Comments Add Comment

नेपालीका लागि कुन देश बढी असुरक्षित ?

प्रतिवन्ध लगाइएका देशमा मानव तस्करी रोकिएन

Kabul-Attack-5७ असार, काठमाडौं । अफगानिस्तानमा सोमबार भएको तालीवानी आक्रमणमा १२ जना नेपालीसहित १४ जनाको मृत्यु भयो । वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा मारिएको इराकपछिको यो दोस्रो घटना हो ।

मारिने नेपालीहरु सबै सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए । ११ वर्षअघि पनि इराकमा पनि यसैगरी आतंकवादीको हमलामा १२ जना नेपालीको समुहिकरुपमा निर्मम हत्या भएको थियो ।

देशमा उचित रोजगार नपाएपछि विदेश जानु आमयुवाको बाध्यता बनेको छ । अहिले नेपालीलाई वैदेशिक रोजगारीमा जानका लागि सरकारले १०६ देशलाई खुला गरेको छ । तर, १ सय ६७ वटा मुलुकमा नेपालीहरु कामका लागि पुगिरहेका छन् ।

विदेश गएर आर्थिक उपार्जन गर्ने प्रलोभनमा धेरै नेपालीहरु प्रतिवन्धित तथा असुरक्षित मुलुकुहरुमा पनि जाँदैछन् । राम्रो कमाउने प्रलोभनमा पारेर युद्ध तथा सरुवा रोगले ग्रस्त बनेका मुलुकमा समेत नेपालीलाई पुर्‍याउने क्रम बढेको छ ।

अफगानिस्तानको घटनापछि नेपालीहरुका लागि कुन-कुन देश बढी असुरक्षित छन् भन्ने चासो बढेको छ ।  सरकारले अहिले पाँचवटा मुलुकलाई असुरक्षित ठहर गर्दै नेपाली कामदार पठाउन पूर्णरुपमा रोकेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइनखबरलाई जानकारी दिए ।

अफगानिस्तान भने आशिंक रुपमा खुल्ला रहेको सरकारी अधिकारीहरुको दाबी छ । तर, यसलाई सरकारको अस्पष्टता एवं दोहोरो नीतिका रुपमा व्यख्या गर्न थालिएको छ ।

यी हुन् नेपालीहरुका लागि असुरक्षित गन्तव्य

सरकारी अधिकारीहरुका अनुसार नेपालीका लागि असुरक्षित मानिएका देशहरुमा इराक, सिरिया, अफगानिस्तान, गिनी र लिबिया लगायत छन् । यद्यपि यी देशहरुमा नेपालीहरु जाने क्रम रोकिएको छैन ।

इराक

मध्यपूर्वी देश इराकमा नेपालीलाई जान रोक लगाएको ११ वर्ष भइसक्यो । सुन्नी इस्लामिक ग्रुप अन्सर अल सुन्नले ०६१ सालमा १२ नेपालीलाई नियन्त्रणमा लिएर विभत्स हत्या गरेको थियो ।

हत्याको भिडियो नै सार्वजनिक भएपछि नेपालमा घटनाविरुद्ध नागरिकहरु सडकमा आउँदा हिंसासमेत भड्किएको थियो । त्यसपछि नेपालीलाई इराकमा कामदारका रुपमा जान प्रतिबन्ध लगाइयो । आजसम्म यो प्रतिवन्ध हटेको छैन । तर, नेपालीहरु त्यहाँ जाने क्रम अझैसम्म रोकिएको छैन ।

Iraq-war-8

इराकका अपदस्थ शासक सद्दाम हुसेनको सत्ताविरुद्ध अमेरिकी आक्रमण र त्यसकै सेरोफेरोमा भडि्कएको गृहयुद्धका कारण नेपालीहरुलाई त्यहाँ जान प्रतिवन्ध लगाइएको हो । अहिलेसम्म पनि त्यहाँ इस्लामिक अतिवादी संगठन अलकायदा, इस्लामिक स्टेट, नुर्सा प|mन्ट लगायतका संगठनहरु सशस्त्र युद्धमै छन् ।

त्यसैकारण इराकमा त्यहाँ दैनिकजसो हिंसात्मक घटना भइरहन्छन् । यही अवस्थालाई ध्यानमा राखेर इराकमा नेपालीलाई जान स्वीकृति दिने गरिएको छैन । तर, पनि त्यहाँ अवैधानक रुपमा भारतीय मार्ग भएर जाने नेपालीको संख्या ठूलो छ । उनीहरु पनि विभिन्न अतिवादी संगठनको आक्रमणमा पर्ने सम्भावना अत्यधीक छ ।

अवैधानिकरुपमा इराक पुग्नेलाई रोक्न सरकारले कुनै कदम चाल्न सकेको छैन । राम्रो कमाइ हुने भन्दै गैरकानुनी रुपमा म्यानपावर र एजेन्टलाई ५ लाख रुपैयाँसम्म बुझाएर इराक पुग्ने नेपालीहरु पनि अफगानिस्तानमा भन्दा बढी असुरक्षित छन् ।

सिरिया

सिरिया अहिले सर्वाधिक चर्चामा रहेको अतिवादी संगठन इस्लामिक स्टेट -आइएस)को आधारभूमि हो । सिरियाको ठूलो भूभाग अहिले पनि आइएसकै नियन्त्रणमा छ । पछिल्लो दिनमा कमजोर बन्दै गए पनि सिरियामा इस्लामिक अतिवादी क्रियाकलापमा उसको संलग्नता घटेको छैन ।

syria_women_reuters_nocreditयुरोपका विभिन्न देशमा हिंसात्मक आक्रमण गरेर आफ्नो आतंकको साम्राज्यलाई विस्तार गर्दै गरेको आइएसको मुख्य अखडाका रुपमा रहेको सिरियामा नेपालीलाई काम गर्न जान सरकारले निषेध गरेकोे छ ।

तर, अधिकारकर्मीका अनुसार त्यहाँ जाने नेपाली कामदारको संख्या सानो छैन । विशेष गरी घरेलु कामदारका रुपमा जाने नेपाली महिलाहरुसमेत धेरै छन् ।

दलालहरुले रोजगारीका नाममा सिरियासम्म नेपाली महिलाको तस्करी गरिरहेका छन् । सिरियामा पुगेका थुप्रै नेपालीहरु त्यहाँ हिंसा भडि्कएपछि नेपाल फर्किएका छन् । कतिपय अझै अलपत्र छन् । तर, मानव तस्करहरुले विभिन्न प्रलोभननमा नेपालीलाई सिरिया पुर्‍याउन छाडेका छैनन्, जुन ठाउँमा दैनिक ठूला-ठूला आक्रमण हुन्छन् ।

अमेरिका, रसियासहित खाडी राष्ट्रले पनि आइएसविरुद्ध हवाइ आक्रमण गरिरहँदा आम नागरिकसँगै विदेशी कामदारहरु पनि युद्धको चेपुवामा परेका छन् ।

लिबिया

लिबिया पनि इस्लामिक स्टेटबाट धेरै खतरा भएको अर्को देश हो । यो पनि आन्तरिक गृहयुद्धमा फसेको छ । लिबियामा पनि दिनहुँजसो सानाठूला हिंसात्मक घटनाहरु भइरन्छन् । त्यसैले सरकारले त्यहाँ कामका लागि जान रोक लगाएको छ ।

libiyaइस्लामिक स्टेटको आतंकलाई नियन्त्रण गर्न लिबिया सरकार असफल भइरहेका बेला रोजगारीका नाममा नेपालीहरुलाई त्यहाँ पुर्‍याइँदैछ । लिबियासम्म नेपाली महिलालाई पुर्‍याउने सञ्जालले अवैध बाटोबाट काम गरिरहेको छ । धेरै कमाइ हुने प्रलोभनमा लिबियासम्म पुगेका धेरै नेपालीहरु उद्धारको प्रतिक्षामा छन् ।

भारत र अन्य देशको बाटो हुँदै लिबिया छिर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको अधिकारीहरु बताउँछन् । लिबियमा रहने नेपालीलाई पनि हिंसात्मक घटना र आक्रमणको जोखिम उच्च छ ।

गिनी

नेपाली कामदारलाई गिनी जान रोकिएको छ । चुनावी हिंसामा फसेका बेला घानामा जान रोकिएको थियो । लगत्तै रुबेला भाइरसको प्रकोप उच्च रुपमा फैलिएपछि गिनीमा नेपालीलाई नपठाउने निर्णय भएको थियो ।

पछिल्लो समयमा गिनीको अवस्था कस्तो छ ? यसबारे सरकारले कुनै अध्ययन गरेको छैन । अहिले गिनीमा इबोला भाइरस निवारण भइसकेको छ । तर, लामो समयदेखि रोकिएको गिनीमा कामदार पठाउन फुकाउने निर्णय भएको छैन । यी बाहेक मुस्लिम अतिवादीहरुको पकड रहको नाइजेरियासहित केही अफ्रिकी मुलुकहरुमा पनि नेपालीहरु असुरक्षित रहेको मानिन्छ ।

अफगानिस्तान

सरकारले विभिन्न शर्तहरु राखेर सेक्युरिटी गार्डकारुपमा अफगानिस्तान जान दिए पनि अफगानिस्तान नेपालीका लागि कुनै रुपमा पनि सुरक्षित गन्तव्य होइन ।

Afgan-Securityअफगानिस्तामा सक्रिय तालिवानसहित विभिन्न संगठनहरुले सार्वजनिक स्थानमा आत्मघाती बम बिष्फोट र विभिन्न आक्रमणका घटना गराइरहेका छन् । जसले, त्यहाँ काम गर्न पुगेका नेपालीहरु जोखिममा पर्ने गरेका छन् ।

असुरक्षा हुने भनेरै अफगानस्तानमा नेपालीलाई सेक्युरेटी गार्डका रुपमा मात्रै जान खुला गरिएको हो । घरेलु, औद्योगिक, कृषि सेवा लगायत अन्य कुनै पनि क्षेत्रमा अफगानिस्तानमा रहेर काम गर्न नेपालीलाई प्रतिवन्ध लगाइएको छ ।

अन्य क्षेत्रमा काम गर्नेहरुलाई भौतिक असुरक्षा धेरै हुने सरकारको ठहर छ । सोमबार भएको घटनाले भने अब सुरक्षा गार्डका रुपमा पनि नेपालीलाई अफगानिस्तान पठाउन रोक्नुपर्छ भन्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment