Comments Add Comment

‘कालो पोथी’ समीक्षाः करिश्माको अण्डा, सपना र जनयुद्ध

kalo pothi team
चलचित्रले कथा बोल्नुपर्छ, कथा देखिनुपर्छ र कथा खेल्नुपर्छ । यी ३ कुराबाट पर हटेको चलचित्र व्यापारिक रुपमा हिट होला तर मानसपटलमा रुमलिन सक्दैन । चलचित्र कस्तो हुनुपर्छ भन्ने बहस लामो समयदेखि नचलेको होइन ।

तर, चलचित्रले हेर्नेको मन छुनुपर्छ अनी मात्र सफल मानिन्छ । मुगुका २ बालक, उनीहरुको मित्रता र सपना अनी एउटा ‘सेतो कुखुरा’को वरिपरी घुमेको चलचित्र ‘कालो पोथी’ आजबाट रिलिज भएको छ ।

देशभरका करिब दर्जन हलमा रिलिज भएको यो चलचित्रले थुप्रै अन्तरराष्ट्रिय अवार्ड पनि जितिसकेको छ । नेपाली दर्शकको मनमा समेत कौतुहलता जगाउन सफल यो चलचित्र कस्तो होला ? आउनुहोस् चर्चा गरौ ।

कथावस्तु
कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैली बनाएर चलचित्र तयार पारिएको छ । सन् २००१ मा जब तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गर्‍यो, त्यसले कणर्ालीको एउटा क्षेत्रलाई पारेको प्रभाव र बाबुले छलकपट गरेर बेचेको पोथी खोजीको अभियानमा यो चलचित्र केन्द्रित छ ।

किरण(शुक्रराज रोकाया) र प्रकाश(खड्गराज नेपाली)को वरिपरि यो चलचित्र घुमेको छ । तल्लो र माथिल्लो जातका भएपनि यी दुई बालकको मित्रतामा कुनै कमी छैन । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले दिएको ‘सेतो पोथी’ पालेर त्यसैको अण्डा वेचेर पढ्ने सपना बोकेका एक बालक र उनका साथीको कथा हो यो ।

बाबुले पोथी वेचिदिएपछि प्रकाश त्यसको खोजीमा हिड्छ । एउटा वृद्धले ६ सयमा कुखुरा किनेको थाहा पाएको प्रकाश त्यसलाई फिर्ता ल्याउनका लागि विभिन्न क्रियाकलाप गर्छ । जनयुद्धको प्रभावसँगै प्रकाशकी दिदी युद्धमा होमिन्छे ।

तर, पनि प्रकाश दिदीले दिएको कुखुरालाई फिर्ता ल्याएर त्यसको अण्डाबाट अध्ययन गर्ने सपनामा दौडिन्छ । कुखुरा एउटा गाउँबाट अर्को गाउँमा पुग्छ, तर पनि यी दुई बालक त्यसलाई फिर्ता ल्याउने दौडमा दौडिन्छन् । प्रकाश र किरणले कुखुरा फिर्ता ल्याउँछन् या ल्याउँदैनन्, यसका लागि दर्शकले हलमा गएरै चलचित्र हेर्नुपर्छ ।

सबल पक्ष
दृश्यभाषालाई बलियो नबनाउने हो भने अब चलचित्रको स्थिती दयनिय बन्छ । चलचित्र अब ५ वटा गीत, ५ वटा फाइट र घिसारिएको कथामा अगाडि बढ्न सक्दैन । ‘कालो पोथी’ हेरेपछि अधिकांशको मनमा आएको सोच हो यो ।

चलचित्र ‘लुट’ बनाएर निश्चल बस्नेतले नेपाली चलचित्रको भाषा फेरेका थिए । ‘कालो पोथी’ले नेपाली चलचित्रको भाषा र प्रस्तुतीलाई बलियो बनाएको छ । आफ्नै मौलिकता भित्र पनि थुप्रै कथाहरु बुनिएका छन् भनेर देखाएको छ ।

युद्धको कथामा ‘लाल सलाम र जिन्दावाद’का नारा मात्र लगाउनु पर्दैन भन्ने बोलेको छ । एउटा तालमा २ बालकले रगतले पोतिएको अनुहार पानीले धोएका छन्, गाउँलेहरु आफ्नो सम्पूर्ण सामानसहित विस्थापित भएका छन् । द्धन्द्धको वस्तुस्थिती चित्रण गर्नका लागि निर्देशकले यी २ दृश्यमै आफूलाई खरो उतारेका छन् ।

राजेश हमाल र करिश्मा मानन्धरको चलचित्र ‘साथी’ले पारेको प्रभावले कथामा रोचकता थपेको छ । चलचित्रकी नायिकाको नाममा नै आफ्नो पोथीको नाम राख्नु यसको उदाहरण हो ।

दिदीसँग पोथीको नाम के राखौ भनेर सोधेका बालकले अन्तत चलचित्रकी नायिकाको नै नाम राखिदिन्छन्, ‘करिश्मा’ । ‘पोथी’को नाम ‘करिश्मा’ राखेर निर्देशक मिन भामले दर्शक वाध्ने गजबको शैली अपनाएका छन् । ‘करिश्मा र उसको अण्डा’ हाँस्यरस थप्न सफल छ ।

डेढ घन्टा लामो चलचित्र ‘कालो पोथी’ नेपाल भित्रकै मौलिक शैलीमा बुनिएको उत्कृष्ट चलचित्र हो । जसको कथावाचनबाट निर्देशक विचलित भएका छैनन्, देखाउन खोजेको कुरामा स्पष्ट छन् ।

कमजोर पक्ष
चलचित्र भित्र कमजोरीका पाटाहरु छैनन् । साना-साना दृश्यदेखि न्यारेशनमा समेत निर्देशकले ध्यान दिएका छन् । खस भाषामा बोलिएका संवाद वुझ्नका लागि दर्शकले नेपाली सब-टाइटल हेर्नुपर्ने हुन्छ ।

मारपिट, चोरिएका कथा, गीतसंगीत भएका चलचित्र हेर्ने दर्शकका लागि ‘कालो पोथी’ रोजाइमा नहुन सक्छ । अर्कोतिर, चलचित्रमा बालकले देखेका सपना हुन् या गाउँ छोेडेका दृश्य, सिम्बोलिक दृश्यहरु दर्शकले आफै वुझ्नुपर्ने हुन्छ ।

अभिनय
चलचित्रको ज्यान भनेकी दुई बालक हुन्, शुक्रराज रोकाय र खड्गराज नेपाली । यी दुई बालक नेपाली चलचित्रका लागि नयाँ जीवन्त अभिनय गर्ने कलाकार हुन् । जसलाई मुगुबाटै खोजेर निर्देशकले ल्याएका छन् ।

चलचित्र भित्र उनीहरुको रुवाई, मित्रता, हसाँईले दर्शकलाई वाँधेको छ । नायिका वेनिशा हमाल चलचित्रकी अर्की पात्र हुन्, जो अन्य पात्र जस्तै कतै-कतै हराउँछिन् । संवाद कम हुँदा उनको अभिनय जति जम्नुपर्ने हो, त्यती जमेको छैन ।

निर्देशन
कुनै पनि क्षेत्रलाई बदल्न कसैले जोखिम उठाउनु पर्छ, निर्देशक मिन भामले यो जोखिम मोलेका छन् । उनले जुन कुराको उठान गरेका छन्, त्यसबाट विचलित भएका छैनन् । चलचित्रमा ‘सेतो पोथी’ राखेर चलचित्रको नाम ‘कालो पोथी’ राखिएको छ ।

यसमा निर्देशकले जुन तर्क देखाएका छन्, साच्चै मध्यान्तर अगाडि दर्शकले ताली बजाउँछन् र पपकर्नका लागि उठ्छन् ।

एउटा सिंगो जनयुद्ध र २ बालकको सपनालाई निर्देशक डेढ घन्टा भित्र जुन शैलीमा बुनेका छन्, तारिफ गर्नैपर्छ ।

समग्रमा
‘हाउसफूल ३’ र मसलेदार नेपाली चलचित्र हेर्ने दर्शकका लागि ‘कालो पोथी’ एउटा अर्गानिक चलचित्र हो । जसले नेपालकै कथालाई सटिक तर गजब शैलीमा भनेको छ । तपाइका लागि  ‘हाउसफूल ३’को कृत्रिम हाँस्यरस भन्दा अर्गानिक ‘कालो पोथी’को नेपाली मुस्कान शैली उत्कृष्ट बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment