Comments Add Comment

गृहले गरेको सरुवा बदर गर्न मुख्य सचिवको निर्देशन

१८ जेठ, काठमाडौं । सिडिओ र सहायक सिडिओहरुको सरुवा बदर गर्न गृहमन्त्रालय दबावमा परेको छ ।

Somlal-Subadiमुख्य सचिव सोमलाल सुवेदीले गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई आफ्नै कार्यकक्षमा बोलाएर सरुवा बदर गर्न निर्देशनसहितको पत्र दिएका छन् ।

सरुवा सूची सार्बजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए । प्रधानमन्त्रीकै निर्देशनअनुसार सरुवा वदर गर्न निर्देशन दिइएको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीले मुख्य सचिवलाई बोलाएर यसबारे विस्तृतरुपमा बुझ्न र सरुवा रद्ध गर्न निर्देशन दिएका थिए,’ स्रोतले अनलाइनखबरसँग भने, ‘सोही निर्देशनअनुसार मुख्य सचिवले गृहसचिवलाई पत्र थमाइदिए ।’

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीमात्र ४० जनाको सरुवा गरेको छ । आर्थिक वर्षको अन्तमा कर्मचारी सरुवा गर्न नपाइने तर्क प्रधानमन्त्री कार्यालयको छ । तर, शान्ति सुरक्षा जस्तो संवेदनशील विषय भएकाले त्यसलाई नछुने गृहका अधिकारीहरु बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले सामान्य प्रशासनको सर्कुलर विकासे कार्यालयका लागि मात्र भएको भन्दै उक्त सर्कुलरले गृहको सरुवालाई असर नगर्ने बताए ।

एमाले र माओवादीबीच फाटो

विगतदेखि नै सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवा गरिहाल्ने र पछि सामान्य प्रशासन मन्त्रालयसँग सरुवा सहमति माग्ने प्रचलन छ ।

तर, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनमा माओवादी नेतृत्वको गृहमन्त्रालयले गरेको सरुवा बदर गर्न भनिएपछि यसको असर सत्ता साझेदार दुई दलबीच पर्ने पक्का छ । सरुवा बदरको आदेशले माओवादी नेताहरु सन्तुष्ट छैनन् ।

माओवादीका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘विगतमा स्थानीय विकास मन्त्रालयले दर्जनौं एलडिओहरुको सरुवा गर्दा प्रधानमन्त्री कार्यालयले चासो दिएन, तर अहिले गृहको सरुवामा हस्तक्षेप भयो । यसले एमाले र माओवादीबीच थप द्वन्द्व चर्काउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment