा, तिम्रो दाजुले खेलाडी भै देशको सानमा तिम्रो खुसीको बहार फुर्रर फुराउने लहरहरुलाई टप्प टिपेर कलम द्वारा सजाउला भन्ने लागेको थियो ! तर, मलाई माफ गर मनिषा, तिम्रो शोकाकुल घडीमा कलम चलाउन थालेको छु ! त्यो पनि गणतन्त्र नेपालको रंगशालामा उभिएर !

हामी जिन्दगीको अन्तिमसम्म स्वतन्त्र भएर बाँच्न पाउने नयाँ संविधानको विधानमा घोप्टो परेर !

हिजो भर्खरै नेहाहरु आफ्नै धर्मदाइ भनिनेहरुबाट कुदृष्टिका शिकार बनेर कलिलो जोवन गुमाउँदा, आमाहरुलाई थाहा भैसकेको थियो कि यहाँ मानवताको चिरहरण हुँदैछ ! मानव विश्वासको अजम्बरी खम्बामा कालो बादलको पर्दाले लपेटिएर, त्यही नजिक किनारामा अविस्वासको अग्लो चुली निर्माण भएको छ !

उता मानव अधिकारका पहरेदारहरु राजधानीका होटेलभित्र हुस्कीको चुस्कीमा बेहोसी छन्, अझै ब्युझेका छैनन् ! त्यसैले त आज बरु फेरि तिमीले पनि यो संसार छोड्नुपर्यो ! शायद उनीहरु नब्युझँदासम्म अझै तिमीजस्तै देशका चेलीहरु नचाहेर पनि यो संसारबाट छुट्टी लिउनुपर्ने छ, तर के थाहा र ती बिचारीहरुलाई !

देशमा आज नवौं गणतन्त्र आएको छ मनिषा ! प्रिय नानु ! तिमीले एकपटक आर्यघाटको समसानबाट उठेर हेर्नु, मानवताको चिरहरण हुने हाँडीगाउँको राज्यमा गणतन्त्रको जात्रा चलेको छ ! हाँडीगाउँदेखि हजारौं कोष टाढा दुरदराजको तिम्रो झुपडीमा शोक छाएको छ ! आमा अर्धबेहोसी हुनुहुन्छ, दाज्युलाई १४ बर्षपछि फेरि चोटको घाउ बल्झिएको छ । तर, गणतन्त्रका मालिकहरुलाई बाल छैन ! तिम्रो अन्याय माथि मालिकहरुको मौनता देख्दा लाग्छ, तिमी नेपालकी छोरी हौ या होइनौ, सोच्नुपर्ने भएको छ !

तिमी जस्तै साँझपख सुनौलो बिहानीको सपनामा निदाउँदा कहिलै नब्युझने गरी सुतिरहेका चेलीहरु भेटिन थालेको धेरै बर्षहरु पार भैसके ! रातारात देशका चेलीहरुको कलिलो जोवन हरण गर्नेहरुको जमात बढी सक्यो ! शायद तिनैहरु गणतन्त्र देशका मालिक पनि भैसके होलान !

राजधानीमा गणतन्त्रका मालिकहरु संसारकै उत्कृष्ट संबिधान बनाएको भन्दै सभा/भेलामा व्यस्त छन् ! मानवधिकारको नाममा नयाँ संबिधानभित्र गणतन्त्रको ब्याज खाँदै डकारेर बसेका छन् ! तिनै डकारेर बस्ने मालिकहरुलाई बलात्कारी खुनीहरु कानुनको उपहास गर्दै खुलमखुल्ला तिमी माथि धावा बोल्दैछन् !

यस्तो लाग्दैछ, बलात्कारीहरूले निम्त्याउने घटनाहरु गणतन्त्रका राजनीतिक व्यापारीहरुलाई भृकुटीमण्डपका पसलेले झैँ मोलतोलमा वार्गेनिङ गर्ने चाइनाका सामान झैँ हुनेछन ! दुइचार दिन तिम्रो मुद्दामा हानथाप हुनेछ र अमुर्त भै सुनसान हुने पनि पक्का छ !

हिजो नेहाहरु मारिदा तिम्रो मुटुले ठाउँथात छोडेको थियो होला ! आज तिमी मारिँदा झन् धेरै चेलीहरुले आफ्नो काँपिरहेको मुटु छाम्दै बसिरहेका छन् !

अब तिमि भन, चेलीहरु दिनदाहाडै हत्या भैरहेको शोकाकुल घडीमा गणतन्त्र दिवस कसरी मनाउँ मनिषा ? जहाँ तिमी हराउँछौ, तिम्रा सपनाहरु टुट्छन् र तिम्रो यो संसारबाट नचाहेर पनि सदाकोलागि छुट्टी हुन्छ ?

कोही तिम्रो हरण गर्ने गनतन्त्रको जात्रामा छन् । म भने तिम्रो शोकाकुल सन्नाटामा छु मनिषा !

यही शोकाकुल भएको जगमा उभिएर राज्यका मालिकहरु लाई भन्न मनलाग्छ ! मानवताको अपहरण हुने तिम्रो राज्यमा यस्तो गणतन्त्र दिवस त सुहाउला, तर शोकाकुल आत्माहरुलाइ चियो गर्ने चेस्टा पनि गर महाशय !

अपराधीहरुवाट मनिषाहरु हराइरहँदा औंलामा गनिनसक्नु घटनाहरु भैसके ! देशको दूरदराजमा दिनप्रतिदिन चेलीहरु हराई रहेको कुरा तिमीले थाहा पाएर पनि चाल नपाए जस्तो गर्दैछौ किन ? मानव अधिकारको नाममा हत्यारा बाँच्न पाउने कलंकित अधिकार अब हामी कसरी सहुला ? छोरीहरु कसरी सहलान् ?

फलामले फलाम काट्छ, त्यसैले अकानुन लाई कानुनले काट्नुपर्छ ! अपराधीहरुको नियन्त्रणको लागि अब विकल्प खोज्नै पर्नेछ ! त्यसको अन्तिम बिकल्प दोषीलाई फाँसीको सजाय हुने व्यवस्था नहुदासम्म अरु नेहा र मनिषाहरु मारिएका हुनेछन् !

मानव स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सुरक्षित हुन्छ भने हत्यारालाई मृत्यदण्ड दिनु न्यायोचित हुन्छ, मानव अधिकार त्यहाँ हुन्छ ! नत्र तिम्रो गणतन्त्र केवल हावा हुनेछ ! मानव ब्यापारी बन्ने छ, जसले छोरीहरुको यौवन लुटिरहने छ !

हाल युएई 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment