Comments Add Comment

प्रधानमन्त्री कसरी हावादारी ? सपना देखेर ओलीले के गल्ती गरे ?

केपी ओलीलाई पाँच वर्ष काम गर्न दिऔं'

KP Oli

जुन जोगी आए पनि कानै चिरेको भनेझै जुन सरकार आए पनि स्थिरता हुन नदिने परिपाटीको विकास नेपालमा व्याप्त छ । राजनीतिभन्दा बाहेक अरुको कुनै स्थान कायम नरहने अवस्था हिजो, आज र भोलि उस्तै रहने देखिन्छ । ०४६ सालदेखिको अवस्थालाई केलाउँदै हेर्दा नेपाली जनताले के पाए र के गुमाए ? सबै माझ छर्लङग छ ।

अब पनि जनताले कति यस्तो स्थिति को सामना गरिरहने ? यसबाट मुक्ति कहिले पाउने ? के राजनीतिक स्थिरताको अनुभूति जनताले गर्न नपाउने ? वर्षौंैवर्षसम्म पनि राजनीतिज्ञहरुले जनतालाई बेवकुफ पारेर जे गरे पनि आफुले गरेको सही हो भन्ने घमण्डीपनाको विकास कहिलेसम्म गर्ने ? जहिले पनि राजनीतिज्ञहरुले जनताको हित विपरीत गएर जनताको थाप्लोमा टेकी आफु सुपि्रमो हुन चाहाने अनि नेपाली जनतालाई दुःख पीडामा भुल्न बाध्य बनाउने ?
नाकाबन्दीबाट पिल्सिएका आम जनताले राजनीतिज्ञबाट समेत केही राहत महसुस गर्न पाएनन् । नाकाबन्दीदेखि अहिलेसम्म मौलाएको कालोबजारीको पराकाष्ठा अझै सकिएको छैन । जनताले अहिलेसम्म पनि सहजरुपमा तेल, ग्यास, पेट्रोल र बत्तिको त कुरै छाडौं, केही सेवा सुविधा पाएका छैनन् ।

अचाक्ली बढेको बजार भाउ नियन्त्रण बाहिर हुँदा जनतामा नैराश्य पैदा भएको छ । यसले गर्दा जनताका मनमा राजनीतिक परिवेश परिवर्तनका बिषय उठ्न थालेका छन् । यसले गर्दा जनताले आफ्नो राजको विषय महसुस गर्न नपाउने भएका छन् । के अब यस्तै अवस्थामा सधैं रुमल्लिइरहने हो त ?

यस्तै आरोह अवरोहका वीच म के भन्न चाहन्छु भने मलाई यसको, उसको सरकार भन्न आवश्यक पनि छैन । एबीसीडी, जसको सरकार भए पनि मेरा लागि सबै एउटै हुन् । तर, परिस्थिति र संयोगबस अहिले केपी ओलीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । केपी ओली सरकारलाई पनि गिराउने खेल अहिले हामी सबैका माझ घामजस्तै छर्लङ्ग छ । यो सरकारलाई पनि गिराउन गोटी चाल सुरु भैसकेको छ । यो सबैले थाहा पाएको बिषय हो ।

माओवादी केन्द्रले कांग्रेस, मधेसी मोर्चालाई लिए एमाले पाखा लाग्ने र एमालेले अहिले भैरहेको समीकरणलाई जति खर्च गरेर भए पनि टिकाउन सके कांग्रेस बाहिरै रहने देखिन्छ । ०४८ साल ०५१ सालदेखि नेपालमा जब सांसद किनबेचको प्रक्रिया औपचारिक अनौपचारिक रुपबाट सुरु भयो, त्यसै बेलादेखि सरकार बन्नासाथ गिराउने र बनाउनेमा मात्रै सबै समय सकियो । यसरी संसदलाई धम्क्याउने, किन्ने, बिभिन्न प्रलोभनमा पार्ने, बिदेश पठाउने यस्ता गतिविधिको अन्त्य कहिले हुने ?

जबसम्म यस्तो गतिविधिको अन्त्य हुँदैन, तबसम्म समस्या यथावत रहने कुरामा कसैको दुई मत नरहला । यसको अन्त्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता हो ।
जबसम्म कसैले चाहेर पनि ५ बर्ष सम्म हटाउन नसक्ने कार्यकारी प्रधानमन्त्री मुलुकले पाउँदैन, तबसम्म राजनीतिक अस्थिरता रहिरहने छ । यसको जलन्त उदाहरण संविधानकै विषयलाई लिए पुग्छ । संविधान जारी हुनुभन्दा १०/१५ दिन अगाडिसम्म संविधान बहुमतको दस्तावेज हैन, एक सय प्रतिशत सहमतिको दस्तावेज हो भनेर कराउँदै हिँड्ने अनि एकाएक बहुमतबाट पारित गर्ने यस्तो प्रवृति मेरा लागि मात्रै हैन, आम नेपालीहरुका लागि दुःखको कुरा हो ।
के ठूला दलका लागि बहुमतीय प्रक्रिया हुने सानाका लागि सहमति पनि नहुने यस्तो पनि राजनीति हुन्छ ? किन एकाएक बहुमतीय प्रक्रियाबाट संविधान जारी गरियो ? आखिर बहुमतीयमै ल्याउने भए विगतका ४ बर्ष किन सहमतिको बाहनामा खेर गयो ? सबैले एकपटक सोच्न जरुरी छ । यो राम्रो कुरो हैन । नियम सबैका लागि एक हुनुपर्छ । त्यो नभएकै कारण जसको हतमा लाठी, उसकै भैंसी भनेजस्तो भएको छ ।

तराईबासी सबै नेपालीहरु हुन् । उनीहरुले ५ महिना नाकाबन्दी गरे, त्यो राम्रो पक्ष कदापि हैन । तर, आज आएर फेरि केन्द्रीय स्तरको आन्दोलन नाम गरेर आन्दोलन गरिरहेका छन् । यो पनि राम्रो पक्ष हैन । किन आन्दोलन ? केका लागि आन्दोलन ? यदि उनीहरु पनि त्यो संविधानरुपी दस्तावेजमा समावेश भएको भए सहमति लिएर गरिएको भए संविधानका नाममा यत्रा मान्छे मर्ने पनि थिएनन् । हामीलाई ७ प्रदेशको अलावा ६ प्रदेश, त्यसको साटो ५ प्रदेश, नभए ८ प्रदेश भएको भए हाम्रो के पहाड त झर्ने थिएन होला ? यो सबै राजनीतिक दलको स्वार्थको लडाइँ भन्दा अरु केही हुन सक्दैन । कसको चुनावक्षेत्र कसरी बिग्रन्छ र कसकोमा सप्रन्छ, त्यसको लडाइँ हो । जसरी यस्तो अवस्थामा देश पुगेको छ, यो अत्यन्तै नराम्रो परिपाटीले पुगेको छ । नेपाली-नेपाली वीचमा यस्ता कामहरु भएका छन् , यसले कसैको भलो गर्नेवाला छैन ।

भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दी नेपाल र नेपालीका लागि अभिशाप हैन, बरदान हो । एउटा राष्ट्रको अखण्डता, स्वाभिमानका लागि धेरै कुरा सिक्नुपर्छ भने राष्ट्रमा भएका राजनीतिक दलहरुले जे गल्ती गरिरहेका छन्, त्यसलाई औंला उठाउन पनि सबै जुट्ने मौका हो यो । हामीलाई नाकाबन्दीले बिगारेको छैन स्वावलम्बनका लागि ठूलो पाठ सिकाएको छ । यो कुरा मैले विगतदेखि नै उठाउँदै आएको थिएँ ।

वर्तमान सरकारलाई हावाको सरकार, केपी ओलीले बोलेका कुरा हावाको गफ, हावादारी भन्ने जुन अभिव्यक्ति मैले सुनिरहेको छु, यो फेरि केपी ओलीलाई गिराएर अरु कोही प्रधानमन्त्री हुने दाउ बाहेक केही हुन सक्दैन । गोटी चालेरै देश र जनतालाई सधै रनभुल्ल पार्ने उनीहरुले जे गरे पनि नेपाली जनतालाई सहन बाध्य बनाउने दिन कहिलेसम्म आउँछ, म भन्न सक्दिँन । तर, यसको विरुद्ध एक दिन जनता अवश्य उठ्नेछन् ।

मैले कुनै समय बंगलादेशमा भनेको थिएँ, त्यस्तै भयो । १९७० मा जनता उठेका थिए, उनीहरुले १९७२ मा बंगलादेशलाई स्वतन्त्र बनाएर देखाए । यो उपमा हो, तर हामी आफैं स्वतन्त्र राष्ट्र भएकाले आजसम्म कसैले चाहेर पनि पराधीन बनाउन सकेनन् । तर, जो जति राष्ट्रका तत्वहरु छन्, जसले राष्ट्रलाई नै ध्वंस गर्ने दिशातर्फ लगिरहेका छन्, उनीहरुलाई कसैले माफी दिने छैनन् ।

डा. भोला रिजाल
डा. भोला रिजाल

त्यसैले प्रधानमन्त्रीले आफुसँग भएको भिजन बाँड्दा कसरी ऊ हावादारी र असफल हुन्छ ? यसको जवाफ कसैसँग छ ? विकास त्यहीँबाट सुरु हुन्छ, जसले सपनालाई विपनामा बदल्न खोज्छ । जसले सपना देख्दैन, सपनालाई विपनामा परिणत गर्न चाहँदैन र सपना देखे पनि त्यसलाई केलाउने प्रयत्न जसले गर्दैन, त्यो मान्छे मूर्खशिवाय केही हुन सक्दैन ।

आजसम्म अरुले यस्ता सपना किन देख्न सकेनन् ? आज केपी ओलीले देखेको सपना वा भिजनलाई हावादारी वा चुट्किला, भन्न मिल्छजस्तो मलाई लाग्दैन । त्यसकारण भोलिका दिनमा हामी विकास साँच्चै चाहान्छौ भने ५ वर्ष केपी ओलीलाई सत्ता सञ्चालन गर्न छोडौं र हेरौं , उहाँले गर्न सक्नु हुन्छ कि हुन्न । तर, विडम्बना विकासको योजना जनतामाझ लान सुरु गर्दै सरकार ढाल्ने गोटी चाल सुरु भैसेको छ ।

ओलीका कुरालाई हावादारीको संज्ञा दिने राजनीतिक दलहरुको परिपाटी अति नै निन्दनीय विषय हो । यसले समग्र देश र जनतालाई नै घात गर्दछ । हामीले यस्तो बेला ओलीको योजनालाई जस्तो रेल ल्याउने कुरा, फास्ट््र याकको कल्पना, ग्यास वितरण किन सम्भव हुँदैन ।

हामीले पनि हस्पिटलमा पाइपलाइनको माध्यमबाट ग्यास दिएका छौं । नेपालमा पानीजहाज किन नचल्ने ? खाल्डो खनेर मात्रै सागर हुन्छ र ? बाहिर रहेका पानीजहाजमा नेपाली झण्डा बोकेर किन हिँड्न सकिँदैन ?

बिजुलीबत्ती र पानीको कुरा किन हुन सक्दैन ? यस्ता विषय असम्भव छैनन् । राजनीतिक दलहरुमा हिम्मत र साहस छ भने दिउँ केपी ओलीलाई पाँच बर्ष नेतृत्व गर्न । हिम्मत छैन भने पनि ३ बर्ष दिऊँ । केपी ओलीले जे पनि गर्न सक्छन् । म लेखेर दिन सक्छु । तर, सत्ता दिन खुट्टा कमाउनेहरुले लाग्छ, देश विकासमै बाधा पुर्‍याइरहेका छन् । अरुले नगरेको वा नदेखेको कुरा केपीले देखे त उनले के बिगारे । अरुले उनले देखेजति पनि सपना नदेख्ने देख्नेलाई पनि अनावश्यक अपमान गर्ने ?

फेरि सबैको सहमतीय सरकार, राष्ट्रिय भागबण्डा, जसले गर्दा देश कहिल्यै पनि उन्नतिमा लाग्दैन । यो सतिको सराप परेको हो र त्यसलाई शिद्ध गर्ने भए अहिलेको सरकार ढाल्नुपर्छ, हैन भने यो सरकारलाई पाँच वर्ष काम गर्ने मौका दिनुपर्छ नेपालको भविश्य उज्वल छ । र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment