Comments Add Comment

भूकम्पको असरः एकतिहाई बालबालिका राम्ररी निदाउनै सक्दैनन्

३० प्रतिशत बालबालिका असुरक्षित भवनमाः अध्ययन

Lamgung One Year-After-a-Devastating-Earthquake (4)
१७ जेठ, काठमाडौं । भूकम्पप्रभावित क्षेत्रका ३० प्रतिशत बालबालिका अझै असुरक्षित भवनमा बस्न बाध्य रहेको एक तथ्यांक सार्वजनिक भएको छ । युनिसेफसहित विभिन्न संस्थाले गरेको एक अध्ययनले भूकम्प गएको एक वर्ष बित्दा पनि प्रभावित ३० प्रतिशत बालबालिका असुरक्षित भवनमा रहेको देखाएको हो ।

प्रभावित क्षेत्रका झण्डै ७ सय बालबालिकामाथि सर्वेक्षण गरिएको थियो । बालबालिकाहरुलाई चर्किएका र मनोवैज्ञानिक रुपमा त्रास उत्पन्न हुने भवनमै राखेर पढाइ भइरहेको अध्ययन प्रतिवेदनको दावी छ ।

‘भूकम्पपछिको एक वर्ष-बालबालिकाको आवाज र अधिकार’ नामक प्रतिवेदनमा प्रभावितमध्ये ६० प्रतिशत बालबालिकाले आफ्नो विद्यालयमा असुरक्षित महसुस गरेको उल्लेख छ ।

भूकम्पमा परी झण्डै ८ हजार विद्यालयका ३५ हजार कक्षा कोठामा क्षति पुगेको थियो । ‘असुरक्षित विद्यालयका ६० प्रतिशत बालबालिका आफू उत्तीर्ण हुन्छु भन्नेमा विश्वस्त हुन नसकेको अध्ययनमा भेटियो,’ अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

प्रतिवेदनमा अस्थायी टहरामा बसेर पढ्नेका लागि पनि पढ्ने वातावरण राम्रो नभएको जनाइएको छ । विशेष गरी अस्थायी संरचनामा बस्दा बालिकाहरुले धेरै समस्या भोग्नु परेको अध्ययनका क्रममा भेटिएको छ ।

‘हाम्रो टहराको झ्याल-ढोका खासै बलियो छैन,’ रसुवाकी एक किशोरीले भनेकी छन्, ‘हामी घरमै पनि धेरै असुरक्षित महसुस गर्छौं । मैले त्यस्ता (यौनहिंसाका) घटना रेडियोमा धेरै सुनेकी छु ।’

ठूलो आवाजसँग तर्सिन्छन्

Lamgung One Year-After-a-Devastating-Earthquake (13)भूकम्पको एक वर्ष बितेपनि ५० प्रतिशत बालबालिका ठूला आवाज आउनासाथ तर्सिने गरेको एकतिहाइ बालबालिका रातको समयमा राम्रोसँग निदाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

‘सपनामा पनि त्यस्तै देखिन्छ, गाडीको ठूलो आवाजले पनि डर लाग्छ,’ काभ्रेका एक बालकले अध्ययनकर्ताहरुसँग भनेका छन् ।

अहिले पनि धेरै बालबालिका विद्यालय जाँदा भूकम्प आएर पहिरो खस्ने डरमा रहेको अध्ययनले पत्ता लगाएको छ ।

प्रतिवेदनले प्रभावित शहरका भन्दा गाउँका बालबालिका निर्धक्क रहेको ठहर पनि गरेको छ । गाउँका बालकालिकामा भूकम्पको मनोवैज्ञानिक त्रास तुलनात्मकरुपमा कम देखिएको छ ।

अध्ययनका क्रममा ग्रामिण क्षेत्रका कतिपय बालबालिकाले पानीको मुहान सुक्दा दुःख पाएको बताएका छन् भने केहीले घरको ढोकाको चुकुल निकै माथि हुँदा राति भूकम्प आए ढोका खोलेर बाहिर भाग्न आफूलाई गाह्रो पर्ने सुनाएको युनिसेफले जनाएको छ ।

यस्तै अध्ययनमा सहभागि बालबालिकालाई भूकम्प कसरी आउँछ भन्ने ज्ञान नभएको पाइएको छ । उनीहरुले अध्ययनकर्तालाई प्रश्न गरेका थिए, ‘अब भूकम्प कहिले आउँछ ?’

यो अध्ययन युनिसेफसहित प्लान, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन लगायतका संस्थाले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment