Comments Add Comment

ओलीलाई पौडेलको चुनौति- छ महिनाभित्र चुनाव गर, नभए सरकार छाड

'असन्तुष्ट पक्षलाई कांग्रेसले वार्तामा ल्याउनुपर्छ'

Ramchandra Paudel

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ६ महिनाभित्र स्थानीय चुनाव गर्न सरकारलाई आग्रह गरेका छन् । नभए सरकार छाड्नु पर्ने उनले बताए ।

नेपाल विद्यार्थी संघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै पौडेलले ६ महिनाभित्र गाउँपालिका बनाएर त्यसको चुनाव गराउन सम्भव रहेको दाबी गरे ।

पौडेलले भने, ‘गाउँ पालिकाको चुनाव नै भोलिको संसदको जग हो । म सरकारलाई के भन्न चाहान्छु भने, गाउँपालिका बनाएर ६ महिनाभित्रमा यसको चुनाव गराऊ सक्दैनौ भने छोड ।’

उनले गाउँपालिका बनाएर स्थानीय निकायको चुनाव नगराए देशमा संकट आउने खतरा पौडेलले औंल्याए । उनले भने, ‘यो संसद सकिन्छ माघ ७ गते र अर्को संसद नआउने भयो भने भ्याकुम हुन्छ देशमा । रिक्तता कायम हुन्छ मुलुकमा । त्यसैले राष्ट्रमा आउने खतरालाई ध्यान दिनुपर्‍यो ।’

असन्तुष्ट पक्षलाई वार्तामा ल्याउन नेतृत्वलाई सुझाव

देशलाई खतरामा पर्न नदिन नेपाली कांग्रेस अग्रसर हुनुपर्ने पौडेलले बताए । मधेस केन्द्रि त दल लगायतका असन्तुष्ट पक्षसँग वार्तामा ल्याउन र अहिलेको राजनीतिक समस्या समाधान गर्न उनले पार्टी नेतृत्वलाई सुझावसमेत दिए । आफूले वातावरण सहज बनाउन पार्टी सभापति शेरबहादुर देउवा र अन्य दलका नेताहरुसँग भनेको उनले कार्यक्रममा जानकारी दिए ।

‘हाम्रो पार्टीले नै मध्यस्थता गरेर भए पनि सत्ता पक्ष र आन्दोलनरत दुबै पक्षलाई बोलाएर मधेसमा जुन आन्दोलनका कुरा भइरहेको छ त्यसलाई पहिले शान्त गरौं, समाधान पारौं,’ पौडेलले भने, ‘विस्तारै मुलुक संकटतिर जाँदैछ, त्यतातिर हामी गम्भीर बनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment