Comments Add Comment

‘७० प्रतिशत पूर्व लडाकू अझै राजनीतिक हिंसाको सम्भावना देख्छन्’

Ex Ladaku Report

१८ जेठ, काठमाडौं । स्वेच्छिक अवकासमा गएका र अयोग्य भन्दै निकालिएका पूर्व माओवादी लडाकूहरु के सोच्दै होलान् ?

धेरैका सहज अनुमान छ कि स्वेच्छिक अवकासमा गएकाले राम्रै पैसा लिएका थिए । अयोग्य भन्दै निकालिएकाले पनि अब २ लाख पाउने भए । उनीहरु आफ्नै संसारमा रमाइरहेका होलान् ।

तर, मंगलबार एउटा रिपोर्ट सार्वजनिक भएको छ, यसले पूर्व लडाकूहरुको भावी राजनीतिक हिंसाबारे पनि सोच्छन् भन्ने देखाएको छ । र, यस्तो सोच राख्ने पूर्व लडाकूहरुको संख्या निकै ठूलो छ ।

बेर्गोफ फाउण्डेशन र द युनिभर्सिटी अफ योर्कलेले पूर्व लडाकूहरुबारे ‘गरिबी, लाञ्छना र अलगाव’ शीर्षकमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । र, त्यसमा भनिएको छ, ‘भविश्यमा राजनीतिक हिंसा हुने सम्भावना कत्तिको देख्नुहुन्छ भनेर सोधिएको प्रश्नमा ७० प्रतिशतले सकारात्मक उत्तर दिए ।’

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै फाउण्डेशनका साइमन रविन्सले पूर्व लडाकुहरु आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर हुँदा फेरि बन्दुक उठ्न सक्नेमा विश्वस्त देखिएको बताए ।

अध्ययन टोलीसँग कैलालीका एक पूर्वलडाकूले भनेका छन्, ‘यदि सरकारले जनताको दैनिक समस्या बारे बेवास्ता गर्दै रह्यो र पूर्वलडाकुको समस्या ठीक ढंगले सम्वोधन गरेन भने भविष्यमा राजनीतिक हिंसा हुने सम्भावना रहन्छ ।’

रिपोर्टमा कैलालीकै अर्का लडाकुको भनाइ उल्लेख छ-‘जहिलेसम्म उत्पीडिकारी र उत्पीडिक वर्ग रहन्छन् त्यतिबेलासम्म राजनीतिह हिंसा हुन सक्छ । अर्कोतर्फ अहिलेसम्म राजनीतिक सम्झौतामात्रै गरिएको छ, समाधान होइन । जनयुद्धको ठूलो हिस्स्ाा अझै शान्ति प्रक्रिया बाहिर छ । त्यसैले क्षेत्रीय समस्या सम्बोधन भएनन् र आधारभूत आवश्यकतामाथि राज्यले सोचेन भने राजनीतिक हिंसा फेरि अनिवार्य छ ।’

अध्ययनमा सहभागी कतिपयले त आफूले गरेको क्रान्तिको निरन्तरता भावी पुस्ताले पनि गर्न सक्ने औंल्याएका छन् । ‘विभेद, गरिबी र अन्याय हिंसाका आधार भएको भन्दै चितवनका एक पूर्व लडाकूले भनेका छन्, ‘म बुढो भएँ, हुनसक्छ, भविश्यमा मेरो छोराले हतियार उठाउला ।’

कतिपय पूर्व लडाकूले भने अहिले जनसेना व्यहोरेको अपमानलाई भविश्यमा हुनसक्ने हिंसासाग जोडेका छन् । सुर्खेतका एक पूर्वलडाकुले अध्ययनका क्रममा भनेका छन्-‘आधाभूत समस्या हल भएका छैनन् । यही अवस्था लामो समय रहिरह्यो भने हतियार उठाउन तयार छु । मेरो मनमा शान्ति छैन । म परित्यक्त र अपमानित महसुस गरिरहेको छु । जनयुद्धका घाइते र सहिदहरुप्रति राज्यले सँधै यस्तै बेवास्ता गर्ने हो भने फेरि जनयुद्ध थाल्नुपर्छ ।’

कतिपयले भने अब राजनीतिक बिचारधारमा आधारित भन्दा जातीय द्वन्द्व हुन सक्ने बताएको प्रतिवेदनमा उल्लेख छ ।

फेरि बन्दुक बोक्न तयार !

अध्ययनमा सहभागी पूर्व लाडाकुमध्ये ७६ प्रतिशतले युद्धभए फेरि बन्दुक बोक्न तयार देखिएको रिर्पोटको दाबी छ । ११ प्रतिशतले भने त्यतिबेलाको अवस्था हेरेर मात्रै निर्णय गर्नसक्ने बताए ।

चितवनको शिविरबाट निकालिएका पूर्व लडाकूले भनेका छन्-‘जनयुद्धका अपुरा उद्देश्य पुरा गर्न क्रन्ति अनिवार्य छ । सही आर्दशका लागि म हतियार उठाउन तयार छु । तर, म शान्तिको पक्षमा छु ।’

अध्ययनमा सहभागी सानो हिस्साले मात्रै हतियार प्रयोग गर्ने कुरालाई अस्स्वीकार गरेको रिर्पोटमा उल्लेख छ । ‘फेरि म हतियार उठाउँदिन किनभने मैल महसुस गरेँ की हतियारको प्रयोग गरेर कसैलाई मार्दैमा समस्या हल हुँदैन । अरु विकल्पहरु छन्’ दाङका एक पूर्व लडाकूले भनेका छन् ।

माओवादीमाथि विश्वास कायमै

अध्ययन प्रतिवेदनले अझै अधिकांश लडाकूले माओवादीमाथि नै विश्वास राखिरहेको देखाएको छ । तर, नेतृत्वले फुटमा लागेर गल्ती गरेको र शान्ति प्रक्रियामा आत्मसमर्पण परेको उनीहरुको बुझाइ छ ।

धेरै लडाकूले आफूलाई ‘अयोग्य’ को बिल्ला भिराइएकोमा अपमानित महसुस गर्ने गरेको र त्यसैका कारण समाजमा पुनस्र्थापित हुन गाह्रो परिरहेको सुनाएका छन् । ‘द्वन्द्वमा रहँदा गाउँमा बाँडेका सपनाहरु पुरा नहुँदै खाली हात घर फर्किँदा उनीहरु आफूलाई कलंकित र असक्षम महसुस गरिरहेका छन्’ रिपोर्ट सार्वजनिक गर्दै साइमनले भने-‘स्वेच्छिक अवकाश रोज्ने थोरै भएपनि नगद पाएपनि अयोग्यहरु खाली हात फर्किँदा निकै निराश रहेछन् । उनीहरुले राज्य र समाजसँग केही आशा गरेका छन् ।’

अध्ययनले पूर्व लाडाकू मध्ये ३५ प्रतिशत साना ब्यापारमा लागेको देखाएको छ । यस्तै दैनिक ज्यालादारी गर्ने पूर्व लडाकू २४ प्रतिशत छन् भने आफ्नै खेतिपातिमा जीवन गुजार्ने २४ प्रतिशत छन् ।

१५ प्रतिशत लडाकू आफ्नो कमाइ नभएर परिवारकै भरमा बाँचिरहेको अध्ययनले देखाएको छ । ८ प्रतिशत भने विभिन्न किसिमका जागिर खाँदैछन् । अधिाकंश पूर्व महिला लडाकू फेरि भान्सामा फर्किएका छन् ।

युद्धका लागि घर छोडका अधिकांश लडाकू फेरि पुख्र्यौली थलोमा फर्किन नचाहेको पनि अध्ययनले देखाएको छ । २३ प्रतिशत पूर्व लडाकू विदेशसहित यत्रतत्र पुगेका छन् भने १८ प्रतिशत शहरमै बसेका छन् ।

१८ प्रतिशत भने बन्द भएका शिविर आसपास नै घर बनाएर बसेका छन् । ३८ प्रतिशत भने आफ्नो घर फर्किएका छन् । यसमा पतिको घरमा जाने महिला लडाकूको संख्या ठूलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment