Comments Add Comment

खप्तडबाबाको कुटीमा पुगेर संसारलाई भुल्ने कोसिस

प्रिय खप्तड, तिमी पिरतीको प्लास्टिक ओढाउ न !

Khaptad

सरकारले घुमफिर बर्ष ०७३ घोषणा गरेपछि  कुनै न कुनै पर्यटकीय स्थानमा घुमेर देखाइदिने योजना थियो, त्यसैले म लामो दुरीको पदयात्रामा निस्कन चाहन्थें । तर, यात्राको अन्तिम बिन्दु ध्यान शिविर जस्तो होस् भन्ने चाहन्थें म, जहाँ पलेटी कसेर आफ्नो जीवनको कमजोर अनि गलत पक्षलाई ध्यान दिन सकूँ ।

भयो पनि त्यस्तै । खप्तड बाबाको कुटीमा पुगेर मैले संसारलाई भुल्ने कोसिस गरें । अनि मनमनै प्राथना गरें-“मेरी प्रिय खप्तड, मेरी स्वर्ग, म  खच्चड झैं थकाई नमानेर प्रेमको भारी बोक्छु तिम्रा लागि । स्वीकार्य छ मेरी रानी ?

ओरालो बाटोमा हिँड्दा घुँडा खुम्चिएर अति दुख्छ ।  उकालोमा तिघ्रामा प्रेसर पर्छ अनि कुर्कुच्चा खस्ला भने जस्तै हुन्छ । यद्यपि तिम्रो ३५०० मिटर उचाइ उक्लेरै छाड्ने तिब्र चाहानालाई पूरा गर्न १६ बर्षे जवानी छदाँका मेरा तिनै घुँडा, तिघ्रा र कुर्कुच्चालाई एक हप्ताका लागि काजमा फिर्ता बोलाएको थिएँ मैले ।

काजमा खटिएका यी घुँडा, तिघ्रा र कुर्कुच्चा उचालेर तिमीमाथि उक्लिनु त्यति सहज थिएन । नाकले जोत्ने उकालोमा सन्तुष्टिको केवल एक परान स्वाक्कै मर्नु नि उतिसारो रमाइलो हुन्न । तर, जब जीवनभरिको सिङ्गो जोडबल लगाएर तिमीमाथि उक्लिएँ, तब मैले बक्सिस प्राप्त गरें । अनि मायाको चिनो पनि ग्रहण गरें ।

Khaptad-Treaking

लेक लागेर वान्ता आँउदा मैले काँचो लसुन चपाएको कुरा कसैलाई नभन्नु नि, लाज लाग्छ । तर, त्यो एकलब्य उचाइमा ढुकढुकी झैँ ढड्किरहेको तिम्रो मुटु र अन्ध गल्छीको खोंच जस्तै भासिएको मेरो यो एकमुठी प्राण मलाई यस्तो लाग्छ कि अस्तिसम्म म मरेतुल्य रहेंछु ।

बाँचिरहनुको अर्थ फोक्सो फुल्नु र खुम्चिनु मात्र हुँदैन भन्ने लाग्छ । मस्तिष्कलाई स्वच्छता प्रदान गर्न सक्नु पनि त बाँच्नु रहेछ आखिर ।

काठमाडौँको धुलो-धुँवाले रेगिस्तानको बालुवा भएका मेरा एकजोर आँखाहरूले लामो समयदेखि हरितकण खोजिरहेका थिए । तिम्रो चरणका हरियो पाटनहरूले मेरा आँखा यसरी तेजस्वी बने, मानौं कि हजारौँ कोष टाढा उडिरहेका चराहरू म सजिलैसँग देख्न सक्छु ।

साइपनकी तिम्री सौतिनी मित्र माया तामाङले अति नै घृणा गरेपछि त्यसै पनि मुटु कमजोर भएको थियो। यो वचन मैले प्रार्थनामा भनेकै थिएँ । संगीन र ठूला तनावहरू सहन नसक्दा मेरो गिदी नै बाहिर निस्केला जस्तो हुन्छ । ठीक त्यतिखेर मानिसहरूलाई मेटासिट होइन,मेडिटेसनको खाँचो हुन्छ ।

प्रिय खप्तड, तिमीले मलाईमेडिटेसनगरेकीछ्यौ नि हगि ? सायद सोचेकी हौला, यो मनुष्य मेटासिट सेवन गरेर एकबारको जीवनदेखि भूमिगत हुन चाहन्थ्यो ।

कुहिरो लागेको सैलुङ्गे पहाडमाथि पोथ्रा-पोथ्रा परेको जंगलभित्र सेते दमाईले बाँसुरी बजाउँदा म धेरैपटक रोएको छु । तर, एरोलिना ट्राभल एण्स टुर मार्फत पर्यटन अभियन्ता किशोर खड्काले यो राजनैतिक विश्लेशक दिल निसानी मगरलाई निशुल्कमा खप्तड घुमाइदिने भन्दा म झन् धेरै रोएको थिएँ ।

प्रिय रानी ! मेरी खप्तड ! एकपटक किशोर भैयालाई धन्यवाद देउ न ल ?

Khaptad-Homestay

प्रिय खप्तड, तिम्रा यादहरू आँखामा आउनेवित्तिकै बझाङ लामातोलाको अधबैँसे दाजुले पिउन दिएको एकमाना दानादार घिउँको झझल्को आँउछ मलाई  । गोठालो जीवन कति धेरै निर्दोष छ हगि मेरी रानी ? कहिलेकाहीँ त चाउचाउको झोल पिएर पनि थाकिँदो रहेछ यार । हुन त मैले पनि अंगुरका झुप्पाहरू उपहार कहाँ दिनसके र तिमीलाई ?

झोलामा बोकेको फलफुल त बाटोमै सकियो । केरा, स्याउ, आँपआरूबखडा सबै सकियो । साथमा बाँकी थियो एक डल्लो साबुन । भोकले दिएको अन्तिम सजायँको क्षण साबुनसमेत खाउँ जस्तो लाग्ने रहेछ । अघिल्लो रात बझाङ लामातोला कि आमाका हातबाट रोटी, मासु र साग खाएँ । त्यसको दुई दिनपछि मसँग साबुन बाहेक केही थिएन साथमा । तर, पनि दुखी छैन म । किनभने गोठालो जुनी जिन्दावाद भयो !

मेरी रानी ! टेन्टभित्र टुरिस्टको स्टाइलमा सुतिरहेको थिए म । तिमी एक्कासी बर्षिन थाल्यौं झरी बनेर । बाघ भालु आई आक्रमण गर्छ कि भन्ने मनको डरलाई थप मलजल गर्यौं गड्याङ् गुडुङ गरेर । तर, पनि घोडावालाहरू र घोडाहरू डराएनन् । तिम्रो थोपाहरू मेरो कपाल र कान हुँदै बगेपछि म पनि डराइनँ । बरु मुटु यसरी उत्साहित भयो कि मेरी खप्तडले मलाई चुम्बन गरेकी हुन् ।

अँ तिम्रो चुम्बन नै मेरा लागि मायाको न्यानो अनुभूति थियो । त्यसैले पनि होला, साथमा ज्याकेट नभए पनि जाडोले लग्लगी काँपिन म । झोला सानो तर ज्याकेट ठूलो भएका कारण मैले ओढेको थिएँ ।

हुन त तिमीलाई मेरा पङ्तिहरूसंग पुरै रीस उठ्ला, तर म यतिखेर पुरै भावनामा डुबेको छु । थाहा छ, तिमीले मलाई पिरतीको प्लास्टिक ओढाएकी होऊ !

तिमीलाई भेट्न मैले काठमाडौँदेखि यात्रा सुरु गरेको थिएँ । धनगडी,गदाँवारी ब्रिज, खानीडाँडा, बुडर,स्याउले, खोडपे, बित्थड, देउलेख,बाग्थाला, झोता, तमइल र लामातोला हुँदै गएको थिएँ । काठमाडौँ र डोटीको बाटोको कुनै सम्झना गर्न चाहन्न म । यी बाटाहरुले तिमी र मेरो प्रेमको बुझेनन् ।

तिमी नजिक पुग्दा आकाशको जून समीपमा आएझैँ भान परेको थियो मलाई । लाग्थ्यो, म कुहिरो बनेर तिमीलाई छोपिदिउँ केहीबेर । म अझै खुलेर भन्न सकिरहेको छैन, तिम्रो स्वच्छ जमिनमाथि म कतिपटक पल्टिएँ र लडिबुडी खेलें भनेर । तिमीले कसरी त्यति धेरै हरिया पाटनहरू र तालहरु आफ्नो आँगनमा राखेर   हुर्काउन सक्यौ हँ ?

Khaptad-2

घोडाहरू चरिरहेका । गोठालाहरू गीत गाइरहेका । त्यो मादलुको ताल र डेउडाको भाका । हरिया घाँसे मैदानले हराभरा भएको पहाडको चुचुरो अनि आँखाले नियाल्न नसकिने थुम्का थुम्का मिलेर घेरिएको पाटन । तिनै पाटनका डाँडापाखामा मानिसकै नक्कल गरेर ठिङ्ग उभिएका सल्लाका  रूखहरू । भन न प्रिया म तिम्रो रुपको बयान गरूँ कसरी ?

मेरो एकबारको जुनीमा घत लगेर जाने अनुभवहरु नै थिए ती । तिमी वीचमा फुलेका फुलहरु, झरेका पात, बगेका स-साना झरना, हुलका हुल घोडाहरु, हरियो दुबो र जमिन छोएको कुहिरो नियालेर थाकिँन म ।

मैले तिम्रै पिठ्युँको जङ्गलमा जीवन देखें ! नीलो आकाशमुनिको हरियो तिम्रो मुहारले मलाई झुक्काएको छैन भने हरेक राति निदाउनभन्दा अगाडि तिम्रो मुहार हेरेर मीठो सपनाको पर्खाइमा हुन्छु  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment