Comments Add Comment

कोकिन तस्करीमा एकपछि अर्का चिनियाँ पक्राउ

चिनियाँ दूतावाससँग समन्वय गर्नेछौं- प्रहरी

Kokin-taskar

१६ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर हुँदै हङकङ जान लागेका एक चिनियाँ नागरिक तिन किलो एक सय ७७ ग्राम कोकिनसहित पक्राउ परेका छन् ।

मलेसियन एयरबाट उड्न लागेका चुन म्यान हुलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।  पक्राउ परेका उनलाई मे १८ मा नेपाल आएकी एक बोलेभियाकी महिलाले उक्त कोकिन दिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार ती महिलाले २६ मेमा मात्रै चिनियाँ नागरिक हुलाई कोकिन दिएकी थिइन् । कोकिन लिएर मलेसिया हुँदै हङकङ जान लागेका हो पक्राउ परे पनि बोलेभियाकी महिला भने उम्किन सफल भएकी छिन् ।

नेपालमा पछिल्लो समय हप्तैपिच्छे लागूऔषध कोकिन बरामद हुन थालेको छ । एक सातामै करिब ६ किलो कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोलाई सफलतासँगै चुनौति पनि थपिएको छ ।

२०६८ सालमा लागुऔषध नियन्त्रण ब्युरोले पहिलोपटक नेपालमा अवैध लागुऔषध कोकिन बरामद गरेको थियो । मलेसियन महिला मिरिनाले टुनाफिस माछाको डिब्बमा ल्याएको १ किलो कोकिन पहिलोपटक बरामद भएको थियो ।

पटक-पटकका भरिया नेपालमा पक्राउ

हु गत फेबु्रअरी ६ मा पहिलोपटक हङकङबाट दुवई पुगेका थिए । एक साता दुवइ बसेका उनले त्यहीँबाट अपि|mकन मुलका व्यक्तिसँग कोकिन लिएर हङकङ पुगेका थिए ।

त्यसपछि पनि हङकङबाट दुवई पुगेका उनले पुरानै व्यक्तिबाट कोकिन लिएर हङकङ नै पुर्‍याएका थिए । तेस्रोपटक कोकिन तस्करले नेपाल रुट प्रयोग गरेर कोकिन बोक्न लगाउँदा उनी पक्राउ परेका छन् ।

नेपालबाट मलेसियाको रुट प्रयोग गरेर हङकङ जान लागेका चुन म्यान नेपालमा पक्राउ परे पनि उनी हङकङबाटै परिचालित भएको ब्युरोका डिआइजी चन्द बताउँछन् । विभिन्न देशबाट लागुऔषध बोकेर उनले हङकङको युनाल भन्ने स्थानमा रहेका चिनियाँ कारोवारी साम भन्ने व्यक्तिलाई लगेर सुम्पिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

हुले एकपटक कोकिन बोकेबापत ३० हजार देखि ६० हजार हङकङ डलरसम्म लिने गरेको बताएका छन् । उनी दोस्रोपटक नेपाल आएका हुन् । पहिलो पटक २०१५ नेपाल आएको देखिए पनि केका लागि आएका थिए भन्ने खुल्न सकेको छैन । त्यसो त दुवैपटक उनी जापानबाट नेपाल आएका छन् ।

पहिलो पटक आउँदा नेपालबाट दुवई पुगेका थिए । हुले विगतमा पनि नेपालबाट कोकिन आसार्ने गरेका थिए कि रुट मात्रै चेक गरेका थिए भन्ने ब्युरोले अनुसन्धान गरिरहेको छ ।

नेपालबाट कोकिन बोक्न चिनियाँ भरिया

एक साताअघि करिब साँढे दुइ किलो कोकिनसहित भेनेजुयलाकी महिला पक्राउ परेकी थिइन् । ती महिलासँगै अन्य तीन देशका सदस्यहरु पक्राउ परेका थिए, जसमा नाइजेरियन, भारतीय र एक चिनीयाँ महिला पनि थिइन् ।

भेनेजुयलाकी महिलाले ल्याएको कोकीन बोक्न नाइजेरियन कारोवारीले भारतीयसँगै चिनियाँ महिला दोङदोङ पनि परिचालन गरेका थिए । चीनमै करिब ३ वर्ष अगाडी भेट भएका नाइजेरियनले आफुलाई कोकिन बोक्न नेपाल पठाएको प्रहरीसँगको बयानमा दोङदोङले बताएकी छिन् ।

आइतबार पक्राउ परेका चुन हवाइ मार्गबाट हङकङ जान लागेका थिए भने दोङदोङलाई स्थलमार्ग अर्थात केरुङ नाकाबाट ल्हासा हुँदै जान भनिएको थियो । दुवै जनालाई परिचालन गर्ने एजेन्ट फरक-फरक देखिए पनि र्‍याकेट एउटै हुन सक्ने ब्युरोको दावी छ ।

चिनियाँ प्रयोग हुनु चुनौतिपूर्ण: एसएसपी केसी

कोकिन तस्करी गर्ने अफ्रिकनहरुले नेपालको रुटमा चिनियाँ भरिया प्रयोग गर्न थालेपछि नेपालमाथि चुनौति थपिएको ब्युरोका एसएसपी गणेश केसी बताउँछन् ।उनी भन्छन्, ‘कोकिन तस्करहरुले भारत, पाकिस्तान, बंगलादेश लगाएतका रुट पनि प्रयोग गर्छन्, तर नेपालको रुटमा चिनियाँ प्रयोग गर्नु हाम्रो लागि थप चुनौति हो ।’

विगतमा केहि देशका नागरिक, सिमित एयरलाइन्सलाई निगरानीमा राख्ने गरेको ब्युरोलाई लागुऔषधमा चिनियाँ नागरिकहरुको सक्रियता थप टाउको दुखाइ बन्न थालेको छ ।

यसमा ब्युरोले नेपालस्थित चिनियाँ दुतावाससँग पनि समन्वय गर्ने एसएसपी केसी बताउँछन् । ‘लागुऔषधमा चिनियाँहरुको प्रयोग बढेकोप्रति दुतावासको चासो पनि हुन्छ र हामी पनि समन्वय गर्छौं,’ एसएसपी केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment