Comments Add Comment

विदेशबाट कामदारको उद्धार गर्न महिला कर्मचारीको नेतृत्वमा संयन्त्र बन्यो

अलपत्र परेका कामदारले हटलाइनमा फोन गर्न सक्ने

Airport-ma-Alapatra-1
१९ जेठ, काठमाडौं । सरकारले पहिलोपटक विदेशमा अलपत्र कामदारको उद्धारका लागि छुट्टै सुनवाइ संयन्त्र स्थापना गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ‘र्‍यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो ।

टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धार लाग्न जिम्मेवारी दिइएको छ । मन्त्रालयमै स्थापना गरिएको टिमले विदेशमा अलपत्र महिला कामदारको उद्धारका लागि तुरुन्त पहल गर्नेछ ।

मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिनेछ ।

टीममा सह-सचिव श्रेष्ठसहित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी उपसचिव निर्मला थापा, विभागकी उपसचिव रमा भट्टराईसदस्य छन् । त्यस्तै अधिकृतहरु पार्वती शर्मा र सानुमाया रम्तेल पनि संयन्त्रमा छन् ।

यसलाई भविष्यमा २४ घण्टा नै विदेशमा अलपत्र परेका र ठगिएका कामदारको गुनासो सुन्ने र संयन्त्रका रुपमा विकास गर्ने मन्त्रालयको योजना छ ।

टीमलाई विदेशमा अलपत्र महिला कामदारको गुनासो सुन्ने र महिला विदेश जानुअघि नै कम्पनीको  वातावरण कस्तो छ भनेर बुझ्ने मुख्य जिम्मेवारी दिइएको छ ।

फाेन नम्बर र इमेल खुला

टिमले मंगलबारदेखि नै काम थालिसकेको छ । विदाको दिनबाहेक कार्यालय समयमा विदेशमा उद्धारको प्रतिक्षामा रहेका महिलाहरुले ९७७०१-४२११८८९ मा फोन गर्न सक्नेछन् । यस्तै टिमको इमेल ठेगाना [email protected] मा पनि पीडितले सूचना गर्न सक्छन् ।

श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले टिमको कार्यालयको उद्घाटन गरेका छन् । यो संयन्त्रले अब विदेशमा कामका लागि जान लागेका महिला कामदारको पूर्वश्रम स्वीकृति अघि नै कम्पनीको वास्तविक अवस्था र महिलको सुरक्षाका विषयमा अध्ययन गर्नेछ ।

‘अहिले कम्पनीमा क्लिनरका लागि भनेर घरहरुमा हाउसमेडका रुपमा महिला कामदार लैजाने गरेको पाइएको छ’ मन्त्रालयका एक अधिकारीले भने-‘महिला कामदारलाई विभिन्न प्रलोभन देखाएर लैजाने र भनेजस्तो काम, तलव र सुविधा नदिने समस्या बढेकाले युनिटको स्थापना गरिएको हो ।’

अब प्रत्येक महिला कामदारको पूर्वश्रम स्वीकति दिनुअघि टिमले विदेशमा सम्बन्धित कम्पनीका अधिकारीसँग काम र सुविधाबारे जानकारी माग्नेछ । कम्पनीका रोजगार प्रतिनिधि वा व्यवस्थापकसँग भएका कुराकानीको अडियो रेकर्ड पनि टिमले सुरक्षित राख्नेछ ।

सबै हिसावले महिला कामदार सुरक्षित हुने ग्यारेन्टी भएपछि मात्रै वैदेशिक रोजगार विभागलाई स्वीकृति दिने अनुमति टिमले दिनेछ ।

टिमलाई विदेशमा अलपत्र महिला कामदारको उद्धारका लागि नियोगहरुमा पहल गर्ने जिम्मेवारी दिइएको छ ।’हाम्रा चेलीहरु असुरक्षित छन् भने तुरुन्त उद्धार गर्नुपर्छ’ ती अधिकारीले भने- ‘त्यसैका लागि महिला कर्मचारीकौ टिम यसमा सक्रिय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment