Comments Add Comment

कर्मचारीमाथि प्रश्नः ३ खर्ब २८ अर्ब ५२ करोडको हिसाब खै ?

Beruju१७ जेठ, काठमाडौं । सरकारी कर्मचारीहरु देश र जनताप्रति कति उत्तरदायी छन् या छैनन् भन्ने कुरा बढ्दो भ्रष्टाचार एवं बेरुजुले छर्लङ्ग छर्लङ्ग पार्छ ।

एकातिर सरकारी कर्मचारीको तलब २५ प्रतिशतका दरले बढाएर राज्यले भार व्यहोरिरहेको छ, अर्कोतर्फ सरकारी कार्यालयहरुमा बेरुजु रकम पनि बढेको बढ्यै छ ।

सरकारले चालु आर्थिक वर्षसम्म नागरिकको करबाट खर्च गरेको रकममध्ये कुल ३ खर्ब २८ अर्ब ५२ करोडको हिसाब अहिलेसम्म देखाउन सकेको छैन ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार हरेक बर्ष राज्यकोषमा बेरुजु रकम थपिँदै गइरहेको छ । र, यसरी बेरुजु देखिनुमा कर्मचारीहरुकै मुख्य भूमिका रहने गरेको छ ।

बेरुजुको अर्थ पैसा खर्च भएको तर कहाँ र कुन आयोजनामा खर्च भएको हो भनेर हिसाब देखाउन नसकेको अवस्था हो । यस्तै खर्च भएर पनि त्यसको कानुनी प्रक्रिया बुझाउन नसकेको पैसालाई पनि बेरुजुमा राखिन्छ ।

राज्यले हिसाब देखाउन नसकेको ३ खर्ब २८ अर्व ५२ करोडलाई विद्युत उत्पादनमा खर्च गर्ने हो भने करिब २ हजार मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिन्छ । उक्त बिजुलीले तत्कालका लागि विद्युतको आधारभुत आवश्यकता धान्न सक्छ ।

गत आर्थिक वर्ष ०७१/७२ सम्म सरकारले राज्यकोषबाट खर्च भएको २ खर्ब ७३ अर्ब १२ करोडको हिसाब देखाउन सकेको थिएन । यसवीच प्रत्येक सचिव स्तरको बैठकमा बेरुजु फर्छयौटको निर्णय भएको थियो । तर, अहिले यस्तो रकम फर्छयौट हुनुभन्दा थप बढेर ३ खर्ब २८ अर्बमा उक्लिएको छ ।

‘कुल ३ खर्ब २८ अर्ब बेरुजुमध्ये सबै पैसा अनियमितता भएको हुँदैन’ ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष भरतबहादुर थापा भन्छन्, ‘हरेक बर्ष बेरुजु बढ्दै जानुले ठूलो आकारमा राज्यकोषमा हिनामिना भएको देखाउँछ ।’

गत वर्ष ट्रान्सपेरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको थियो । नेपालले सुशासनमा पाउने अंक घटेर २७ पुगेको छ ।

अर्थ मन्त्रालयले यस बर्ष मात्रै राज्यकोषको १ अर्ब ९१ करोड ९५ लाख रुपैँया हिनामिना गरेर व्यक्तिको गल्तीमा लगायो । फरक भन्सार दर लगाएर घटी महसुल असुल देखाउने, नपाउने वस्तुहरुमा छुट दिने र करोडौँको कारोबार गरेर पनि आय विवरण पेश नगरी राज्यकोष दुरुपयोग गरेको महालेखापरीक्षकले औँल्याएको छ ।

यो वर्ष भौतिक योजना मन्त्रालयले ४६ करोड ५ लाख रुपैँया हिनामिना गर्‍यो । नियमले पाउनेभन्दा बढी रकम भुक्तानी दियो, एउटै कामलाई दुईपटकसम्म भुक्तानी दिइयो । ‘यो सबै पैसा व्यक्तिको पोल्टामा गयो’ ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष थापा भन्छन्, ‘यस्तो अनियमिततामा कर्मचारीको मिलोमतो हुन्छ ।’

यसैगरी शहरी विकास मन्त्रालयले यस वर्ष ४४ करोड बराबरको रकम हिनामिना गर्‍यो । स्वास्थ्य मन्त्रालयले भ्रमण र आमा सुरक्षाका नाममा खर्च लेखेर करोडौँ पैसा राज्यकोषबाट लिएको छ । तर, करिब ४ महिनाअघि मुगुमा एक महिलाको सुत्केरी हुन नसकेर मृत्यु भयो । उनलाई थप उपचारका लागि नेपालगञ्ज वा राजधानी ल्याउन हवाइ लिफ्टीङका लागि पैसा नभएको जिल्ला जनस्वास्थ्य कार्यालय मुगुले बताएको थियो ।

विल भर्पाइभन्दा बढी खर्च लेखी नक्कली विल बनाएर यस वर्ष स्वास्थ्य मन्त्रालयले ३९ करोड अनियमित गरेको थियो । यसरी नै राज्यकोषको पैसामा कर्मचारीको हालिमुहाली बढिरहेको महालेखापरीक्षककै प्रतिबेदनले प्रष्ट रुपमा औँल्याएको छ ।

बक्यौता उस्तै

तीन खर्ब २८ अर्बको हिसाब देखाउन नसकेको सरकारले राज्यकोषमा जम्मा हुनुपर्ने १ खर्ब २८ अर्ब २३ करोड राजस्व असुल गर्न सकेको छैन । यो पैसा बक्यौता देखिएको छ, जसको हिसाब बुझाउने पनि तिनै कर्मचारीले हो ।

राजस्व असुलमा ढिलाइ गरे ६० प्रतिशत पैसा राज्यकोषबाट बाहिरिने सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापाको भनाइ छ ।

कर्मचारी सेवाग्राहीप्रति कति इमान्दार ?

राज्यकोषमा ३ खर्ब २८ अर्ब बेरुजु छ । त्यसको हिसाब देखाउने निजामति कर्मचारीले हो । बक्यौता रहेको १ खर्ब २८ अर्ब २३ करोड राजस्व असुल गर्ने पनि कर्मचारीले नै हो ।

विभिन्न २१ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सुस्त देखिएको छ । यी आयोजना जनताको समृद्धिसँग जोडिएका छन् । भलै केही विषय राजनीतिसँग जोडिए पनि कागजपत्र लुकाउने, अल्झाउने, ढिलाइ गर्ने, अनुगमन नगर्ने जस्ता काम कर्मचारीबाट भएका छन् ।

कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहार यस्तो भइसक्यो कि सरकारी कार्यालय पुग्नुपूर्व नै सेवाग्राहको टाउको दुःखिसकेको हुन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले गत वर्ष सार्वजनिक गरेको रिर्पोटले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । राष्ट्रसेवक कर्मचारीमात्रै इमान्दार भए ७० प्रतिशत भ्रष्टाचार न्यूनीकरण हुने ट्रान्सपेरेन्सी इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ ।

सरकारी सेवा गुणस्तर नभएको कर्मचारीहरु नै स्वीकार्छन् । यसले गर्दा राष्ट्रसेवकमाथि समाजमा हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ ।

सरकारले तलब बढाएकोमा खुशी देखिएका कर्मचारीहरुले आफ्नो कार्यालयको बेरुजु फछ्र्यौटतिर पनि ध्यान दिने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment