Comments Add Comment

एभरेष्ट म्याराथनको उपाधि सेनाका बेदबहादुर सुनुवारलाई

Bed-Bahadur-Sunuwar

१६ जेठ, काठमाडौं । १४औं तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि नेपाल आर्मीका बेदबहादुर सुनुवारले जितेका छन् ।

नेपाल र बेलायतबीचको दौत्य सम्बन्धको २०० बर्ष पुगेको अवसरमा समर्पित गरिएको यस संस्करणमा ४ घण्टा १० सेकेण्डमा ४२.१९५ किलोमिटरको निर्धारित दूरी पूरा गर्दै बेदबहादुरले उपाधिसहित १ लाख पुरस्कार जितेका हुन् ।

समुद्र सहतदेखि ५३६४ मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविरबाट सुरु भएको म्याराथन ३४४६ मिटर उचाईको नाम्चे बजारमा आएर सम्पन्न भएको थियो । म्याराथनमा नेपाल आर्मीकै भीमबहादुर गुरुङले ४ घण्टा ३ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो भ एभने सुमन कुलुङले ४ घण्टा ११ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमसः ७५ हजार र ५० हजार पुरस्कार पाए ।

एभरेष्ट म्याराथन अन्तर्गत पाँच स्पर्धामा धावकहरु सहभागी थिए । बिदेशी खुल्ला म्याराथन, नेपाली पुरुष र महिला खुल्ला म्याराथन, हाफ म्याराथन र अल्ट्रा म्याराथनको स्पर्धामा धावकहरुको सहभागिता थियो ।

बिदेशी खुल्ला म्याराथनमा पोल्याण्डका रोवर्ट सेलेन्स्कीले निर्धारित दूरी ४ घण्टा २४ मिनेट ८ सेकेण्डमा दूरी पूरा गरी उपाधि जिते । यस स्पर्धामा फ्रान्सका फाब्रिस काह दोस्रो र अमेरिकाका जोसेफ वाइने तेस्रो भए । उपाधि बिजेता सेलेन्स्कीले ७५ हजार पुरस्कार पाए भने दोस्रो र तेस्रो हुनेले क्रमसः ३५ र २५ हजार पुरस्कार पाए ।

Purnimaya-Rai

महिला म्याराथनको उपाधि पुर्णिमाया राईले जित्न सफल भइन् । उनले निर्धारित दूरी ५ घण्टा २४ सेकेण्डमा पूरा गरेकी थिइन् । त्यस्तै निर्कला कुलुङ र पासाङ डोल्मा शेरपा क्रमसः दोस्रो र तेस्रो भए । उपाधि बिजेता राईले ७५ हजार पुरस्कार पाइन् भने दोस्रो र तेस्रो हुनेले क्रमसः ३५ हजार र २५ हजार पुरस्कार पाए ।

यता अल्ट्रा म्याराथनको उपाधिमा पनि नेपाल आर्मीकै धावकहरुको बर्चश्व रहृयो । ६० मिलोमिटरको निर्धारित दूरी ६ घण्टा ३६ मिनेट १३ सेकेण्डमा पूरा गर्दै आर्मीका तिर्थबहादुर तामाङले उपाधि जिते । यस स्पर्धामा आर्मीकै धावक पुर्ण तामाङ दोस्रो र डिवी कुलुङ तेस्रो भए । उपाधि बिजेता तिर्थ तामाङले १ लाख तथा दोस्रो र तेस्रो हुनेले क्रमसः ७५ हजार र ५० हजार पुरस्कार पाए ।

यता हाफ म्याराथन तर्फ शीर्ष तीनै स्थानमा बिदेशी धावकहरुको कब्जा रहृयो । निर्धारित दूरी ३ घण्टा ३० मिनेट १३ सेकेण्डमा पूरा गर्दै नेदरल्याण्डस्का तेञ्जिङ डोल्माज पहिलो भए । अष्टे्रलियाका डोमिनिक होप्किन्स दोस्रो र भारतकी रोशनी राय तेस्रो भइन् । उनीहरुले क्रमसः ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार पाए ।

प्रतियोगितामा १७१ धावकहरुले सहभागीता जनाएका थिए । जसमध्ये ३७ नेपाली, २२ बेलायती, १९ चीनियाँ र १७ अमेरिकी धावकहरुको सहभागिता थियो । त्यस्तै अष्ट्रेलिया र भारतका १४/१४, पोल्याण्डका ९, जर्मनका ७, जापानका ६, न्युजिल्याण्डका ५, नेदरल्याण्ड्सका ४ र अष्ट्रियाका ३ धावकहरु सहभागी थिए । स्लोभाकिया, सिंगापुर, चिली, रशिया लगायतका मुलुकबाट पनि धावकहरुको सहभागिता थियो ।

तस्वीरः पिजे क्लव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment