Comments Add Comment

मनोमानी शुल्क लिने विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन

मन्त्री पोख्रेलले भन्छन्- अनधिकृत पुस्तक पनि जफत गर्नुस्

Giriraj-Mani-Pokharel१७ जेठ, काठमाडौं । सरकारले तोकेको शुल्क निर्धारण निर्देशिका लागु नगर्ने विद्यालयहरुलाई कारबाही गर्न र अनुमति नलिई प्रकाशित प्याब्सनका पुस्तकहरु जफत गर्न शिक्षा मन्त्रालयले शिक्षा विभागलाई निर्देशन दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा विभागका महानिर्देशक खगराज बराललाई सोमबार टेलिफोन गरी तत्काल बैठक बसेर कारबाहीको निर्णय गर्न निर्देशन दिएका हुन् ।

‘शुल्क निर्धारण निर्देशिका नमान्ने विद्यालयहरुलाई व्यवहारमा देखिने गरी आजै कारबाही गर्नुस्,’ मन्त्री पोख्रेलले शिक्षा विभाग प्रमुख बराललाई निर्देशन दिएको कुरा उद्धृत गर्दै मन्त्रालय स्रोतले अनलाइनखबरलाई भन्यो ।

मन्त्रीको निर्देशनअनुसार सोमबारै बिभागको बोर्ड बैठक बस्न लागेको स्रोतले बतायो । महानिर्देशक बरालले अनलाइनखबरसँग भने, ‘हामी नियमित बैठक बस्छौं । विधि विधान नमान्नेहरुलाई कारबाही हुने कुरा त स्वाभाविक हो नि ।’

शुल्क निर्धारण मापदण्ड अधिकांश निजी विद्यालयहरुले कार्यान्वयन गरेका छैनन् । नयाँ शैक्षिकसत्रमा निजी विद्यालयहरुले विद्यार्थी र तिनका अभिभावकहरुबाट मनोमानी शुल्क लिइरहेको पाइएको छ । छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नगरेको लगायतका आरोप पनि निजी विद्यालयहरुमाथि लाग्ने गरेको छ ।
 
पुस्तकहरु जफत गर्न निर्देशन

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गैरकानुनीरुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको भन्दै मन्त्री पोख्रेलले ती पुस्तकहरु पनि जफत गर्न निर्देशन दिएका छन् ।

प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिविना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरेको थियो । ती पुस्तकमा ‘पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत’ भनेर लेखिएको छ । तर, केन्द्रका अधिकारीहरुले ती पुस्तकलाई स्वीकृति नदिइएको बताउँदै आएका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले यस अघि ‘प्याब्सन साइन्स’ पुस्तकहरुका केही प्रतिहरु शिक्षामन्त्री पोख्रेललाई बुझाउँदै कारबाही गर्न ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment