Comments Add Comment

बहसः ‘कम्युनिष्ट’ शब्दको अर्थसंकट र विनिर्माण

अमिक शेरचनहरुको मानसिक पीडाको वास्तविक उपचार

‘कम्युनिष्ट’ शब्द नेपाली राजनीतिको लोकप्रिय ‘ब्राण्ड’ बनेको छ । यो ब्राण्डप्रति अतिसय आकर्षण पैदा भएको दक्षिण एशियाको एक मात्र देश नेपाल नै हो ।

हुन त भारतमा पनि पश्चिम बंगाल र केरला राज्यमा कम्युनिष्ट पार्टीहरुको बलियो पकड थियो । पश्चिम बंगालमा अनपेक्षित रुपले त्यो धेरै तल झरेको छ । केरलामा अझै बाँकी नै छ । बाँकी सम्पूर्ण देशमा त्यसको फैलाब अति नै धिमा छ । श्रीलंकामा ७० को दशकमा देखिएको जनमुक्ति प्यारामुनाको ग्लेमर कायम छैन । हुन त अफगानिस्तानमा पनि कम्युनिष्टकै नाममा लामो शासन चल्यो । नामले कम्युनिष्ट भनिए पनि त्यो तत्कालिन सोभियत सेनाको आडमा चलाइएको एकप्रकारको निरंकुश शासन मात्र थियो ।

Dambar-Khatiwadaदक्षिण एशियामा मात्र हैन, कम्युनिष्ट शब्दको अर्थसंकट ९० को दशक यता विश्वव्यापी रुपमा नै छ । तर, नेपालमा भने उनीहरु ‘स्वर्णकाल’सम्म आइपुगेका छन् । यतिखेर देशमा राष्ट्रपति र उपराष्ट्रपति दुबै कम्युनिष्ट छन् । सभामुख कम्युनिष्ट छन् । प्रधानमन्त्री र ४ वटा उपप्रधानमन्त्री कम्युनिष्ट छन् । रक्षा, गृह र अर्थ मन्त्रालय जसलाई कम्युनिष्ट दर्शनमा मूलतः राज्यत्ताका मुख्य तत्व मानिन्छ, ती सबै मन्त्रायलका मन्त्री कम्युनिष्ट छन् ।

राज्यसत्ताका सबै मुख्य पद र भूमिकामा उनीहरुकै लोकप्रिय शब्दमा कम्युनिष्टहरुको ‘कब्जा’ भएको छ । ठीक यस्तै नभए पनि करिब यस्तै अवस्था एक शताब्दीअघि धेरै वटा युरोपेली मुलुकमा थियो । युरोपमा त्यसको अवरोहयात्रा हुन एक शताब्दी नै लाग्यो । नेपालमा कम्युनिष्ट पार्टीहरुको सफलता शिखरारोहणको आधार शिविर मात्र हो वा पराकाष्ठा भन्ने कुरा चाहिँ अझै अस्पष्ट छ । त्यो भविष्यले बताउँदै जाला ।

यक्ष प्रश्न

तर, अहिले धेरैको मनमा खेल्ने प्रश्नचाहिँ अर्कै छ, त्यो हो- नेपालका कम्युनिष्टहरु साँच्चै कम्युनिष्ट नै हुन् कि ब्राण्ड मात्र ? विश्वमा कम्युनिष्ट शब्दको जुन अर्थ लाग्छ, नेपालमा पनि यसको अर्थ त्यही हो वा फरक छ ?

केही दिन अघि एक रेडियो अन्तर्वार्तामा पुराना र इमान्दार ठानिएका एक कम्युनिष्ट नेता अमिक शेरचन भन्दै थिए, ‘बुबाले मलाई २२ विगाह जमिन अंश दिनुभएको थियो, कम्युनिष्ट राजनीतिमा लागेर सबै सिध्याएँ, अहिले अढाइ विगाह पनि बाँकी छैन । मेरा छोराहरु आर्थिक अभावले विदेशिनुपर्‍यो, आखिर हामीले संसदीय प्रणाली स्वीकानै पर्‍यो ।’

शेरचनको यो आत्मस्वीकारोक्तिभित्र केही यक्ष प्रश्नहरु लुकेर बसेका थिए । उनी भन्न खोज्दै थिए, कम्युनिष्ट हुनुको नाताले उनी संसदीय प्रणाली र बहुदलीय व्यवस्थाभन्दा भिन्नै प्रकारको लोकतन्त्रको कल्पना गर्थे । तर, त्यति ठूलो त्याग, दुःखपछि संसदीय व्यवस्था नै स्वीकार्नुपर्छ भन्ने थाहा पाएको भए ‘कम्युनिष्ट नै हुने थिइँन’ ।

यो मनोदशा शेरचनको मात्र हैन, थुप्रै नेपाली कम्युनिष्टहरुको हो । नाम उल्लेख गर्दिनु त्यति उचित नहोला, तर थुप्रै एमाले र एमाओवादीका दोस्रो, तेस्रो तहका नेताहरुले यो पंक्तिकारसँग व्यक्तिगत भेटघाटमा यो यथार्थलाई स्वीकार गरेका छन् । एमालेमा त घनश्याम भुसालले ‘जबज’ र ‘लेनिनवाद’ परस्पर विरोधी विचार हुन् भन्दै पार्टी सिद्धान्त र नामबाट लेनिनवाद हटाउनुपर्ने सार्वजनिक जिकिर नै गरे । त्यसभन्दा धेरै अगाडि अर्का युवा नेता रघुजी पन्तले ‘सामाजिक जनवाद’ को कुरा गर्दा शून्य भोट पाएका थिए । त्यसपछि उनले यो विचार उठाउने साहस कहिल्यै गरेनन् ।

एमाओवादी वृत्तमा निक्कै अध्ययनशील र बौद्धिक मानिने राम कार्कीले एकपटक भनेका थिए, ‘मार्क्सवादसँग दर्शन र समाजशास्त्र छ, तर राजनीतिशास्त्र छैन । यही अभावले हामीलाई बारम्बार कमजोर बनाइरहन्छ ।’ उनको संकेत पनि कम्युनिज्मले पुँजीवादले भन्दा फरक लोकतन्त्रको भिन्नै र मौलिक ढाँचा निर्माण गर्न नसकेको तर्फ थियो ।

मार्क्सकालीन युरोपमा समाजवादी आन्दोलन अत्यन्त लोकप्रिय थियो, अधिकांश क्रान्तिकारीहरुले आफूलाई समाजवादी भन्थे । तर ती विचारहरु मार्क्सका विचारसँग मिल्दैनथे

कम्युनिज्मको अर्थ

कम्युनिज्मको शाब्दिक अर्थमा जानु अघि थोरै पृष्ठभूमिको चर्चा गर्नु उपयुक्त हुन्छ । कम्युनिज्म फ्रेन्च भाषाको ‘कम्युन’ शब्दबाट बनेको हो, जसको अर्थ हुन्छ ‘समुदाय’ । स्वीट्जरल्याण्डमा त राज्यका सबैभन्दा तल्ला निकाय वा स्थानीय सरकारलाई बुझाउन ‘कम्युन’ शब्द प्रयोग गरिन्छ । प्रि-मार्क्ससियन सोसलिष्टहरु ‘कम्युनिज्म’ शब्द प्रयोग गर्दैनथे, त्यतिखेरसम्म ‘सोसलिष्ट’ शब्द मात्र प्रयोग गर्ने चलन थियो । मार्क्सको पालामा आएर ‘कम्युनिज्म’ र ‘सोसलिज्म’ एकअर्काको पर्यायबाची जस्तो प्रयोग हुन थाल्यो जस्तोकी नेपालमा ‘प्रजातन्त्र’ को साटो ‘लोकतन्त्र’ प्रयोग हुन थाल्यो ।

किन त्यसो गर्नु पर्यो त ? यसबारे कार्ल माक्र्सका दुई वटा तर्कहरु छन् । पहिलो तर्क ‘कम्युनिष्ट घोषणापत्र’ मा नै छ । उनी-अनेक खाले समाजवादीहरु बीच आफ्नो भिन्न र मौलिक पहिचानका लागि ‘कम्युनिज्म’ शब्द प्रयोग गरेको दाबी गर्छन् । यसले के देखाउँछ भने मार्क्सकालीन युरोपमा समाजवादी आन्दोलन अत्यन्त लोकप्रिय थियो, अधिकांश क्रान्तिकारीहरुले आफूलाई समाजवादी भन्थे । तर ती विचारहरु मार्क्सका विचारसँग मिल्दैनथे । ती समाजवादीबाट आफूलाई फरक गर्न मार्क्सले कम्युनिज्म शब्द प्रयोग गरेका थिए ।

दोस्रो प्रमाण, उनले सन् १८५२ को मार्चमा जे. बेमेडियरलाई लेखेको चिठ्ठी हो, जसमा उनले प्रष्ट भाषामा उनको विचार अरु समाजवादीहरुभन्दा किन फरक हो भन्ने उल्लेख गरेका छन् । उनले यसका तीनवटा कारणहरु दिएका छन् । वर्गसंघर्ष नै समाज विकासको मूल तत्व हो भनेर स्थापित गर्नु । वर्गसंघर्ष अनिवार्य रुपमा सर्वहारा अधिनायकत्वमा पुग्नेछ भनेर विश्वास गर्नु । सर्वहारा अधिनायकत्वले अपरिहार्य रुपमा वर्गविहीन, राज्यविहीन र अतिरिक्त मूल्य (मुनाफा)विहीन समाज व्यवस्थाको निर्माण गर्नेछ भनेर सिद्ध गर्न खोज्नु । यी तीन चिज हटाइदिने हो भने समाजशास्त्रीय तथा राजनीतिकशास्त्रीय हिसाबले मार्क्सवादको कुनै सान्दर्भिकता बाँकी रहँदैन ।

नेपालका अधिकांश कम्युनिष्टहरुले आफ्ना दस्तावेज र उद्देश्यहरुबाट यी तीनै चिज हटाएका छन् । तर पनि उनीहरु आफूलाई अर्को कुनै उपयुक्त शब्द खोज्नुको साटो कम्युनिष्ट नै भन्छन् भने अर्थसंकटमा फस्नु स्वभाविक हुन्छ ।

यहुदी तत्वशास्त्र

मार्क्सको चिन्तनको स्रोतमा रुपमा अधिकांशले हिगेल, फायरबाख र डार्विनलाई लिन्छन् । त्यो बेठीक हैन । तर, संगसंगै उत्तिकै ठूलो सत्य के हो भने उनले प्राचीन ग्रिक दर्शनमा आधारित भएर विद्यावारिधी गरेका थिए । प्लेटोनिक साम्यवाद, हेराक्लिटस, डेमोक्रेटस तथा सेन्ट अगस्टाइनका चिन्तनको उनमा गहिरो प्रभाव थियो ।

क्रिश्चियानिटीको स्रोत यहुदी दर्शन हो र यहुदीवादको स्रोत प्राचिन ग्रिक दर्शन हो । यी तीनवटै चिजको प्रभाव मार्क्समा थियो । उनी स्वयं यहुदी थिए । फायरवाखको भौतिकवादी चिन्तनको प्रभावको कारण उनले दैवीशक्तिको चिन्तन अस्वीकार गरे । तर, समाजशास्त्रीय हिसाबले उनले यहुदी तत्वशास्त्रलाई छोड्न सकेनन् ।

यहुदी तत्वशास्त्र (अन्टोलजी)को मुख्य समाजशास्त्रीय चिन्तन समुदायवाद हो । समुदायको भूमिका विना व्यक्तिको अस्तित्व विकसित हुन सक्दैन भन्ने स्रोत यहुदीवादमा छ । आज पनि इजराइलीहरु सामुहिक खेती गर्छन् ।

तर, यहुदीवाद र क्रिश्चियानिटीमा हुने एउटा भिन्नता समुदायलाई महत्व दिने कि व्यक्तिलाई भन्ने पनि हो । विशेषतः प्रोटेस्टेन्टहरु व्यक्तिवादलाई महत्व दिन्छन् । क्रिश्चियानिटीको समुदायवादी हाँगो सेन्ट अगस्टाइनले निर्माण गरेका थिए ।

चर्चको स्थापना धार्मिक पूजाआजा र कर्मकाण्डमा लागि भएको थिएन । समाजलाई निजी स्वामित्वका खराबीहरुबाट जोगाउन पूर्विया आश्रमहरुको जस्तै गरी चर्च स्थापनाको आन्दोलन अगस्टाइनले चलाएका थिए । अगस्टाइनले त्यतिखेर गरेको मुख्य तर्क नै जमिनको स्वामित्व चर्चलाई देउ भन्ने हो ।

अगस्टाइन र मार्क्सको तत्वशास्त्र मिल्दोजुल्दो देखिन्छ । यही तुलनाका आधारमा बर्टोल्ड रसेलले कम्युनिज्मलाई ‘आधुनिक क्रिश्चियानिटी’ भनेका थिए ।

साम्यवाद कि समुदायवाद ?

अंग्रेजीको ‘कम्युनिज्म’ नेपालीमा वा देवनागरी लिपीमा लेखिने दक्षिण एशियाली भाषामा अनुवाद गर्दा ‘साम्यवाद’ हुन्छ कि ‘समुदायवाद’ हुन्छ भन्ने अर्को बहस विस्तारै फैलिदैँ गएको छ । ‘कम्युनिज्म’ शब्दको पहिलो दक्षिण एशियाली अनुवाद कसले गर्‍यो ? उसले किन ‘समुदायवाद’ को साटो ‘साम्यवाद’ शब्द रोज्यो ? यो प्रश्नको उत्तर पाउँन सजिलो छैन । अन्यथा ‘कम्युन’, ‘कम्युनिटी’ र ‘कम्युनिज्म’ जस्तै नेपालीमा ‘समाज समूह’, ‘समुदाय’ र ‘समुदायवाद’ बन्न पुग्थ्यो । वस्तुतः यो कम्युनिज्मको अर्थविर्निमाण गर्ने आकांक्षाबाट आएको तर्क हो । ऐतिहासिक तथ्य चाहिँ हैन । वर्गविहीन, राज्यविहीन, शोषणविहीन, शासनविहीन, मुनाफा वा अतिरिक्त मूल्य वा अतिरिक्त वचतविहीन समाज एकाम्य हुने हुँदा त्यहाँ ‘समुदाय’ भन्दा ‘साम्य’ शब्द नै बढी उपयोगी हुन्थ्यो ।

कम्युनिज्मको अर्थ अब  ‘साम्यवाद’ हुन सक्दैन, बरु त्यसको विर्निमित अर्थ ‘समुदायवाद’ नै  हुन्छ । र, यो अर्थ नै बढी उपयुक्त छ । तसर्थ नेपालका कम्युनिष्टहरुले आफूलाई साम्यवादी भन्नुभन्दा समुदायवादी भन्नु बढी उपयुक्त छ

पूर्वीया दर्शनसँग भिन्नता

प्राचीन ग्रिक, यहुदी वा क्रिश्चियानिटी, पाश्चत्य दर्शनका मुख्य तीनवटै स्रोत ‘लिनियर डेभेलोपमेन्ट’ को विश्वासमा आधारित छन् । तर, पूर्वीया दर्शनका कुनै पनि हाँगाले यो कुरालाई कहिल्यै स्वीकार गरेन । गीता दर्शनदेखि बुद्ध र ओशोसम्म सबैको जोड भौतिक विकास ‘लिनियर’ भए पनि मानवीय प्रवृतिहरु ‘लिनियर’ हुँदैनन् बरु ‘चक्रिय’ हुन्छन् भन्ने छ । स्टेफेन हकिंन्सले भनेको व्यतीकरण पनि सायद त्यही हो ।

मानवीय प्रवृत्तिको चक्रियताले भौतिक विकासको क्रमिकतालाई पनि आरोह-अवरोहमा लगिदिन्छ । यसै कारणले गर्दा भौतिक रुपमा सबै मान्छेका लागि अपेक्षित स्थितिको प्राप्ति कहिल्यै सम्भव छैन । तसर्थ सुःखको आधार आत्मिक पनि हुन्छ । गीताले भनेको मोक्ष, बुद्धले भनेको निर्वाण वा ओशोले भनेको साक्षी त्यही हो ।

भौतिक विज्ञान विकासको पछिल्लो संस्करण क्वान्टम भौतिकीसम्म आइपुग्दा पश्चत्य दर्शनभन्दा बढी पूर्वीया दर्शन सत्यको नजिक देखिन्छ । पूर्वीया दर्शनलाई केवल कर्मकाण्ड र रुढीवादसँग जोड्ने, पाश्चात्य दर्शनलाई जहिले पनि वैज्ञानिक देख्ने दृष्टिदोषको हामीले ठूलो मूल्य चुकाइरहेका रहेछौं ।

तसर्थ कम्युनिज्मको अर्थ अब  ‘साम्यवाद’ हुन सक्दैन, बरु त्यसको विर्निमित अर्थ ‘समुदायवाद’ नै  हुन्छ । र, यो अर्थ नै बढी उपयुक्त छ । तसर्थ नेपालका कम्युनिष्टहरुले आफूलाई साम्यवादी भन्नुभन्दा समुदायवादी भन्नु बढी उपयुक्त छ ।

लोकतन्त्रको ढाँचा

साम्यवादको अर्थ व्यक्तिगत स्वतन्त्रतासँग टकराउँछ । व्यक्तिगत सार्वभौमसत्ता र लोकतन्त्र बीच नजिकको सम्बन्ध छ । त्यही भएर कम्युनिष्टहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वव्यापी रुपमै सधै कमजोर रहृयो । तर, समुदायवादको अर्थ व्यक्तिगत स्वतन्त्रतासंग टकराउँदैन र त्यो लोकतन्त्रको विरुद्धमा पनि हुन सक्दैन । मार्क्सको पेरिस कम्युन पढ्दा उनले भनेका पेरिस लोकतन्त्रका कयौं विशेषताहरु लेनिन वा माओको लोकतन्त्रको व्याख्यासँग खासै मिल्दैनन् । उनले पेशेवर राजनीतिको कल्पना कहीँ गरेका छैनन् । प्रतिनिधीलाई औषत नागरिकको भन्दा बढी तलबभन्दा दिने कुरालाई त अपराध नै भनेका छन् । प्रत्याव्हानको अधिकारलाई लोकतन्त्रको अनिवार्य अंग भनेका छन् । ती गुणहरु सोभियत संघ, चीन, उत्तर कोरिया, वा क्युवामा भन्दा बढी स्वीट्जरलैण्ड र स्केनेडेवियन मुलुकहरुमा पाइन्छ ।

फेरि शेरचनको प्रसंग

लेनिन र कार्ल काउत्स्कीबीचको विवादको मुख्य कारण नै मार्क्सवादीहरुले बहुदलीय संसदीय प्रणालीलाई मान्नु हुन्छ कि हुँदैन भन्ने थियो । वस्तुतः चीनमा माओ र सन यात सेन बीचको भिन्नता पनि यही थियो । नेपालमा वीपी र पुष्पलालबीचको भिन्नता पनि यही थियो ।

लेनिन, माओ वा पुष्पलाल बहुदलीय संसदीय प्रणालीलाई उपयोग गर्ने तर त्यसभन्दा फरक लोकतन्त्रको कम्युन ढाँचा विकास गर्न सकिन्छ भन्ने विश्वास गर्थे । प्रचण्ड अझै त्यही भन्दैछन्, जुन उनको भरखरै बनेको माओवादी केन्द्रको एकता दस्तावेजमा लेखिएको छ ।

नेपालमा त्यही कुरा हैन भन्न सक्ने पहिलो कम्युनिष्ट नेता मदन भण्डारी हुन् । तर, मदन भण्डारीको पनि सैद्धान्तिक सीमा देखिन्छ । उनले लेनिनवादकै ब्यानरभित्र काउत्स्की, रोजा र युरो कम्युनिज्म पसाए । तर, जबजसंग लेनिनवादको कुनै सम्बन्ध छैन भन्ने आँट गरेनन् । बरु त्यसो भन्ने आँट गर्ने रघु पन्त एमालेमा नराम्ररी एक्लिए ।

अमिक शेरचनको मानसिक पीडा उनको निजी पीडा नभएर धेरै कम्युनिष्ट नेता कार्यकर्ताको मानसिक पीडा हो । यो पीडामा बाँच्न मान्छे अभिशप्त छैन । हरेक मान्छेको जीवन सार्वभौम छ । उसले आफ्नो सोच्ने तरिकालाई बदलेर आफूलाई आत्मिक खुशी दिन सक्छ । त्यसो गर्न स्वतन्त्र छ ।

लेनिनवादी वा माओवादी लोकतन्त्र पर्याप्त नभएपछि फेरि संसदवादमै फर्किने कुरा समस्याको समाधानभन्दा बढी शुतुरमुर्गी तरिका मात्र हो । सोभियत प्रणाली र संसदवादभन्दा फरक लोकतन्त्रको नयाँ ढाँचा विकास गर्न सकिन्छ, त्यो नै नयाँ शक्तिले भनेको ‘समानुपातिक-समावेशी सहभागितामूलक लोकतन्त्र’ हो । अमिक शेरचनहरुको मानसिक पीडाको वास्तविक उपचार यहाँनेर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment