Comments Add Comment

सन्देशले माओवादी केन्द्र छाडे, बलराम पनि छाड्न तयार

पालुङटारतिर फर्किन दीपशिखाको सुझाव

Balaram-and-Sandesh
बलराम तिमल्सिना र सन्देश पौडेल

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्देश पौडेलले माओवादी समूहबीच एकता भएको दुई दिनपछि पार्टी परित्याग गरेको घोषणा गरे । त्यसको एक साता नबित्दै अर्का केन्द्रीय सदस्य बलराम तिमल्सिनाले पनि केन्द्रीय समिति छाड्न तयार भएको घोषणा गरेका छन् ।

यी दुई प्रतिनिधि पात्र मात्रै हुन् । माओवादीमा यतिबेला चरम असन्तुष्टिका कारण पार्टी परित्यागको घोषणा गर्ने वा निष्कृय बस्नेहरुको संख्या थपिँदै गएको छ ।

विगतमा सँगै जनयुद्ध लडेर विभिन्न कालखण्डमा बिभाजित माओवादी पार्टी वा समूहहरुबीच एकता भए पनि नेता-कार्यकर्ताहरुमा खासै उत्साह देखिएको छैन । यसो हुनुको मुख्य कारण भद्दा पार्टी संरचना र पार्टीको अस्पष्ट नीतिलाई लिइएको छ ।

चितवनका पौडेलले पार्टी छाड्नुको कारणबारे बताउँदै भनेका छन्- ‘राजनीतिक, सांगठनिक, कार्ययोजना र कार्यशैलीका हिसाबले अन्ततः संसदवादको बाटोमा नै अगाडि बढ्यो । त्यसैले यस पार्टीमार्फत नेपाली जनताको मुक्तिका लागि थप योगदान दिने सम्भावना अन्त्य भएको महसुस गरी आजकै मितिदेखि यो पार्टी छोडेको छु ।’

पार्टीलाई शुद्धीकरण गरी सानो र चुस्त आकारको कमिटी बनाउने शीर्ष नेताहरुले भन्दै आए पनि व्यवहार भने त्यसको विपरीत देखिएको छ । हाल माओवादी केन्द्रमा ‘अपहरणकारी’, ‘यौन दुराचारी’ र निकै कनिष्ठ व्यक्तिहरुलाई समेत केन्द्रीय सदस्य बनाइएको छ ।

गत जेठ १० गते १० वटा माओवादी समूहबीच एकतापछि ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । यसलाई पनि बढाएर एक हजार सदस्यीय बनाउने तयारी शीर्ष नेताहरुले गरेपछि पार्टीभित्र असन्तुष्टि थप चुलिएको छ ।

साँस्कृतिक विभागमा लामो समयसम्म काम गरेका बलराम तिमल्सिनाले आफूभन्दा पुराना, अनुभवी र योग्यहरुलाई केन्द्रीय सदस्य बनाउने सर्तमा आफू केन्द्रीय सदस्य परित्याग गर्न तयार रहेको बताएका छन् । पार्टीमा सन्तुलन मिलाउने नाममा भद्दा आकारको समिति बनाउनु घातक हुने उनले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘केही नमिठो बोलौं एकताको भावनामा ठेस पुग्ला भन्ने डर, नबोली बसौं उकुसमुकुस भैसकियो । यो हजार, डेढ हजार वा ढाई हजारको केन्द्रीय समिति हुँदै हुँदैन । यो भिडभाडले हामीलाई खान्छ । म केन्द्रीय समिति परित्याग गर्न तयार छु, मभन्दा पुराना अनुभवी र योग्यहरूको केन्द्रीय सदस्य बन्ने सर्तमा ।’

अहिले भनिएका केन्द्रीय सदस्यहरु ‘सिम्बोलिक’ मात्र भएको टिप्पणीसमेत उनले गरेका छन् । त्यसैले केन्द्रीय  सदस्य बन्न तँछाडमछाड गर्न नहुने उनको धारणा छ । ‘जति ठूलो बनाउन खोज्यो त्यति सन्तुलन भत्कन्छ । बेलैमा बिचार गरौं । नत्र हामीहरू बिचार गर्छौं,’ तिमल्सिनाले फेसबुकमा लेखेका छन् ।

सहिद परिवारसमेत रहेका तिमल्सिना पूर्वएमाओवादीका केन्द्रीय समिति सदस्य हुन् । उनी माओवादीभित्र अग्रज सांस्कृतिककर्मी र आदर्शका पात्र पनि मानिन्छन् ।

पालुङटारतिर फर्किन दीपशिखाको सुझाव

dipshikhaखासगरी नयाँ जोश जाँगर भएका युवा नेता-कार्यकर्ताहरु पार्टीभित्रको भद्रगोलबाट असन्तुष्ट छन् । वाइसिएलका महासचिव एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अब पालुङटार फर्किनुको विकल्प नभएको बताएका छन् ।

‘पालुङ्टार फर्किनु वा अन्य त्यस्तै सानो कमिटी बनाउने विकल्प नखोजी सुखै छैन । हजार बनाएपछि अर्को असन्तुलन आउँछ,’ उनले भने, ‘हामीलाई पद चाहिएको होइन, एउटा चुस्त पार्टी चाहिएको हो ।’

गोर्खाको पालुङटारमा बसेको बहुचर्चित माओवादी विस्तारित बैठकले विद्रोहमा जाने कि शान्ति र संविधानको कार्यदिशा अंगाल्ने भन्ने ढुलमुले नीतिको बीचबाट स्पष्ट कार्यदिशा (संविधान निर्माणको बाटो) रोजेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment