Comments Add Comment

प्रधानमन्त्री मोडेलको घरको जग नै गायब !

KP Oli१७ जेठ, काठमाडौं । २०७२ वैशाख १२ गते ११:५६ बजे गएको विनाशकारी भूकम्पले शरवे तामाङको घर ढाल्यो। २०७३ वैशाख १२ गते ११:५६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केको त्यही घरको भग्नावशेष पन्छाएर पुनर्निर्माणको शिलान्यास गरे।

निकै ठूलो तामझामसहित प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटा र पूर्वमन्त्री अमृतकुमार बोहोरा पुगेर शिलान्यास गरेको ३३ दिनपछि शरवेका घरमा पुग्दा शिलान्यासका क्रममा राखिएका पाँचवटा इँटामध्ये एउटामात्र भेटियो, अरूको केही निसाना फेला नपरेको अाजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

घर पुनर्निर्माणका लागि जग खनेको ठाउँ पुरेर शरवेले त्रिपाल टाँगी दुई छोरालाई सुत्ने ठाउँ बनाइदिएका छन्। ‘बच्चालाई सुत्नका लागि जग खनेको ठाउँ छोपेर ओछ्यान बनाएको छु,’ शरवेले भने। त्रिपाल उठाएर छोपेको ठाउँमा हेर्दा जग खनेको निसाना पनि भेटिएन।

सरकारले टेन्टमुनि बसिरहेकाहरूलाई वर्षातगाडि नै टिनको छानामुनि ल्याउने घोषणा गर्दै आएको छ तर टेन्ट निकालेर घर बनाउन खनिएको जग पुरेर शरवेले फेरि टेन्ट ठड्याएका छन्।

सरकारले दिने दुई लाख रुपैयाँको अनुदान सम्झौता गर्दा ढलान गरेर दुई तलाको घर बनाउने भनिएको थियो। पाँच आना जमिनमा घर बनाउने योजनामा रहेका शरवेलाई एक साताअगाडि बैंकमा अनुदानको पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँँ चौतारा नगरपालिकाले पठाइदिएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो घरको शिलान्यास गर्दा एक वर्षदेखि टिन र टेन्टमुनि बस्दै आएका शरवे र उनकी पत्नी सरिता तामाङ पक्की घरमा बस्न पाइनेमा निकै उत्साहित थिए। उनीहरुको त्यो उत्साह अहिले पूरै निराशामा बदलिएको छ। ‘५० हजार रुपैयाँले ५० जना ज्यामी आउँदैनन् कसरी घर बनाउनु ?

मैले त्यो पैसा पनि निकालेको छैन,’ शरवेले भने, ‘मैले मेरो घरमा आएर प्रधानमन्त्रीलाई शिलान्यास गरिदिनुस् भनेको होइन, जहिले सक्छु त्यही बेला घर बनाउँछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment