Comments Add Comment

अफगानिस्तान असुरक्षित कि मलेसिया र खाडी ?

एक वर्षमा मलेसिया र खाडीमा ७१४ नेपालीको मृत्यु

Golf-country, Baideshik Rojgari

१० असार, काठमाडौं । काबुल घटनापछि अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाबारे चासो र चिन्ता बढेको छ । सरकारले त्यहाँ रहेकाहरुलाई फिर्ता ल्याउन विशेष व्यवस्था गर्ने पनि जनाएको छ ।

कामका लागि विदेशमा रहेकाले आतंकवादी हमलामा ज्यान गुमाउनु दुखद नियति हो । यसले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाको प्रश्न उब्जाएको छ । सरकारले विहीबार मात्रै अफगानिस्तानसहित ४ द्वन्द्वग्रस्त मुलुकमा नेपालीलाई जान प्रतिवन्ध लगाउने निर्णय गर्‍यो ।

तर, सरकारले प्रतिवन्ध लगाएका अफगानिस्तानसहित इराक, सिरिया र लिबिया मात्रै नेपालीका लागि असुरक्षित हुन् त ? मलेसियाका लागि पूर्वराजदूत ऋषि अधिकारी भन्छन्- ‘द्वन्द्व चलिरहेकाले अफगानिस्तानमा त आतंकवादी आक्रमणको जोखिम धेरै देखियो । एकैपटक धेरै नेपाली मारिँदा सरकार संवेदनशील पनि देखियो । तर, मलेसियासहितका खाडी मुलुकमा पनि कामदारलाई स्वास्थ्य, आर्थिक, भौतिक र सामाजिक असुरक्षा कम्ति छैन ।’

अधिकारीका अनुसार नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरुमा पनि सुरक्षा सवाल निकै कमजोर छ भन्ने प्रमाण विदेशमा ज्यान गुमाउनेको संख्याले नै पुष्टी गर्छ । चालु आर्थिक वर्षमा मात्रै ७ सय १४ जना नेपालीले मलेसियासहितका खाडी मुलकुमा ज्यान गुमाएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको रेकर्ड छ । यसमा अवैधानिक रुपमा गएर मृत्यु हुनेको संख्या गणना भएको छैन । यसअघि वर्षमा १ हजारको हाराहारीमा नेपालीले प्रमुख श्रम गन्तब्य मुलकुमा ज्यान गुमाउने गरेका छन् ।

पूर्वराजदूत अधिकारीका अनुसार गतब्य मुलुकसँग सरकारले कामदारको सुरक्षाका सवाल नउठाउँदा मलेसिया र खाडी मुलुक अफगानिस्तान भन्दा असुरक्षित देखिएका छन् ।

‘अफगानिस्तानमा दुःखद घटना भयो । तर, मलेसियासहित खाडी मुलुक र कोरियाबाट दिनको ३ जनाको शव बाकसमै र्फकन्छ भन्ने पनि सरकारले भुल्नुहुँदैन’ अधिकारीले भने- ‘यी देशमा पनि लुटपाट र ठगी गर्ने गिरोहबाट कामदार असुरक्षित छन् । प्रमुख गन्तव्य मुलुकमा सम्झौताअनुरुप तलव, ओभरटाइम नदिएर कामदार आर्थिक रुपमा असुरक्षित छन् । बेलामा उपचार नपाएर धेरै कामदारले मृत्युवरण गर्दैछन् । यी सबै सुरक्षाकै सवाल हो भन्ने बुझ्नुपर्छ ।’

किन हुन्छ मृत्यु ?

वैदेशिक रोजगारीमा जानेहरुको मृत्यु विभिन्न कारणले हुने गरेको छ । अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । केहीको हत्या भएको छ भने केहीले आत्महत्या गरेको पाइएको छ । धेरै नेपालीहरुको हृदयाघातका कारणले पनि निधन हुने गरेको छ ।

बितेको सन् २०१५ मा विदेशी भूमिमा हृदयाघातका कारण १ सय २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सडक दुर्घटनामा परेर मृत्यु हुने नेपाली कामदारको संख्या १ सय १८ छ । एक वर्षमा ‘कार्डिक एरेष्ट’ का कारण २ सय ५१ जनाको मृत्यु भएको छ । कार्यस्थलमा दुर्घटनामा परेर १ सय ९ जना नेपालीको मृत्यु भएको छ । यसमा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरु पर्ने गरेको बोर्डले जनाएको छ ।

कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने क्रम पनि निकै बढेको बोर्डका सहायक निर्देशक दिपेन्द्र पौडेेल बताउँछन् ।

सन् २०१५ मा ३ जना नेपालीको विदशेमै हत्या भएको छ । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसिवीमा पनि हत्याका घटना हुने गरेका छन् ।

त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोपलगायतका कारण पनि ३८ जना नेपालीले ज्यान गुमाएका छन् । २ सय ४८ जनाको प्राकृतिक मृत्यु भएको छ भने अन्य कारणले ३८ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक मृत्यु बाहेक अन्य सबै कामदारको सुरक्षासँग नै सम्बन्धित रहेको देखिन्छ ।

कार्यस्थलमै मृत्यु, घाइते र अंगभंग भएकाहरुको परिवारले रोजगारदाताबाट एक रुपैयाँ पनि क्षतिपूर्ति पाउँदैनन् । त्यसै अहिले खाडीमा आउनेको सुरक्षाको ग्यारेन्टी सरकारले रोजगारदाता मुलकुसँग माग्नुपर्छ भन्ने आवाज उठेको छ ।

त्यसका लागि प्रमुख श्रम गन्तब्य मुलुकसँग कामदार रोकेरै भएपनि सुरक्षाको सवालहरु उठाउनुपर्ने पूर्वराजदूत अधिकारीको धारणा छ । ‘बेरोजगारी समस्याका कारण हामीलाई मलेसिया र खाडीको रोजगारी महत्वपूर्ण छ भन्ने हामीलाई लाग्छ । तर, त्योभन्दा बढि उनीहरुलाई नेपाली कामदारको खाँचो छ’ अधिकारीले भने-‘नेपाली कामदारको इमान्दारिता र मेहनत नै त्यहाँ बढी प्रशंशित छ । त्यसैले हामीले कामदारका सवाललाई सशक्त ढंगले उठाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment