Comments Add Comment

यस्तो छ केडिया अपहरणकाण्डको अन्तरकथा

Suresh-kedia

१७ जेठ, काठमाडौं । गत बिहीबार साँझ करिब साढे पाँच बजे सुरेश केडिया आफ्ना व्यापारिक साथी परमात्मा साहको बारास्थित घरमा गएर फर्किएका थिए ।

केही वर्षदेखि परमात्माले उत्पादन गरेको गहुँ, मकै लगायतका खाद्यान्न खरिद गर्दै आएका केडिया तीन-चार दिनदेखि उनकै घरमा गैरहेका थिए । बिहीबार पनि केहीबेर साहको घरमा बसेर फर्किँदै गर्दा भारतीय अपहरणकारीले उनलाई अपहरण गरेका थिए ।

यसरी भयो अपहरण

वरियापुरबाट फर्किने क्रममा केडियाको ड्राइभर श्याम उनेश कानुले पसाह पुलमा बीआर ०५ ३२३९ नंम्बरको स्कार्पियो गाडी रोकिराखको देखे ।

पुलमा रोकिराखिएको गाडी केडिया भएतिर नै आयो । बाटो नै रोकेर ठोक्किएला झैं गरी भारतीय गाडी आफूतिर आइरहेको देखेपछि चालकले केडिया सवार गाडी रोक्न बाध्य भए । त्यसलगत्तै चालक कानु माथि गोली बर्सियो । उनी गोली लागेर घाइते भए । केही व्यक्तिहरु भारतीय नम्बरको स्कार्पियो गाडीबाट ओर्लिए र केडियालाई गाडीबाट थुतेर स्कार्पियोमा हालेर गए ।

गोली चलाएर मान्छे अपहरण गरेको देखेलगत्तै स्थानीयले ढुंगा पनि हानेका थिए । ढुंगाले गाडीका सिसाहरु पनि फुटे तर तिव्र गतिमा कुदेको गाडी रोकिएन बरु भारतीय सीमा क्षेत्रतर्फ अघि बढ्यो । केडियालाई अपहरण गरेर कुदेको गाडीको गति यति तीव्र थियो कि सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले समेत रोक्न सकेनन् । अन्ततः गाडी भारत छिर्‍यो ।

घटना भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विनोद शर्माको टोली अपहरणकारीको पिछा गर्दैगयो । हतियारसहित भारत प्रवेश गरेपछि डिएसपी शर्माले मोतिहारीका एसपी जितेन्द्र रानालाई घटनाबारे जानकारी गराए ।

अपहरणकारीले प्रयोग गरेको गाडीबारे नेपाल प्रहरीले नै भारतीय प्रहरीलाई जानकारी गराएका थिए । त्यही सूचनाको आधारमा भारतीय प्रहरीले अपहरणकारीले प्रयोग गरेको गाडीको खोजी गर्‍यो । मोतिहारी प्रहरीले मोतिहारीकै छतिवन भन्ने स्थानमा अपहरणकारीले प्रयोग गरेको स्कार्पियो गाडी ग्यारेजमा फेला पार्‍यो । त्यसकै आधारमा गरिएको अनुसन्धानबाट भारतीय प्रहरीले शुक्रबार ड्राइभरलाई पक्राउ गरेका थिए ।

जेल भित्रैबाट अपहरणको योजना

यता बिहीबार केडिया अपहरण भएको खबर पाएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट एसएसपी मनोज केसी र इन्सपेक्टर रुगम कुँबरको टोली पनि शुक्रबार बारा पुगेको थियो ।

सीआइबीको टोलीले घटनाको सूचना संकलन गरे । केडियाको गाडी चालक कानुले दिएको बयान र अन्य सूचनाको आधारमा सीआइबीको टोलीले स्थानीय प्रहरीको सहयोगमा दुई नेपालीलाई पनि पक्राउ गरेपछि केडिया अपहरणको कनेक्सन भारतीय जेलमा रहेका सिरियल किलर बब्लु दुबेसम्म जोडिएको खुलेको हो ।

सीआइबीले अपहरणकारीको बारेमा प्राप्त सूचना भारतीय प्रहरीलाई दियो । त्यसैको आधारमा कारबाही सुरु गरेको भारतीय प्रहरीले सुरुमै बब्लुको भाइलाई भारतमा पक्रन सफल भएको थियो । बब्लुको भाइ पक्राउ परेको थाहा पाएलगत्तै भारतीय प्रहरीबाट बँच्न अपहरणकारीहरु केडियालाई छाडेर फरार भएका थिए । केडियालाई अपहरणकारीले छाडेर भागेपछि भारतीय प्रहरीले मोतिहारीको कटवाबाट केडियाको उद्धार गरेको थियो ।

नेपालीकै सहयोगमा नेपालीको अपहरण

अपहरणको आरोपमा पक्राउ परेका बारा कवैका चञ्चल पाण्डे र इनरुवाका जियालाल प्रसाद यादवले नै केडियाको बारेमा बब्लुलाई सूचना दिएको खुलेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पाण्डे र यादवको विगत डेढ वर्षदेखि बब्लुसँग सम्बन्ध जोडिएको छ । उनीहरु बेला- बेलामा जेलमा रहेका बब्लुलाई भेट्न जाने गरेको पनि प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

पाण्डे र यादवले करिब १ महिना अघि केडियाको सूचना दिएपछि अपहरणको योजना बनेको थियो । एक महिनाको योजना पछि केडियाको अपहरण भएको अनुसन्धान संलग्न एक अधिकृतले बताए । उनले भने, ‘यादव र पाण्डेले नै केडियाको बारेमा रेकी गर्ने, कहाँ जान्छ कति बेला आउँछ ? लगायतका सूचना दिने गरेको खुलेको छ ।’

बब्लुले भाइको संयोजनमा चार जना भारतीय र पाँच जना नेपालीलाई केडियाको अपहरण गर्न खटाएका थिए । अपहरणमा संलग्न दुई भारतीय र दुई नेपाली पक्राउ परे पनि अन्य फरार छन् ।

नेपालले बुझाएको थियो बब्लुलाई

सिसुवाथान मोतिहारीका ३२ वर्षीय बब्लु दुवे भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए । अपहरण, हत्या, फिरौती असुली लगायतको धन्दामा सक्रिय दुबेको मोतिहारी र विहारमा आतंक थियो ।

भारतमा दुबेविरुद्ध ३६ जनाको हत्या गरेको आरोप छ । भारतीय प्रहरीका अनुसार ३६ जनामा ६ जनालाई दुबेले आफ्नै हातले मारेका छन् भने उनको समूहका मान्छेले ३० जनाको ज्यान लिएका थिए ।

तिनै कुख्यात अपहरणकारी र सिरियल किलर दुबे २०७० सालमा नेपाल छिरेका थिए । दुबे नेपाल छिरेको सूचना भारतीय प्रहरीले अञ्चल प्रहरी कार्यालय नारायणीका तत्कालीन एसएसपी सर्वेन्द्र खनाललाई दिएका थिए । तराइ क्षेत्रका जिल्लाहरुमा नेपाल प्रहरीले दुबेको खोजीलाई तिव्रता दियो तर, उनी प्रहरीको आँखा छल्दै राजधानी काठमाडौं छिरे ।

पिपुल्स रिभोलुसन आर्मीको नाममा आपराधीक गतिविधि चलाउँदै आएका दुबेलाई अन्ततः नारायणी अञ्चलका तत्कालीन एसएसपी सर्वेन्द्र खनाल आफैंले २०७० साल जेठ १३ गते राति १ बजे काठमाडौंको सितापाइलाबाट पक्राउ गरेका थिए । नेपाल-भारत सीमा क्षेत्रमा बसेर पनि अवैध असुलीको आतंक चलाइरहेका दुबे यसपटक भने जोगिन सकेनन् र नेपाल प्रहरीले दुबेलाई भारतको जिम्मा लगाइदियो ।

दुबे पक्राउ परे पनि हत्या, अपहरण, फिरौती असुलीको आतंक रोकिएन । आफू जेलमा बसे पनि उनले आफ्ना सहयोगीहरुलाई परिचालन गरिरहे । नेपाली उद्योगपति सुरेश केडियाको अपहरणमा संलग्न बब्लुका सहयोगीलाई भारतीय प्रहरीले पक्राउ गर्दा पाँच वटा मोबाइल सेट, नेपाली रुपैयाँ १ लाख ७३ हजार, भारतीय रुपैयाँ ६० हजार, पाँच वटा सीमकार्ड समेत बरामद भएको थियो ।

केडिया अपहरणले सिकाएको पाठ

बब्लुको समूहले भारतको पूर्वी चम्पारन, पश्चिम चम्पारन, मोतिहारी लगायत विभिन्न जिल्लामा अवैध असुली गरिरहेको छ । व्यापारी, डाक्टर, पछिल्लो समय प्रहरीका उच्च अधिकारी र सभासद बब्लुका समूहको निशानामा पर्ने गरेका थिए ।

आफ्नो धन्धा चलाउन उनी आठ महिनासम्म नेपालको पर्सा, चितवन, काठमाडौंलगायत स्थानमा सेल्टर जमाएर बसेका थिए । बब्लुका सहयोगीहरु नेपाली पनि रहेको त्यतिबेलै खुलेको थियो । तिनैहरुमध्येका हुन् केडिया अपहरणको आरोपमा पक्राउ परेका चञ्चल पाण्डे र जियालालप्रसाद यादव पनि ।

केडिया अपहरण भएको घटनाको अनुसन्धानमा सीआइबीको सूचना नै सबैभन्दा बलियो आधार बनेको थियो । सीआइबीले उपलब्ध गराएका सूचनाकै आधारमा भारतीय प्रहरीले केडियालाई सकुशल अपहरणमुक्त गराउन सफल भयो ।

तर, भारतबाट १४ किलोमिटर भित्र नेपाली भूमिमा हतियारसहित छिरेर व्यक्ति अपहरण गरेर फर्किँदा पनि पक्राउ गर्न नसक्नु सीमा सुरक्षामा कमजोरी देखिएको छ । ‘स्थानीय प्रहरी र भारतीय सुरक्षा निकायसँगको समन्वयमा केडियालाई अपहरण मुक्त गराइयो तर यो घटनाले सीमा सुरक्षा बलियो बनाउनुपर्ने पाठ पनि सिकाएको छ,’ डिआइजी सिलवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment