Comments Add Comment

केडिया अपहरणकाण्डपछि नेपालको सीमा सुरक्षामाथि प्रश्नै प्रश्न

यस्तो छ सीमा वारपार अपराधको श्रृंखला

Suresh-kedia

१९ जेठ, काठमाडौं । भारतको जेलमा रहेका कुख्यात अपराधी बब्लु दुबेको योजनामा अपरणमा परेका व्यवसायी सुरेश केडिया सकुशल अपहरणमुक्त भएका छन् । तत्कालका लागि अपहरणकाण्डको पटाक्षेप भए पनि यस घटनाले नेपाल-भारत सीमा सुरक्षामा थुप्रै प्रश्नहरु जन्माएका छन् ।

१० करोड फिरौति तिरेर केडिया अपहरणमुक्त भएको भन्दै भारतीय टेलिभिजन च्यानल आजतकले समाचार बजायो । जबकि केडिया परिवारले भने त्यसलाई ठाडै खण्डन गरेको छ ।

‘फिरौति तिरेर छुट्नुभएको होइन,’ केडियाका भाई बिमलले भने, ‘दुई देशका प्रहरीको सक्रियाले दाजु फिर्ता आउनुभएको हो ।’

जे-जसरी भए पनि सुरेश केडिया अपहरणमुक्त भए । तर यो घटनाले नेपालले आफ्नो सीमा सुरक्षामा कडाई गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । अपहरणकारीहरुले नेपालको सीमाबाट १४ किलोमिटर भित्र पसेर केडियालाई अपहरण गरेर भारत पुर्‍याएका थिए ।

बब्लु जेलमा भए पनि उनले यस कामका लागि आफ्ना भाइ रञ्जनलाई प्रयोग गरेका थिए । रञ्जन अहिले भारतीय प्रहरीको नियन्त्रणमा छन् ।

Ranjan-Jha,-Kidnapper
भारतीय जेलमा रहेका बब्लु देबेका भाइ रञ्जन

अपहरणकारी दुई पटक सीमाबाट आवतजावत गर्दा हतियारसहित खटिएका सशस्त्र प्रहरी बलदेखि नेपाल प्रहरीसम्मको आँखा छल्न सफल भए । घटनाको सुरक्षामा देखिएको कमजोरीको नेपाल प्रहरीका एआइजी केदार साउद र सशस्त्र प्रहरी बलका कृष्णकुमार तामाङले स्थलगत निरिक्षण गरेका छन् । उनीहरु घटनामा देखिएको सुरक्षा कमजोरीको रिपार्ट तयार पार्दैछन् ।

तर केडिया अपहरण काण्ड त्यस्तो पहिलो घटना होइन जसले सीमा सुरक्षाको कमजोरी देखाएको होस् । यो भन्दा पहिला भएका अनेकन घटनाहरुले पटक-पटक पाठ सिकाइसकेका छन् । तर सुरक्षा निकायले सीमा सुरक्षाको गतिलो रणनीति बनाउन नसक्दा तराई पटक-पटक भारतीय अपराधीहरुको निशानामा पर्ने गरेका छन् ।

सार्पसुटर ल्याएर आलमको हत्या

मिति २०७० साल असोज १८ गते नेपाल प्रहरी आफनो ५८ वर्षिकोत्सवमा रमाइरहेको थियो । तत्कालिन गृहमन्त्री माधवप्रसाद घिमिरे र आइजीपी कुवेरसिंह रानाले निर्वाचन सुरक्षा सम्बन्धी राम्रै भाषण गरे ।

गृहमन्त्री र आइजीपीले निर्वाचनको सुरक्षामा कुनै कसर बाँकी नरहने बताएका थिए । तर भाषण गरेको आधा घन्टा नवित्दै एमालेको बारा क्षेत्र नं. ४ का संविधानसभा सदस्यका उम्मेद्वार महमुद आलममाथि गोली प्रहार भएको खबर आयो । टाउकोमा दुई गोली लागेर गम्भीर घाइते आलमको उपचारको क्रममा २४ गते टिचिङ अस्पतालमा मृत्यु भयो ।

असोज १८ गते घरबाहिर फोनमा कुरा गरिरहेका आलममाथि गोली प्रहार गरेर अपराधीहरु मोटरसाइकलमा फरार भए । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका तत्कालिन डिएसपी दिनेश आचार्यको टोलीले आलम हत्याको अनुसन्धान गरेको थियो । सिआइबीले आलम हत्याको मुख्य योजनाकार भनिएका एमालेकै नेता रामचन्द्र प्यासी कुसवाहसहित उनलाई साथ दिने भारतीय नागरिक राजु श्रीवास्तव र अतिक खानलाई पक्राउ गरेको थियो ।

घटनाका योजनाकाहरु मात्रै पक्राउ परे तर भाडामा ल्याइएका भारतका सार्पसुटरहरु भने सहजै सिमापारी पुगे । भारतीय नागरिक श्रीवास्तवमार्फत प्यासीले १० लाख सुपारी दिएर आलमको हत्या गराएका थिए । सुपारी लिएर आलमको हत्या गर्न काठमाडौंसम्म आइपुगेका तीनै सार्पसुटरहरुले काठमाडौंको जोरपाटीमा भारतीय नागरिक महमुद मन्सुर हकमाथि पनि आक्रमण गरेर गएका थिए । काठमाडौंदेखि बारासम्म पुगेर दुई व्यक्तिलाई आक्रमण गर्नेहरु समेत सिमाबाट सहजै फुत्किन सफल भएका थिए ।

अफताबको हत्या पनि भारतीय सुटरबाटै

मिति २०७० साल पुस १७ गते बाराका व्यापारी अफताब आलम अन्सारी घरमै थिए । बिहान करिब साढे ११ बजेतिर अफताब घरमै बसिरहेका बेला बिआर ०६ सि ३५१७ नम्बरकोे भारतीय प्लेट भएको मोटरसाइकलमा दुईजना आए । रातो टिसर्ट लगाएका र रातै रुमालले मुख छोपेका एक जना अफताब भएको नजिकै आएर टाउकोमा गोली हानी फरार भए । अन्सारी त्यहीँ ढले । घाइते अन्सारीलाई तत्काल उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकलमा लगिएको थियो । तर उपचारको क्रममा उनको निधन भयो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरीले सेटबाट सबैलाई सचेत गरायो । सूचना पाएपछि रुवासिर चौकीका दुईजना प्रहरीले मोटरसाइकलमा भागिरहेका आक्रमणकारीलाई पिछा गरे । आक्रमणकारीले प्रहरी माथि पनि गोली प्रहार गरे । आक्रमणकारीको गोलीबाट प्रहरी सहायक निरिक्षक मातृका ठाकुर र जवान शेख सब्जान घाइते भए ।

तैपनि उनीहरुले आक्रमणकारीलाई छाडेनन् । भारत, उत्तर प्रदेशका रवि पाण्डे र विपिन यादव भन्ने महमद फरहद पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले दुई थान रिभल्वर र त्यसमा प्रयोग हुने २२ राउण्ड गोली बरामद गरेको थियो ।

करिब दुई वर्ष अगाडी बारामा सबैभन्दा चर्चित बनेका यि दुई हत्याकाण्डमा संलग्न भारतीय सार्पसुटरहरु नेपाल पसेका थिए ।

यी बाहेक थुपै्र अपहरणदेखि हत्यासम्मका घटनाहरुमा भारतका पेशेवर अपराधीहरुको संलग्नता रहने गरेको छ ।

सीमा सुरक्षाको नयाँ रणनीति बन्छः गृहमन्त्रालय

केडिया अपहरणको घटनामा सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको कमजोरी देखिएको गृहमन्त्रालयको बुझाइ छ । १४ किलोमिटर भित्रदेखि मान्छे अपहरण गरेर लैजाँदा पनि रोक्न नसक्नुमा सुरक्षा कमजोरी देखिएको गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव यादवप्रसाद कोइराला बताउँछन् ।

भारतले सीमा सुरक्षाको लागि प्रत्येक २ किलोमिटरमा सुरक्षा बेस राखेको छ तर नेपालको १५ देखि २० किलोमिटरमा सशस्त्रको बेस छ । त्यसले पनि नेपालको सुरक्षामा कमजोरी देखिएको सहसचिव कोइरालाको बुझाई छ ।

अनलाइनखबरसँगको कुराकानीमा सहसचिव कोइरालाले भने- जहाँ सुरक्षाकर्मी छैनन्, त्यहाँ अपराध हुन सक्छ । तर सुरक्षाकर्मीकै अगाडिबाट अपराधी भाग्छ भने त्यसलाई गृहमन्त्रालयले गम्भीर रुपमा लिन्छ । केडिया अपहरणमा देखिएको कमजोरीमा पनि छानविन भैरहेको छ ।

पेशेवर सुटर तथा अपहरणकारीहरु नेपालमा अपराध गरेर सहजै भाग्न थाले पछि गृहमन्त्रालयले सम्बन्धित जिल्लाका सुरक्षा निकायलाई भारतीय सुरक्षा निकायसँग समन्वय गर्न पनि निर्देशन दिएको छ ।

‘सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बेला-बेलामा सरप्राइज चेकिङहरु गर्छन्, तर त्यो पर्याप्त देखिएन । अब सीमा सुरक्षाको रणनीति बनाउन गृहले छलफल गर्छ,’ सहसचिव कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment