Comments Add Comment

लघुजलविद्युतबाट चवराचौतारा झिलीमिली

फाइल तस्वीर
फाइल तस्वीर

१९ जेठ. डोटी। डोटीको विकट चवराचौतारा गाविसका नौवटै वडा लघुजलविद्युत् आयोजनाको बिजुलीबाट झिलीमिली बनेका छन् ।  स्थानीय टुँडागाड खोलाको पानी प्रयोग गरेर ६५ किलोवाट क्षमताको टुँडागाड लघुजलविद्युत् आयोजना निर्माण भएपछि डोटीको विकट क्षेत्रमा पर्ने उक्त गाविसमा विद्युत् सुविधा पुगेको हो ।

वैशाखदेखि नै सञ्चालनमा आएको आयोजनाबाट चवरा चौताराका नौ वटै वडामा पर्ने उमुडी, बिठारीगाँउ, चनुकाँडा, सुकाटी, दाच्का, खत्याडी, लखुडा, वजेली, सुकातोला लगायतका पाँचसय घरधुरी लाभान्वित भएका स्थानीय खत्याडी उच्च माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बमले जानकारी दिए ।

आयोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन सञ्चालन गर्न सुविधा पुगेको छ । यसअघि सोलार र टुकीको भरमा रात कटाउँदै आएका चवरावासी गाउँमा पहिलो पटक बिजुली बलेकोमा खुसी बनेका छन् ।

राज्यको माथिल्लो ओहोदामा पुगेका मन्त्रिस्तरका नेताबाट उक्त आयोजनालाई उद्घाटन गर्ने लक्ष्य चवरावासीको रहेको छ । करिब रु तीन करोडको लगानीमा आयोजना सम्पन्न भएको छ । बिजुली बलिसकेपछि कुनै ठाउँमा भएको कमजोरी, समस्याको अनुगमन गर्ने कार्य भइरहेको टुँडागाड लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष कमल गडसिलाले बताए ।

निर्माण कार्यका बेला आवश्यक अनुगमन नहुँदा विद्युत् कुलोमा समस्या आएको बताइएको छ । विद्युत् उत्पादन भएको एक महिना नबित्दै कुलो जताततै फुट्न थालेको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment