Comments Add Comment

उपप्रधानमन्त्री भन्छन्: बजेटबाट कांग्रेसले तोरीको फूल देख्यो

सरकार ढालेर अस्थिरता किन निम्त्याउने ?

१७ जेठ, काठमाडौं । उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले निर्वाचन क्षेत्र विकास कोषको रकम वृद्धिमा प्रतिपक्षी कांग्रेसका सांसदको समर्थन रहेको जिकिर गरेका छन् ।

Topbahadur-Rayamajhiअर्थमन्त्रीले सांसदलाई बजेट बढाएको घोषणा गरिरहँदा कांग्रेस सांसदहरुले पनि खुसी भएर ताली पिटेको बताए । ‘पार्टीले विरोध गरेर के गर्नु, बजेट पाएपछि सांसदहरु खुसी भएर ताली बजाइहाले,’ सोमबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै रायमाझीले भने-‘कांग्रेस पार्टीले विरोध गरेजस्तो गरे पनि सांसदहरु भने खुसी छन् ।’

सरकारले ल्याएको बजेटमा विरोध गर्ने ठाउँ नपाएपछि सूचना लिक भयो भनेर विरोध गर्न थालिएको उनले बताए । ‘बजेटमा भएका घोषणाको विरोध गर्दा अलोकपि्रय हुने डरले कांग्रेसले सूचना किन चुहियो भनेर विरोध गरेको छ,’ उपप्रधानमन्त्री रायमाझीले भने, ‘यसअघि चैं बजेटका समाचारहरु पत्रकारले पहिल्यै नलेखेका हुन् र ?’

सरकारले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट भएको उपप्रधानमन्त्री रायमाझीले दाबी गरे । ‘प्रत्येक सांसदलाई ५० लाख र निर्वाचित सांसदलाई ३ करोड दिएका छौं, वृद्धभत्ता बढाएर २ हजार पुर्‍याइएको छ, अन्य अनुदानका कार्यक्रम छन्’ उनले भने- ‘यो बजेटले सबैलाई खुसी बनाएको छ ।’

सरकारले लोकपि्रय बजेट ल्याएको देखेर विपक्षी कांग्रेसले तोरीको फुल देखेको उनले बताए । ‘कांग्रेस संसदीय दलमा भएको बैठकमा उपस्थितहरुले पूर्वअर्थमन्त्री डा. रामशरण महतजीलाई पोहोर नै सांसदको बजेट ३ करोड बनाइदिएको भए, वृद्धभत्ता २ हजार पुर्‍याएको भए अहिले यस्तो अवस्था आउने नै थिएन भनेर झपारेछन्,’ एमाओवादी नेता समेत रहेका रायमाझीले दाबी गरे, ‘त्यही भएर उहाँले विरोध गर्ने ठाउँ पाउनुभएन, अनि यो बजेट कार्यान्वयन हुँदैन भन्दै विरोध गरिरहनुभएको छ ।’

बजेट मेरा लागि गर्व

माओवादी पार्टीले बजेटमा एमालेले एकलौटी गर्‍यो भनिरहेका बेला मन्त्री रायमाझीले भने बजेटप्रति सन्तोष व्यक्त गरे ।

उनले उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनालाई बजेटले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे । ‘मैले अहोरात्र खटेर तयार पारेको उर्जासंकट निवारण तथा विद्युत विकास दशक मन्त्रिपरिषदले पारित मात्रै गरेन कि बजेटले सम्बोधन पनि गर्‍यो’ उनले भने- ‘यो मेरा लागि गर्वको कुरा हो । बजेटमा आएपछि त सरकारै परिवर्तन भए पनि केही छैन ।’

पूर्ण सन्तुष्टि कहिल्यै पनि हुन नसकिने उल्लेख गर्दै उनले अहिलेको बजेटबाट कोही पनि असन्तुष्टि हुनुपर्ने ठाउँ नरहेको बताए ।
मन्त्री रायमाझीले सत्तामा बसेरभन्दा सत्ता बाहिरै बसेर धेरै काम गर्न सकिने सुनाए । ‘कहिलेकाहीँ मलाई के लाग्छ भने सत्तामा बसेरभन्दा सत्ता बाहिर बसेर धेरै काम गर्न सकिँदो रहेछ,’ उनले भने- ‘मन्त्री हुँदा ७५ जिल्लाकै मन्त्री हुनुपर्‍यो । सांसद हुँदा त आफ्नै क्षेत्रको मात्रै कुरा लिएर हिँड्यो, बजेट पार्न नि सकिने ।’

सरकार ढाल्नु हुँदैन

नेपालमा विगतदेखि नै राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको उल्लेख गर्दै रायमाझीले कसैले पनि छिटोछिटो सत्ता ढाल्ने खेल खेल्न नहुने बताए । ‘मुलुकको विकास गर्न राजनीतिक र सरकारको स्थायित्व चाहिन्छ,’ उनले भने- ‘यो सरकार लामो समय रहन्छ वा रहन्न भन्नेतिर अहिले नै म जान्न चाहन्न । मेरो कुरा यत्तिमात्रै हो, चाँडो-चाँडो सरकार ढाल्ने गरिनु हुँदैन ।’

अब उर्जामा छलाङ

सार्क राष्ट्रमै नेपालमा सबैभन्दा पहिला उर्जा उत्पादन सुरु भएको भएपनि हाल नेपालको अवस्था निकै कमजोर रहेको उनले बताए । विगतमा पुरानै सोच र पुरानै संरचनाका कारण उर्जा क्षेत्रको विकास हुन नसकेको मन्त्री रायमाझीको ठम्याइ छ ।

आफुले तयार पारेको ९१ बुँदे कार्ययोजना कार्यान्वयनमा आएसँगै उर्जा क्षेत्रले छलाङ मार्ने उनले दाबी गरे । कार्ययोजना कार्यान्वयन भए १० वर्षमा १० हजार मेगावाट विद्युत निकाल्न कुनै कठिन नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment