Comments Add Comment

भैरहवामा मनाइयो मोदनाथ प्रश्रितको जन्मोत्सव

Kabi-Gosthi

६ असार, भैरहवा । नेपाली भाषा साहित्यका विद्धान मोदनाथ प्रश्रितको ७५ औँ जन्मोत्सवका अवसरमा भैरहवामा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

प्रश्रति प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषदले संयुक्तरुपमा आयोजना गरिएको नेपाली साहित्यमा प्रश्रतिको योगदान विषयक विचार गोष्ठी तथा बहुभाषी कविगोष्ठीमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साहित्यिक संघसंस्थाको प्रतिनिधिले प्रश्रितलाई शुभकामना दिएका थिए ।

साहित्यकार डा.बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ साहित्य परिषद, रुपन्देही, प्रश्रित प्रतिष्ठान नेपाल, केन्द्रीय समिति, सिर्जनसील साहित्यिक समाज रुपन्देही, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान बुटवल, प्रेमा वाङमय प्रतिष्ठान नवलपरासी, जनसाहित्यीक मन्च नेपाल रुपन्देही, तरंग साहित्यिक संगम पाल्पा, चितवन समसामयिक पत्रिका, जनसाहित्यिक मञ्च पाल्पालगायतका संघसंस्थाले प्रश्रितलाई अभिनन्दन गरेका छन् ।

उक्त अवसरमा प्रा.डा.भीम खतिवडाले प्रश्रितका महाकाव्यका बैचारिक चेतना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी डा. शिवप्रसाद पौड्यालले नेपाली निवन्धको विकासमा प्रश्रतिको योगदान, डा. सुदन पौडेलले प्रश्रितका महाकाव्यमा मानवतावाद, नरनाथ लुइँटेलले प्रश्रितका महाकाव्यमा हास्यव्यंग्य चेतना, टंक पन्थले प्रश्रितका महाकाव्यमा रस अलंकार, नारायण पन्थले प्रश्रितका महाकाव्यमा अलंकार, प्रा.डा. कपिल लामिछानेले नेपाली नाटकको विकासमा प्रश्रितको योगदान र प्रा.डा. यदुनन्दन उपाध्यायले नेपाली महाकाव्यको विकासमा प्रश्रितको योगदान विषयका पत्र प्रस्तुत गरेका थिए । सो पत्रको समीक्षा प्रा.डा नारायणप्रसाद खनालले गरेका थिए ।

कार्यक्रममा साहित्यकार रुद्र ज्ञवाली (रुपन्देही), रामप्रसाद अर्याल (पाल्पा), कल्पना ओली सिटौला (मेची)लाई सम्मान गरिएको थियो । सोही अवसरमा देवेन्द्र घिमिरे र बालकृष्ण भट्टराईले मेरा सहयात्री प्रश्रतिबारे प्रकाश पारेका थिए । मोदनाथ प्रश्रितले २०२३ मैमानव महाकाव्यका लागि मदन पुरस्कार पाएका हुन् । उनका अहिलेसम्म पाँच दर्जन जति पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा सयौं साहित्यिक स्रष्टाको भब्य सम्मान ग्रहण पश्चात प्रश्रतिले बुद्धको देशमा जो जहाँ रहेता पनि सबै नेपाली भएको जनाउँदै भने ‘बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा मलाई जसरी सम्मान गरियो, यसले मलाई किशोरावस्थामा पुर्‍याएको छ । यस अवसरमा म सबैलाई अनुरोध गर्छु । हामी सबै मानव हो, मानव भएर बाँच्न सिकौं ।’

प्रश्रितले बुद्धले सबै मानव एक भएको २५६० वर्ष पहिले जनाएता पनि अहिलेसम्म जातीय कुरा गर्नु मूर्खता भएको तर्क गरे ।

कार्यक्रममा कविहरु झाँक्री खोले, प्राज्ञ बुँद राना, प्रा.डा. नारायण खनाल, अर्जुन ज्ञवाली, डा. बालकृष्ण थापा, लगायतले प्रश्रतिको बहुआयामिक पक्षका बारेमा प्रष्टाएका थिए ।

प्रश्रति प्रतिष्ठान नेपाल केन्द्रीय समिति अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेको सभापतित्व एवं सिद्धार्थ साहित्य परिषदका अध्यक्ष सहप्राध्यापक डिल्लीराज भट्टराईको सञ्चालन तथा शिक्षाविद् बालकृष्ण भट्टराईको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा नेपालका स्थापित साहित्यिक संस्थाले अभिनन्दनपत्र एवं खादा र ढाकाटोपी उपहार दिँदै उनीहरुले प्रश्रितको योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment