Comments Add Comment

निवन्धः उत्तरआधुनिक अन्तरेपथ

Khagendra-Sangraula

जीवनको यस नवीनतम् क्षणमा म जुनियर अन्तरेको तिलस्मी औतारमा रुपान्तरित भएको छु । र, अब म उत्तरआधुनिक अन्तरे दर्शनका दृष्टिले जीवन-जगतबारे गहन विमर्श गर्छु ।

आँगनछेउको गोडमेलबाट वञ्चित मेरो दुखिया दूबोमा छद्मभेषी झार सल्केको छ । म भन्छु, पिराहा झारको यो आततायी सल्काइ दूबोमाथिको हिंसा हो । हिंसामुक्त हुन दमित दूबो मसँग हरपल गोडमेल र मलजलको व्यग्र याचना गरिरहेछ । तर, यस नवसम्भ्रान्त ज्यानमा जाँगर छैन । कटु अनभव भन्छ, दूबो गोड्नु भनेको मैलो कपालका चम्कना खोजेर टिप्नुजस्तै काम हो, अतिशय झन्झटिलो । मति र मनोविज्ञानका हिसाबले आफू परेँ यस हिंसाग्रस्त मुलुकको कनिष्ट अन्तरे । वरिष्ट अन्तरेद्वारा आविष्कृत अनुपम दृष्टान्त सम्झँदै म घोत्लिन्छु- दूबोलाई हिंसामुक्त गर्न म एउटा अगरबत्ती पो बालुँ कि ? करीमा स्वाद र सुगन्धको बिछट्टको लेप लगाइदिने मेरो करी लिफमा अगस्ती झुसिल्किराहरुको बिगबिगी छ ।

कोमल वृक्षमाथिको क्रूर हिंसा हो यो बिगबिगी । तर, यो सुगन्ध र स्वादबर्द्धक लघुवृक्षलाई हिंसामुक्त गर्न कष्टकर झमेलो उठाउने उमङ्ग यस अल्छे ज्यानमा छैन । सुकोमल पाउलाई कष्ट दिँदै किटनाशक बिखादि किन्न पसल जाऊ । स्प्रे खोज । छिर्का हान । ज्यानलाई दुःख । पैसाको नाश । समयको बर्बादी । निधार खुम्च्याउँदै म सोच्छु, एक जोडी परेवा उडाएर यो आहत करी लिफलाई हिंसामुक्त गर्ने कामना म किन नगरुँ ? अहा ! क्या च्वाँक विचारहरु फुरेका मलाई !

मेरो चित्तको चन्चल तलाउमा मङ्गलकामी विचारहरुको लहर ह्वाह्वार्ती स्फुरण भइरहेछ । म देख्छु, मेरो चर्पीमा देख्दैमा घिनिलाग्दो हरियो झिँगो घुसेछ । शान्तिपथको देउरालीमा उभिएर म घोषणा गर्छु, हैजाबाहक झिँगाको चर्पी घुसाइ चर्पीको स्वच्छतामाथिको निर्मम हिंसा हो । तर, गन्दे चर्पी सफा गर्न मलाई कत्ति जाँगर लाग्दैन । अतः आज्ञाकारी मुद्रामा अन्तरे गुरुजीको सिको गर्दै म चर्पीमा केही थोपा अत्तर पो छक्र्युँ कि । मेरो अनन्त चिन्ता सिरियल जारी छ । अताल्लिँदै सम्झन्छु, नर्कतुल्य सडकमा फोहोरको कुहिगन्ध व्याप्त छ । यो कुहिगन्ध मनुष्य जातिको घ्राँाशक्तिमाथिको जघन्य हिंसा हो । नाक अँठ्याउँदै म गम खान्छु- फोहोरको डङ्गुरमाथि दुई-चारवटा कपुर अर्पँा गरेर निम्छरो मनुवाको घ्राँशक्तिलाई म हिंसामुक्त पो गरुँ कि । उता भद्रगोल ढलमार्फत् मानवमलरुपी हिंसा मिसिएर पवित्र वागमती नदी हदै अपवित्र भएको छ । मलाई झोँक चल्छ, तान्त्रिक विधिबाट म वागमतीको शुद्धीकरण पो गरुँ कि ।

पिँडीमा प्लास्टिकको पत्रु कुर्सीमा उपर्खुट्टी लगाएर बडो गम्दारी मुद्रामा बसेको छु म । म अर्थात् कनिष्ट अन्तरे । मेरो करुणामयी चित्तमा हिंसाविरोधी चेतनाको अजस्र मूल फुटिरहेछ । मग्नसँग बसीबसी सरल, सहज र सुबिस्तायुक्त उपायद्वारा समाजलाई हिंसामुक्त गर्ने उदात्त कामनाले ओतप्रोत हुँदो छु म । अन्तदर्ृष्टिले म देख्छु, जनजीवनका घटघटमा र कणकणमा हिसा व्याप्त छ । थाहा छ, मानव देहमा चोट लगाउनु, रगत बगाउनु, कष्ट दिनु वा ज्यान लिनुमात्र हिंसा होइन । सहस्र छन् हिंसाक रुपहरु, र यसका आयामहरु छन् अनगिन्ती ।

अबोध शिशुहरु कुपोषित भई टाक्सिनु हिंसा हो । निर्दोष बालबालिकाहरु शिक्षाको ज्योतिबाट वञ्चित हुनु हिंसा हो । गतिलो प्रसूति सेवा नपाएर मातृ-शिशु पीडित हुनु हिंसा हो । कथित दलितमाथि छुवाछूतको कलङ्क थोपरिनु हिंसा हो । निमुखा, दरिद्र र दलित महिलाहरुलाई बोक्सीको बात लगाएर हुर्मत लिनु हिंसा हो । दहेजको लोभमा नारीमाथि ताडनाको ओइरो लाग्नु हिंसा हो । एकलासे छाउपडी खोरमा निरुपाय स्त्री जाडाले कठाङ्गि्रएर सेलाउनु हिंसा हो । जनजातीय संस्कृति र अस्मिताको तेजोबध गरिनु हिंसा हो । मधेसी मानवलाई अदेशभक्त, अनागरिक र आयातीत ठानिनु हिंसा हो । जाजरकोट भेगमा नाथे झाडापखालाबाट त्यतिका नरनारीहरुको एकबारको चोला उठ्नु हिंसा हो । हो, हिंसा सर्वत्र छ । तर, अन्तरेपथको नवीन आविष्कारको प्रकाशपुञ्जमुनि खुशीको खबर पनि त छ । यस दिव्य घडीमा अगुवा अन्तरेका पावन एवं प्रेरणादायी पदचिन्ह पछ्याउँदैयी यावत् हिंसाहरुलाई नामेट पार्ने आनन्दी अभियानमा निस्कन म पछुवा अन्तेरलाई प्रचूर मात्रामा ऊर्जा र उमङ्ग प्राप्त भइरहेछ ।

गौतम बुद्धले भनेथे- जीवनमा दुःख छ । दुःखका कारण छन् । काम, क्रोध, लोभ र मोहबाट मुक्त हुने आत्मिक प्रबोधनकारी यत्न र साधनाद्वारा यी कारणको निराकरण गर्न सकिन्छ । कार्ल माक्र्सले भनेथे- समाज वर्गमा विभक्त छ । जीवनका सबै भौतिक र आत्मिक वस्तुहरुमाथि अल्सङ्ख्यक कामचोरहरुको वर्चस्व छ । वर्गसङ्ग्रामद्वारा बहुसङ्ख्यक गरिखानेहरुको कल्याणकारी राज खडा गरेर जनमुखी उत्पादन र समतामुखी वितरणको चाँजो मिलाई समस्त मानवजाति शनैःशनैः आवश्यकताको अधिराज्यबाट स्वतन्त्रताको अधिराज्यमा भित्रिन सक्छ । उता महात्मा गान्धीले सत्याग्रही अहिंसामार्फत् लोकहितकर स्वराजको आग्रह गरेथे । सुन्छु, यी तीन मनीषीका यी सोचहरु मानव जीवनलाई हिंसामुक्त गर्ने पृथक् प्रकृतिका पथहरु हुन् रे । तर, वरिष्ट अन्तरेको वेदवाणीलाई साक्षी राखेर यो कनिष्ट अन्तरे ऐलान गर्छ- यी बित्थाका झ्याउ पथ हुन् ।

यी पथको पथिक हुन असम्भव छ । बुद्धपथमा लागेर जीउमा झ्याउ पलाउने गरी तपस्या गर्न के सकिन्छ ? माक्र्सेली बाटो अबलम्बन गरी ज्यानलाई जोखिममा पार्नुमा के बुद्धिमत्ता छ ? अनि गान्धीमार्गको ध्वजा बोकेर एउटा गालामा झापट आइलाग्दा अर्को गालो थापिदिन किन मानिन्छ ? तर, जसरी हुन्छ समाजलाई हिंसामुक्त त गर्नु नै छ । वरिष्ट अन्तरेपथ बुद्ध, माक्र्स र गान्धीपथभन्दा कता हो कता उत्तम छ । तसर्थ म कनिष्ट अन्तरे अटल आत्मविश्वासका साथ उद्घोष गर्छु- यो सुरक्षित, मनोरञ्जनदायी र मगनमस्तीपथ हो । त्यसो त यो लाभदायक पथ पनि हो । यसबाट यश लाभ हुन्छ, अर्थ लाभ हुन्छ र खुल्छ अमरत्वको स्वर्णद्वार ।

श्री अन्तरे गुरुजीद्वारा निर्मित हिंसामुक्तिपथबारे चिन्तन-मन्थनमा म नवजात अन्तरे निमग्न छु । अब मेरो सिर्जनशील मस्तिष्कमा अभियानको मार्गचित्र कोरिन थाल्छ । मार्गचित्र छ सोझो, सुस्पष्ट र सुगम । थाहा छ, यो मार्गचित्रमा यात्रा गर्नलाई चाहिन्छ एक रङ्गीबिरङ्गी इन्द्रधनुषी टोली । नयाँ पथ बनाउनु पीडा हो । अन्वेषण कष्ट हो । गवेषण सन्ताप हो । कष्टसाध्य यत्न मरेको जुनी हो । र, त्याग हो भयङ्कर क्लेश । पाइनसक्नु एकबारको जुनीमा सजिलो कुरा त कसैको कार्बनकपी हुनु पो हो । तसर्थ राजीखशीको रोजाइसाथ म अन्तरेपथको कार्बनकपी बन्छु । र, मार्गचित्रको खाका उतैबाट सुटुक्क चोर्छु म । हिंसामुक्तिजस्तो लोकमङ्गलकारी मनसायबाट गरिने चोरी दँडित हुनुपर्ने कसुर होइन क्यारे ।

थाहा छ, सप्तरङ्गी टोलीको एक रङ्गमा पूर्व कुटनीतिज्ञ वा पूर्व अञ्चलाधीश वा पूर्व जर्नेल पर्छ । यो पूर्व यस मुक्ति अभियानको एक शोभा हो, एक शान हो र हो एक गौरव पनि । म तर्कना गर्छु, अभियानमा निस्कन म कुन पूर्वलाई चयन गरुँ ? पुस्तकप्रेमी विश्व प्रधान, राजसेवी विद्वान् सूर्यप्रसाद श्रेष्ठ वा जण्ड जर्नेल रुक्माङ्गद कटवाल ? खुबी आकलन गरेर म एकजना पूर्व हजुरलाई ट्याक्क चयन गर्छु ।

पूर्वपछि सिनेकर्मी हो यस टोलीको देदीप्यमान् आभूषण । सम्यक् दृष्टिले परख गर्छु म, अध्यक्ष कमरेड प्रचँडसँग नारिएर मच्चीमच्चीकन नृत्य गर्ने रुपसी रेखा थापा वर्तमान सिने जगत्की हिट हिरोनी हुन् । तिनको तेजस्वी भङ्गमिा, ओजस्वी मुस्कान र मनोहारी नृत्यबाट हिंसामुक्ति अभियानमा रुमानी रसको त वषर्ा नै होला । अनि गायक ? अभियानलाई रागात्मक र लयात्मक तुल्याउन गायक त झक्की नै चाहियो । गहन चिन्तन पश्चात् कुमार बस्नेत र प्रकाश ओझालाई म रोज्छु । तत्पश्चात् रससंयोजनको कलाबारे कल्पिँदै म घोत्लिन्छु – हास्यरस यस अभियानको विशिष्ट अलङ्कार हो ।

हास्यरसको आकाशबाट स्मृतिको पर्दामा हठात् उदाउँछन् श्री मनोज गजुरेल । अनेकओली नेताका मुखाकृति, भङ्गमिा, ध्वनि, थेगो र वस्त्रको नक्कल गर्न हुनुसम्म निपुँा छन् यी रौसे गजुरेल । यिनको सूक्ष्म नक्कल सक्कली कला हो कि नक्कली मलाई थाहा छैन । र, मलाई मत्लब पनि छैन । यो क्षणभङ्गुर रामरमिता हो कि यसमा केही दिगो तत्व निहित छ, मलाई त्यो पनि थाहा छैन । र, मलाई करुणर्ााह पनि छैन । तर, म ठोकेर भन्छु – हिंसामुक्ति अभियानमा यी गजुरेलले निःसन्देह धुमधाम उमङ्ग र रङ्गीन तरङ्ग जगाउने छन् । हेर्नेहरुका नजरमा नक्कल गरिने पात्र हो पनि र होइन पनिको दोसाँधमा पर्छ । यो हो र होइनको बीचमा जहाँ छिद्र हुन्छ हो त्यहीँबाट निःसृत हुन्छ हाँसोको भुल्को ।

आयो चयन गर्ने पालो अब लटालट कमाउ एनजीओका विशालकाय विकासे बाबुको । यो विकासे बाबु हो हिंसामुक्ति अभियानको चोट्टलिो चटनी । गाला चमचम, चिन्तन कुटिल, जिब्रो वाचाल, खल्ती पुटुस्स । धनधान्यले परिपूर्ण उन्नत विकासेहरुका एकसेएक चित्र मेरा आँखासामु छम्छम् नाच्छन् । र, तिनमध्ये एक थान विकासेलाई टिपेर म ट्याक्क इन्द्रधनुषको सन्जालमा सजाउँछु । अभियानी इन्द्रधनुषको अन्तिम तर एकदमै प्रखर रङ्गमा पर्छ प्रतिभा र विद्वताले घनीभूत प्राज्ञ । इन्द्रधनुषी रङ्गसंयोजनमा यस प्राज्ञको स्थान मृत श्री ५ का शिरको श्रीपेचतुल्य छ । मनको पन्तुरोमा धुइँपत्ताल खोजेर म भनेजस्तो प्राज्ञ छान्छु । बस्, अबलाई भयो हिंसामुक्ति अभियानको पात्र चयन सर्वाङ्ग परिपूर्ण ।

अभिनय, गायन, नृत्य, परिहास, कूटकला, चटनी, प्राज्ञिक प्रवचन आदिको सुन्दर समागमबाट हिंसामुक्ति अभियान सरस, मनोरञ्जक र आल्हादक बन्छ । श्रोता-दर्शकहरु चारै दिशाबाट कमिलाको गोलोसरी ओइरिन्छन् । त्यो ओइराइलाई हिंसामुक्त जीवनप्रति लोकको तृष्ँाा एवं अगाध आस्था भनिदिए भएकै छ । म भन्छु । हाहा होहो, वान्स मोर, करतल ध्वनि, फोटो सेसन, मुस्कान आदान-प्रदान र पारस्परिक बखानले अभियानलाई रङ्गीन, प्रीतिकर र जाज्वल्यमान् तुल्याउँछ । दमदार दृष्टान्त म पित्तुङ अन्तरेका प्रातःस्मरणीय गुरुजीगणबाट जगत्छेउ प्रस्तुत भएकै छ ।

हिंसामुक्ति अभियानमा जे जस्ता अनमोल प्रतिभा सामेल हुन्छन्, यथार्थमा ती विचारवाहक होइनन् । विचार भनेको मस्तिष्कको बोझ हो जसमा अपार दुःख छ । अतः यस अभियानमा जो सरिक हुन्छन्, ती नवीन उत्तेजना र नूतन मनोरञ्जनका लागि सरिक हुन्छन् । भनुँ भने, हिंसामुक्ति अभियानको मौलिक तत्व नै कर्ताको यथेष्ट मनोरञ्जन हो । मनोरञ्जनका माध्यमले गरिने उदात्त लक्ष्यतर्फको आनन्दमय यात्रा हो यो । यात्रा गजब छ । लक्ष्य छ त्यति महान्, तर जोखिम केहीको छैन । यात्रीहरुको सवारी वातानुकुलित वाहनबाट वा गगनमार्गी लौहचरीबाट चल्छ । पैतालामा एउटासम्म पानीफोको पनि उठ्दैन । न त र्झछ नाकको एउटासम्म रौँ नै । उसो त एक अँश बराबर छाला खोस्सिने पनि त होइन । यो मस्ती अभियानमा थकान, चिन्ता र तनावलाई लेसमात्र पनि स्थान छैन । तर, यसका लाभहरु भने कति कति ! उदारता साथ क्यामेरालाई मुहार टक््रयाउन पाइन्छ । कर्ताको छविमा आभामण्डल थपिन्छ । उसको कीर्ति बढ्छ । आत्मगौरवको ऊर्जाद्वारा उसको आयु लम्बिन्छ । अनि अराजक कोलाहलबीच भोलि बन्नसक्ने गैरराजनीतिक फौजी सरकारको प्रधानमन्त्री, मन्त्री, राजदूत आदि बन्ने सुवर्ँा अवसरको दैलो घुरुक्क उघि्रन्छ । हृदयमा सुन्दर सपना कोरल्दै मस्ती मुद्रामा म कल्पिन्छु, हिंसामुक्ति अभियानका माउ अन्तरेहरु प्रधानमन्त्री र मन्त्री बने म पाठो अन्तरे पनि त केही बनूँला । आखिर म पनि त मत्र्यलोकको काम, क्रोध, लोभ, मोहयुक्त प्राणी हुँ । आकाङ्क्षा मेरा पनि छन् । कमसेकम फौजी ध्वजामुनि विना विभागीय सहायक मन्त्री म कसो नबनुला ? जब यो भव्य सपना मेरो मथिङ्गलमा फुर्छ, म त्यसैत्यसै मखलेल हुन्छु । आखिर जोगी हुनलाई हिंसामुक्ति अभियानमा लागिया होइन क्यारे !

म पिँडीमै बसेको छु । मेरा खुट्टा उपर्खुट्टीकै पोजमा छन् । आनन्दी चिन्तनको लयमा मेरो उपरवाले खुट्टो सुस्त गतिमा हल्लिँदो छ । म अब हिंसामुक्ति अभियानको वित्तीय बन्दोबस्तउपर विचार गर्न थाल्छु । र, जगत्लाई आफ्नो प्रतिरुपमा ढाल्न आतुर विचारवान्, धनवान् एवं करुणामयी दातृ निकायका दाताहरु समक्ष सभक्ति निवेदन पेश गर्छु । यी उदारमना दाता हुन्, युएसएआइडी, डीएफआइडी, डेनिडा आदि इत्यादि । आगन्तुक याचकलाई रकम दान गर्न यी दाताश्रीहरु तँछाडमछाड गर्छन् । रकम दान यिनको, हिंसामुक्ति अभियानको मार्गदर्शन पनि यिनैको । सर, अलिकता निहुरिएर हात मल्दै र पैसो थाप्दै नौनीमय वचनमा म निवेदन गर्छु – सर, मेरो हिंसामुक्ति अभियानमा मुलुकका हर क्षेत्रका अप्रतिम प्रतिभाहरु लाम लागेका छन् । यो सेवक गगनमण्डलमा हजुरको कीर्तिध्वजा फहराउन सततः प्रतिबद्ध, कटिबद्ध एवं समर्पित छ । प्रत्युत्तरमा आर्शिवादको भाकामा दाताको अमृत वचन इथर तरङ्गमा प्रवाहित हुन्छ- वत्स ! म प्रसन्न छु । सदा सर्वदा यस्तै रहनू ।

पोटिलो खल्ती मुसार्दै र आनन्दसागरमा डुबुल्की मार्दै अब म गोप्य व्यूहरचना गर्छु । । मह काड्नेले हात त चाट्छ नै । विना यत्न हातलागी भएको केही रकम म हिंसामुक्ति अभियानमा खर्च गर्छु । र, केही रकम म सुटुक्क खल्तीकरण गर्छु । सदैव गरिने तर भन्न नमिल्ने गोप्य धन्दा यो हो ! बस्, अन्तरेका दुबै हातमा क्या सुस्वादु लड्डु ! आखिर यो भावीले छैटीमा लच्छिनको ललाटमा लेखिदिएको सौभाग्यको फल न हो ।

मेरो चिन्तन गतिमान् छ, मेरो देह पिँडीमै स्थिर छ । स्थितप्रज्ञ मुद्रामा म आँखा चिम्लिन्छु । मेरो अन्तर्दृष्टिको डबलीमा हिंसामुक्ति अभियानको रमितलाग्दो तामझाम आरम्भ हुन्छ । मेरो अभियान तल धरामा शानदार गाडीमा गुड्दो छ, माथि गगनमा आरामदायी वायुयानमा उड्दो छ । ल हेर, अभियानी सभामा सहस्र नरनारीहरु जुटिसके । अहो Û कत्रो उमङ्ग, कत्रो हर्षोल्लास, मुक्तिदायी अभियान टोलीको कत्रो स्वागत र जयजयकार ! मानौँ हिंसामुक्तिजस्तो पुनीत कर्ममा समर्पित सुकोमल देहयुक्त टोलीलाई सारा लोकले समवेत स्वरमा भनिरहेछ- त्वमेव माता च पिता त्वमेव !

हिंसामुक्ति अभियानको प्रभाव मानौँजादुगरी पाराले फैलिँदो छ । ऐतिहासिक कालदेखि हिंसापीडित दलित र महिला, थारु र मुसलमान,, मधेसी र जनजाति, बाल, बृद्ध र वनिता सबका सब तीव्र गतिमा हिंसामुक्त हुँदा छन् । मुक्तिदाताको यशोगान गर्दै ती अन्तहीन उत्सवी जुलुसमा निस्किरहेका छन् । म सोच्छु, सके असीम अनुग्रहको भावनाले पग्लिएर नतमस्तक भई तिनले अब चोकचोकमा हिंसामुक्ति अभियानका वरिष्ट अन्तरेहरुका सुर्वाँजडित सालिक निर्माण गर्लान् । अगुवा अन्तरेहरुका सालिक पूर्ण कदका होलान् रे लौ । म पछुवा अन्तरेको पनि त कमसेकम अर्द्ध कदको सालिक बन्ला । गम खाँदा खाँदै अमरत्व लेपन गरिएको मेरो सालिक मेरो अन्तदृष्टिसामु उदाउँछ । आफ्नो सालिक अपलक हेर्छु र आनन्दको चुचुरोमा उभिएर म आत्म-संवाद गर्छु- कनिष्ट अन्तरे, तेरो एकबारबो जुनी गज्जपले सार्थक भयो !

लोकका अज्ञानीहरु कुरिकुरी गर्दै भन्लान्- हेर अन्तरे, तिम्रो हिंसामुक्ति अभियानको नाकैसामु हिंसाको व्याधी व्याप्त छ । सञ्चार अभियन्ता जमिम शाहमाथि हिंसा थोपरियो । लगत्तै अर्का सञ्चार उद्यमी आ सिंहानियाको ज्यान लिइयो । जनजीवनका हर क्षेत्रमा हिंसा दिन दुगुना रात चौगुना बढ्दो छ । राज्य संरचनामै हिंसाले बास गरेको छ । सामाजिक संरचना बनेको छ हिंसाको मुहान । राजनीतिमा हिंसा छ । अर्थनीतिमा हिंसा छ । संस्कृतिमा हिंसा छ । धर्ममा हिंसा छ । हिंसाको बेलगाम मारमा परी समस्त समाज आँसु, चित्कार र कोलाहलको कालीदहमा डुब्दो छ । खै, के खालो सार्‍यो तिम्रो स्वाँगे हिंसामुक्ति अभियानले ? प्रत्युत्तरमा म मिनी अन्तरे प्रतिवाद गछु – मौलिक र नवीन चिन्तन समाजले न तत्काल बुझ्छ न त सजिलै अङ्गकिार गर्छ । बाँचेर त हेर, एक दिन यस्तो समय आउने छ जब चराचर जगत्ले श्रद्धानत भई यो हिंसामुक्ति अभियानको मुक्त कण्ठले प्रशंसा गर्ने छ । र, महान् अन्तरेहरुको सर्वव्यापी ख्यातिको डरले बुद्ध, माक्र्स र गान्धी मानवस्मृतिबाट सदाका लागि विलुप्त हुनेछन् । बस्, यो हो कुरो !

(पुस्तक मेलामा सार्वजनिक भएको उत्तरआधुनिक अन्तरेपथबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment