Comments Add Comment

मन्त्रीले पनि बाँड्न थाले सपना, सिचाईंमन्त्री भन्छन्ः अब खेतखेतमा सोलार प्यानल

Umesh-Yadav

१७ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली भविष्यका मीठा सपनाहरु जनतालाई बाँडेर एकैसाथ प्रशंसित र आलोचित छन् । अब प्रधानमन्त्रीको सिको गर्दै मन्त्रीहरुले पनि सपना बाँड्न थालेका छन् ।

प्रसंग हो, सिचाइँमन्त्री उमेशकुमार यादवको । उनले अब किसानका खेतमा सौर्य उर्जा जडान गरेर सिचाइँ सुविधा पुर्‍याउने सपना अघि सारेका छन् । उनको सपना पूरा भए किसानले सिँचाइका लागि डिजेल, पेट्रोल तथा बिजुलीको झन्झट लिनुपर्दैन ।

दैनिक लोडसेडिङको समस्या र पेट्रोलियम पदार्थको अभावले किसानलाई मर्का परेको विषयमा ध्यानाकर्षण भएपछि सिचाइँ मन्त्रीले नयाँ सोच अघि सारेका हुन् । मन्त्री यादवले यही चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिचाइँको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार सिचाइँ विभागमा आयोजित एक कार्यक्रममा उनले यस्तो निर्देशन दिएका थिए ।

नेपालमा सौर्य उर्जाबाट सिचाइँको सम्भावनाबारे विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘सौर्यबाट सिचाइँ हुने सम्भावना नेपालमा छ र त्यो नमूनाका रुपमा गरेर तपाईहरुले देखाइदिनुपर्छ । यो कार्यक्रमका लागि अर्को आर्थिक वर्ष नकुर्नुस् । भोलिदेखि नै यसको अध्ययन गरी नमूनाका रुपमा भए पनि काम सञ्चालन गर्नुस् ।’

मुलुकमा हाल झन्डै सात लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध छ । स्यालो र डिप ट्युबवेल जडान गर्ने लगायतको यो कार्यक्रमको कार्यान्वयन भएपछि सिँचाइ सुविधा पुग्ने जमिन झन्डै १० लाख हेक्टर पुग्ने मन्त्री यादवले दावी गरे ।

सोलार चोरी हुनसक्छ

सोलार प्यानल खेतमा लगाएपछि चोरी हुने सम्भावना बढी रहेको कुरा कर्मचारीहरुले उठाएपछि उनले भने, ‘चोरी हुन्छ भने हुन दिनुस् । त्यो पनि एउटा परीक्षण नै हुन्छ । चोरी हुन्छ भन्दै कार्यक्रम रोक्नुहुँदैन । प्रचारात्मक रुपमा भए पनि यसैपालिदेखि काम शुरु गरौं ।’

‘राष्ट्रको रक्षा गर्ने मधेसी जनताले सोलारको पनि रक्षा गर्न सक्छ,’ यादव भन्दै गए, ‘अब सोलार, दमकल, तार चोरी गर्ने जमान गइसक्यो । एकचोटि यो जडान गरेपछि सधैंका लागि ढुक्क हुन्छ ।’ मधेसका विभिन्न १० ठाउँमा नमूनाका लागि सौर्य उर्जाबाट पम्प जडान गर्न उनले निर्देशन दिए । त्यो सफल भयो भने आउने आर्थिक वर्षमा यसलाई देशभर लागु गर्ने मन्त्री यादवले जानकारी दिए ।

सरकारले बजेटमा पनि सिचाइँमा सौर्य उर्जाका लागि रकम व्यवस्था गरेको भन्दै विभागका प्रमुख रमानन्द यादवले कार्यक्रम कार्यान्वनय सम्भव रहेको बताए । ‘समृद्ध तराई मधेस सिचाइँ विशेष कार्यक्रम’ अन्तर्गत नै यसलाई पनि सञ्चालन गरिने बताउँदै उनले ३५ प्रतिशत बजेट सौर्य उर्जामा लगाउने जानकारी दिए ।

कार्यक्रममा बताइएअनुसार स्यालो ट्युवेलमा मेसिन जडान गरी सोलारबाट पानी तान्न सकिन्छ । यो प्रविधि भारतमा सञ्चालनमा आएको छ । एक दिनमा एक लाख ३० हजार लिटर पानी दिने प्रविधि शुरुमा खर्चालु भए पनि किसान त्यसबाट लाभान्वित हुने विश्वास वक्ताहरुले व्यक्त गरे । दुई हर्सपावर मेसिनका लागि सात लाख र पाँच हर्सपावर मेसिनका लागि १० देखि ११ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment