Comments Add Comment

नयाँ शक्तिले चार तरिकाबाट आर्थिक संकलन गरिरहेको छ

Ganga-shrestha

नयाँ शक्तिले जेठ ३० गते कसरी जनपरिचालन गर्दैछ ?

नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक शक्ति भएकाले यसको जनपरिचालन लगायत सम्पूर्ण योजना र कार्यक्रमहरु पनि नयाँ र वैकल्पिक नै हुनेछन् ।

विगतमा विभिन्न राजनीतिक पार्टीहरुले जनपरिचालन गर्दा लाखौं करोडौं रकम खर्च गरेर जनपरिचालन गर्ने गर्दथे । यसपालि नयाँ शक्तिले पार्टी केन्द्रबाट पैसा नै खर्च नगरी लाखौंको जनपरिचालन गर्दैछ ।

हामीले पार्टी स्थापना नहुँदै करिब सवा लाख पार्टी सदस्य बनाइसकेका छौं । जेठ ३० गते रंगशालामा पार्टी सदस्यहरुको सामूहिक शपथ ग्रहणसहित पार्टी स्थापना घोषणा कार्यक्रम सम्पन्न हुन गइरहेको छ । त्यसका लागि हामीले सम्पूर्ण पार्टी सदस्यहरुलाई उपस्थित हुनको लागि आग्रह गरेका छौं । त्यति मात्रै होइन, एक पार्टी सदस्य बराबर आफ्नै खर्चमा २ जना अन्य समर्थक, शुभचिन्तकलाई पनि सहभागी गराउन अनुरोध गरेका छौं ।

यस हिसाबले एक लाख पार्टी सदस्य बराबर दुईजना परिचालन गर्दा तीन लाख हुन्छ । तर, कतिपय पार्टी सदस्य विदेशमा र कतिपय पार्टी सदस्यहरु मौसमको प्रतिकूलताको कारण उपस्थित हुन नसक्ने अवस्था पनि रहन्छ । तसर्थ, हामीले कम्तिमा एक लाख जनसहभागिता हुनेगरी तयारी गरिरहेका छौं ।

हामी रत्नपार्क, कुपण्डोल, कालिमाटी र बिजुलीबजार पुल गरी चार ठाउाबाट र्‍याली गर्दैछौं । र्‍याली व्यवस्थापनको लागि हाम्रा दुई खाले स्वयम्सेवकहरु परिचालित हुनेछन्

ट्राफिक व्यवस्थापन नबिग्रने गरी र्‍याली निकाल्ने कुरा गर्नुभएको छ, लाखौं मानिस एकैपटक काठमाडौं उतारेर यो सम्भव होला र ?

नयाँ शक्ति भनेकै असम्भव ठानिएका कुराहरुलाई सम्भव तुल्याउने शक्ति हो । यो हाम्रो लागि ठूलो परीक्षा पनि हो । अहिलेसम्म कुनै राजनीतिक पार्टीहरुले नगरेको काम भएको हुँदा असम्भव जस्तो लाग्न त सक्छ तर हामीले यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।

हामी रत्नपार्क, कुपण्डोल, कालिमाटी र बिजुलीबजार पुल गरी चार ठाउँबाट र्‍याली गर्दैछौं । र्‍याली व्यवस्थापनको लागि हाम्रा दुई खाले स्वयम्सेवकहरु परिचालित हुनेछन् । ट्राफिक स्वयम्सेवकले ट्राफिक व्यवस्थापनको लागि भूमिका खेल्नेछन् । त्यसको लागि प्रत्येक पोइन्टमा हाम्रा ट्राफिक स्वयम्सेवकहरु कम्तिमा दुई सयको संख्यामा रहनेछन् ।

सुरक्षा व्यवस्थापनको लागि हाम्रो प्रत्येक केन्द्रमा पाँच सयभन्दा बढीको संख्यामा स्वयमसेवक परिचालित हुनेछन् । ती स्वयम्सेवकहरुले र्‍यालीको सम्पूर्ण व्यवस्थापन गर्नेछन् । यसमा नेपाल ट्राफिकसँग बसेर संयुक्त योजना बनाइसकेका छौं । दुवै पक्षको सहकार्यमा यसलाई सम्भव तुल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।

विज्ञापन, प्रचार प्रसारमा केही नयाँपन त दिन खोज्नुभएको छ, तर खर्चिलो जस्तो देखियो, आर्थिक स्रोत कसरी जुटाउनुभएको छ ?

मैले अघि पनि भनिसकेँ, हामी सम्पूर्ण व्यवस्थापन नयाँ ढंगले गर्दै छौं । परम्परागत प्रचारको विधि छोडेर वातावरण र प्रविधिमैत्री प्रचारलाई नयाँ विकल्पको रुपमा हामीले रोजेका छौं । क्लिन ग्रीन अभियानको उद्देश्यसँग पनि यसको मर्म जोडिएको छ । जहाँसम्म खर्चिलो भन्नुभयो, खासमा यो त्यतिधेरै खर्चिलो विधि होइन । वातावरणमा पर्ने प्रभाव, जनशक्तिको परिचालन र आर्थिक दृष्टिले हेर्दा यो कम खर्चिलो छ ।

प्रचारका लागि मिडियाका साथीहरुलाई सहयोग गरिदिन हामीले अनुरोध गरेका छौं । मिडियाका साथीहरुले हामीलाई सद्भावपूर्वक सघाइरहनु भएको छ ।

हामीले चार तरिकाबाट आर्थिक संकलन गरिरहेका छौं । पहिलो, स्रोत पार्टी सदस्यताबाट प्राप्त शुल्क हो । हामीले एक सदस्य बराबर एक सय पाँच रुपैयाँ लिने गरेका छौं

उहाँहरुको सहयोगको बावजुद जति खर्च लाग्नेछ, त्यसको हिसाबकिताब हामी जनसाधारणको लागि सार्वजनिक गर्नेछौं । यो हाम्रो प्रतिबद्धता र हाम्रो पार्टीको आचारसंहिता पनि हो ।

हामीले चार तरिकाबाट आर्थिक संकलन गरिरहेका छौं । पहिलो, स्रोत पार्टी सदस्यताबाट प्राप्त शुल्क हो । हामीले एक सदस्य बराबर एक सय पाँच रुपैयाँ लिने गरेका छौं । सवा लाखभन्दा बढी सदस्यबाट सवा करोडभन्दा बढी त सदस्य शुल्क नै भयो । यसैगरी ५१ जना अन्तरिम केन्द्रीय परिषद सचिवालय सदस्यबाट १०/१० हजार र ४४९ जना केन्द्रीय परिषद सदस्यबाट ५-५ हजार सहयोग प्राप्त हुँदैछ । यसैगरी राष्ट्रिय भेलाको लागि स्वतःस्फूर्त सहयोग रसिदबाट संकलन हुने रकम हाम्रो तेस्रो स्रोत हो । चौथो स्रोत भनेको १५०० जना प्रतिनिधिबाट १००० को दरले प्राप्त हुने प्रवेश शुल्क हो ।

यहाँहरुले बन्द सत्रलाई छलफल सत्रको नाम दिनुभएको रहेछ, यो कस्तो अभ्यास हो ?

यो पनि नितान्त नयाँ प्रयोग हो । २१औं शताब्दी सहभागितामुलक लोकतन्त्रको शताब्दी हो । यसर्थ, सम्पूर्ण जनताको सहभागितामा नै हामी सबै कुरा फैसला गर्न चाहन्छौं । बन्द कोठाभित्र जनताको भाग्य र भविष्यको फैसला गर्ने, गोप्य दस्तावेजहरु सर्कुलेशन गर्ने जमाना गइसकेको छ । हामी करोडौं जनताहरुले स्वामित्व लिनसक्ने पार्टी निर्माण गर्न चाहन्छौं । अहिले यही भेलाबाट हामी दस्तावेजलाई अन्तिम निश्कर्ष दिंदै छैनौं ।

कम्तिमा एक वर्ष हाम्रा दस्तावेजहरुलाई जनताको बीचमा बहसको लागि लैजान्छौं । जनताबाट प्राप्त अमूल्य सुझावहरुको आधारमा पार्टीको नीति तथा कार्यक्रम तय गर्नेछौं । तसर्थ, यसलाई परम्परागत बन्द सत्रभन्दा छलफल सत्रकै रुपमा अभ्यास गर्दैछौं ।

जेठ ३० गतेपछि नेपाली राजनीतिमा कस्तो विकल्प, कस्तो नयाँपन लिएर आउँदै हुनुहुन्छ ?

भौगोलिक एकीकरण र राजनीतिक अधिकार प्राप्तिको चरण पूरा गरी अब हामी विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरिरहेका छौं । अब हामी यो ऐतिहासिक चरणको नेतृत्व गर्नेछौं । हाम्रो प्रक्षेपण छ- हामी आगामी सात वर्षभित्रमा देशलाई आधारभूतरुपमा गरिबी र बेरोजगारमुक्त बनाउने छौं । १५ वर्षभित्रमा मध्यमस्तरको धनी राष्ट्र र २५ देखि ३० वर्षभित्रमा समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्नेछौं । त्यसको लागि मुख्यतः चारवटा आधारहरु हामीसँग छन् ।

पहिलो, ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति हामीसँग छ, दोस्रो प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन उपलब्ध छ, तेस्रो समावेशी, समानुपातिक, सहभागितामूलक वैकल्पिक राजनीतिक प्रणाली विकास गर्दै छौं र चौथो दूरदृष्टिसहितको सक्षम नेतृत्व हामीसँग छ । यसैको विस्तृत खाका राष्ट्रिय भेलामा तयार गर्नेछौं । ऐतिहासिक उत्सवका बीच नेपालमा पहिलो चोटि समुन्नत समाजवाद उन्मुख वाम लोकतान्त्रिक पार्टी निर्माण गर्दैछौं । त्यो पनि एकाध नेताहरुले होइन, लाखौं संस्थापक सदस्यहरुले एकसाथ सपथ खाएर । यही नै नयाँ शक्तिको नयाँपन हुनेछ ।

लाखौं जनता काठमाडौंमा जम्मा पारेर शक्ति प्रदर्शन गर्ने यो त पुरानै तरिका भएन र ?

हामी शक्ति प्रदर्शन गर्दै छैनौं । जनताको सेवा गर्ने नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्दैछौं । यसअघि प्रतिनिधिमुलक लोकतन्त्रको जगमा राजनीतिक पार्टीहरु निर्माण हुने गरेको थियो । दुई चार जना नेताहरु कोठामा बसेर पार्टी गठन गर्ने विरासतको विकल्प दिनको लागि पनि यस्तो अभ्यास आवश्यक छ भन्ने हाम्रो निष्कर्ष हो ।

सहभागीहरु भाषण सुन्न र ताली पिट्न होइन, समृद्धिको नेतृत्व गर्न सहभागी हुनेछन् । हामी आर्थिक समृद्धिको नेतृत्व गर्ने नयाँ पार्टी सहभागितामुलक लोकतन्त्रको जगमा निर्माण गर्दैछौं । आर्थिक समृद्धिको नेतृत्व केही नेताहरुले या केही हजार कार्यकर्ताले मात्रै गर्न सम्भव छैन । त्यसको लागि लाखौं, करोडौं जनतालाई प्रत्यक्ष सहभागी र नेतृत्व प्रदान गरेर मात्र सम्भव छ । तसर्थ, जेष्ठ ३० गते हामी लाखौं पार्टी सदस्यहरु र जनताको समेत प्रत्यक्ष सहभागितामा नयाँ शक्ति पार्टी घोषणा गर्दैछौं ।

डा. बाबुराम भट्टराईले पार्टी छोड्ने समय ठीक भएन भन्ने गुनासो हुने गरेका बेला वर्षा सुरु हुनुभन्दा अगाडि पार्टी घोषणासभा किन राख्नुभयो ? समय छनौट बेठिक भएन र ?

डा. भट्टराईकै शब्द सापटी लिएर भन्ने हो भने राम्रो काम गर्नको निम्ति साइत जुराउनुपर्दैन । उहाँले जतिबेला पार्टी परित्याग गर्नुभयो, त्यसबेला समय त अझ ढिलो भइसकेको थियो र त्यो हठात् गरिएको पनि थिएन ।

उहाँले झण्डै एक डेढ वर्ष अगाडिदेखि नयाँ शक्तिको आवश्यकताबारे सार्वजनिक बहस गर्दै आइरहनुभएको थियो । जनताको चाहना त संविधान घोषणा भएकै दिन असोज ३ गते राति नै नयाँ अभियानको सुरु गरिदिनुभएको भए हुन्थ्यो भन्ने थियो ।

अहिले यहाँसम्म आइपुग्दा समयको छनौट गलत थियो भन्नेहरु नै डा. भट्टराईले ठीक गर्नुभएको रहेछ भन्दै हिँड्न थाल्नुभएको छ । र, अहिले पार्टी स्थापनाको समयको सन्दर्भमा कुरा गर्दा केही प्रतिकुलताका बावजुद यो नै उपयुक्त समय हो भन्ने लाग्छ । यसपछि वषर्ा सुरु हुन्छ र लगत्तै चाडपर्वहरु पर्दछन् ।

यसअघि हामी करिब ७/८ महिनादेखि पार्टी निर्माणको तयारीकै अभियानमा थियौं । अहिले यहाँसम्म आइपुग्दा पार्टी निर्माणको लागि आधारभूत तयारीहरु सम्पूर्णरुपले पूरा भइसकेको छ । तसर्थ, पार्टी स्थापनाको लागि यो नै उपयुक्त समय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment