Comments Add Comment

सगरमाथाको सफल आरोहण : पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश

everest

१७ जेठ, काठमाडौं । विगत दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण सफल रुपमा सम्पन्न भएको छ । चारसय भन्दा बढी आरोहीहरुले सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणले पर्वतारोहरण पर्यटनमा उत्साह थप्ने काम गरेको नेपाल माउन्टेनियरिङ एशोसियसन (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् ।

सगरमाथा आरोहण ११ दिनसम्म चलेको थियो । एकैदिन दुई सयभन्दा बढीले सगरमाथा आरोहण गर्न सफल भएका थिए । यसले पर्वतारोहरण पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गरेको अध्यक्ष शेर्पाले बताए ।

सन् २०१४ मा हुँदहुँद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो । त्यती बेला केही आरोही तथा गाइडहरुले ज्यानसमेत गुमाउनु परेको थियो । लगतार दुई वर्ष आरोहण रोकिँदा पर्वतारोहण पर्यटन संकटमा पर्ने हो कि भन्ने चिन्ता छाएको थियो ।

नेपालमा पर्यटनको व्यवसायीक सुरुवात पर्वतीय पर्यटनबाट भएको हो । अहिले पनि पर्वतीय पर्यटन नेपालको मूख्य प्रोडक्टका रुपमा रहेको छ । हिमाल आरोहणमा आउने पर्यटकहरु खर्चालु समेत हुने गर्छन् ।

‘यस पटक सोँचेभन्दा सहज रुपमा सगरमाथा अरोहण सम्पन्न भयो’ पर्यटन विभागका ज्ञानेन्द्र श्रेष्ठले भने- ‘यसले पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह भएको छ ।’

सगरमाथा आरोहणका क्रममा पाँच जना विदेशीले ज्यान गुमाएका छन् । अन्य आरोहीलाई सामान्य टाउको दुख्ने बाहेक केही नभएको श्रेष्ठको भनाई छ । ज्यान गुमाउनेमा ३ जना भारतीय, नेदरल्याण्ड र अष्ट्रेलियाका १/१ जना नागरिक रहेका छन् ।

सगरमाथा आरोहणमा सहभागी शेर्पा गाइडहरुले पनि अरोहण भव्य रुपमा सम्पन्न भएको बताएका छन् । ‘सगरमाथाको सफल आरोहणले हामी व्यवसायीलाई पनि ठूलो प्रोत्साहन मिलेको छ’ एनएमका अध्यक्ष शेर्पाले भने- ‘अरोहण सफल भएपछि विश्व पर्वतारोहण संघले समेत खुशी व्यक्त गरेको छ ।’

यो सफलताले पर्वतीय पर्यटनको विकास त हुने नै भयो । नेपालको पर्यटन विकासमा समेत सघाउ पुग्ने विश्वास लिइएको छ । सगरमाथाको सफल आरोहणले नेपालको पर्यटनलाई गति दिएको बताउँछन्, शेर्पा ।

सगरमाथाको सफल आरोहण सँगसँगै आगामी सिजनका लागि बुकिङ आउन थालेको अध्यक्ष शेर्पाले बताए । ‘अगामी सिजनका लागि आरोहीहरुबाट इन्क्वायरी आउने क्रम बढेको छ’ उनले भने- ‘यसले हामीलाई थप उत्साहित बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment