Comments Add Comment

भाइवर लोकप्रिय हुने मुलुकमध्ये नेपाल प्रमुख दशभित्र पर्छ

विश्वका १९३ देशमा प्रयोग भइरहेको म्यासेजिङ एप भाइवरका दक्षिण एशिया प्रमुख हुन्, अनुभव नायर  । विश्वभर भाइवर प्रयोगकर्ता ७ करोडभन्दा बढी छन् । नेपालमा भाइवर प्रयोगकर्ताको संख्या ४५ लाख पुगिसकेको छ ।

भाइवरले नेपाललाई मुख्य बजारका रुपमा लिएको र लगानी गर्न इच्छुक रहेको बताएको छ । अनलाइनखबरले भाइवरका दक्षिण एशिया प्रमुख नायरसँग सोध्यो, नेपालमा भाइवरका प्रयोगकर्ता बढाउन तपाईंहरुको खास योजना के छ ? 

Anubhav Nayyar Viber Head South Asia (2)

नेपालमा धेरै अन्तर्राष्ट्रिय म्यासेजिङ र सोसल मिडिया एपहरू प्रयोग गरिन्छ । तर, त्यस एपसँग सम्बन्धीत व्यक्तिहरु कमैमात्र नेपालमा आउँछन् र प्रयोगकर्तासँग कुरा गर्छन् । भाइवरको क्षेत्रिय प्रमुख नेपाल आउनुको कारण के हो ?

नेपालीहरु भाइवरलाई पराउँछन् । र, हामी पनि नेपालीहरुको साथ पाएकोमा गौरवान्वित महशुस गर्छौं । त्यसैले नेपाल आएर उनीहरुसँग कुराकानी गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।

नेपालले द्रुत गतिमा प्रगति गरिरहेको छ । र, हामी नेपालको यो यात्रामा साथ दिन चाहान्छौं । हिजोमात्र एक जना व्यक्तिले सोधे, तपार्इंहरुको नेपालमा लक्ष्य के हो ? मैले भनेँ, नेपालमा २ करोड ८० लाख मानिसहरु छन् । जसमध्ये २ करोडको हाराहारीमा बयस्क होलान् । हाम्रो लक्ष्य भनेको ती २ करोडलाई भाइवर प्रयोगकर्ता बनाउने हो । त्यसैले हामी नेपालमा आएर भाइवरको बारेमा कुराकानी गर्नु खासै अस्वभाविक होइन ।

तपाई भाइवरको दक्षिण एशियाको प्रमुख हुनुहुन्छ । दक्षिण एशियाका अन्य मुलुकहरुको तुलनामा नेपालमा भाइवर प्रयोगकर्ताको स्थिती के छ ?

हामीले कुनै पनि देशको जनसंख्यालाई निरपेक्ष तरिकाले हेर्न मिल्दैन । नेपालको जनसंख्या २ करोड ८० लाख छ भने भारतको जनसंख्या १ अर्ब २० करोड रहेको छ । नेपालमा चाहेर पनि हामीले तीन करोड भन्दा बढी प्रयोगकर्ता बनाउन सक्दैनौं । त्यसैले हामीले कुल जनसंख्याको कति प्रतिशतले भाइवर चलाउँछन भनेर हेर्नुपर्छ । त्यसो गर्दा नेपाल दक्षिण एशियामा मात्र होइन, सिंगो विश्वमै टप टेन मुलुकमा पर्छ ।

भाइवरका धेरैजसो सेवाहरु निःशुल्क छन् । त्यसो भए भाइवरले पैसा कहाँबाट कमाउँछ ? संसारमा फ्रि लञ्च कहिल्यै पनि हुँदैन भन्छन् नी ?

तपाईले ठिक भन्नुभयो । यो प्रश्नको जवाफ दिनुभन्दा अगाडि भाइवर कसरी सुरु भयो भन्ने कुरा गरौं । मैले केही वर्षअघि भाइवरका संस्थापकलाई तपाईंले किन भाइवर सुरु गर्नुभयो भनेर सोधेको थिएँ । उनले मलाई भनेका थिए, एक दिन मलाई मेरो प्रेमीकासँग कुरा गर्न मन लाग्यो । तर, फोन लागेन । मैले सोँचे, सरल र सस्तो तरिकाले आफ्ना प्रियजनसँग कुराकानी गर्न मिल्ने एप बनाए कसो होला । Anubhav Nayyar Viber Head South Asia (4)

तपाइलाई थाहा होला, भाइवरका सेवाहरुमध्ये ९५ प्रतिशत निःशुल्क प्रयोग गर्न सकिन्छ । हामीले आफ्ना प्रयोगकर्तालाई पैसा पर्ने सेवाहरु किन्नलाई कहिल्यै पनि दबाव दिँदैनौं । हामीले विज्ञापन पनि देखाउँदैनौं ।

हामीले भाइवर आउटमा यति खर्च गर्नुस, १० दिनसम्म भाइवर चलाउनुस भन्ने कुरा पनि गर्दैनौं । तर, यसो भन्दैमा कम्पनीको आम्दानीका स्रोतहरु छैनन भन्न खोजेको पनि होइन । म जस्ता कर्मचारीहरुलाई तलव दिनुपर्छ । भाइवरले आफ्नो सर्भरहरु सञ्चालन गर्नका लागि पनि खर्च गरिरहनुपर्छ ।

भाइवरको आम्दानीका प्रमुख तीन स्रोतहरु छन् । पहिलो स्रोत भनेको भाइवर आउट सेवा हो । जसअन्तर्गत निश्चित शुल्कमा तपाईले भाइवरबाट संसारभरका ल्याण्डलाइन र मोबाइल फोनमा इन्टरनेटको माध्यमबाट फोन गर्न सक्नुहुन्छ ।

दोस्रो स्रोतमा हामीले प्रदान गर्ने प्रिमियम स्टिकरहरु हुन् । र, तेस्रो भनेको हामीले हाम्रा साझेदार संस्थाहरुसँग गर्ने व्यापार हो । यी मध्ये भाइवर आउट सबैभन्दा महत्वपूर्ण आम्दानीको स्रोत हो ।

किनभने नेपाल, भारत, फिलिपिन्स जस्ता एशियाली मुलुकहरुमा इन्टरनेटको गुणस्तर राम्रो छैन । तर, खाडी मुलुक र अमेरिकामा गुणस्तरीय इन्टरनेट कनेक्सन सर्वसुलभ छ । एशियाबाट खाडी मुलुक तथा अमेरिकामा बसाईं सरेका मानिसहरु भाइवर आउटको प्रयोग गरेर आफ्नो देशमा रहेका आफन्तहरुसँग कुरा गर्छन् । यो सेवा अरु प्रदायकहरुको भन्दा सस्तो रहेको छ ।

हामीले जहिले पनि एपहरु डाउनलोड गर्दा त्यसका शर्तहरु के छन् भनेर पढ्दैनौं । त्यसमा के लेखेको हुन्छ भनेर धेरैलाई मतलव पनि हुँदैन । भाइवरले प्रयोगकर्ताहरुलार्इ डेटाको बारेमा कस्तो नीति लिएको छ ?

भाइवरमा भएका कुराकानीहरु प्राइभेट रहन्छन् । तपाइले गरेको कुराकानीहरु भाइवरका कर्मचारीले समेत हेर्न सक्दैनन् । हामीले भर्खरै प्रयोगमा ल्याएको ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ प्रणालीले भाइवरलाई अझै सुरक्षित बनाएको छ ।

बजारमा थुप्रै एपहरु छन्, जसले भाइवरले गर्ने कामहरु गर्छन् । मानिसले भाइवर नै प्रयोग गर्नुपर्ने कारण के छ ?

सबैभन्दा पहिला भाइवर तपाईंको मोबाइल नम्बरसँग जोडिएको हुन्छ । भाइवर फेसबुकभन्दा प्राइभेट हुन्छ । फेसबुकको कुरा गर्ने हो भने तपाईंले ४० देखि ५० प्रतिशत साथीहरुलाई कहिल्यै पनि भेट्नुभएको छैन होला ।

कहिलेकाँही तपाईंले सोँच्नुहुन्न, यो मान्छेलाई मैले कहिले साथी बनाएछु ? तपाईंको फोन नम्बर प्रसनल हुन्छ । तपाईंले त्यसमा सिकर्मी र प्लम्बरको नम्बर पनि सेभ गर्नुभयो होला । बाँकी सबै नम्बर तपाईंले व्यक्तिगत रुपमा चिनेका मान्छेहरुका हुन् ।

यो त भयो भाइवरमा भएका फिचरहरु । तर, खाली प्रोडक्टका फिचरहरुले मात्रै यसको चिनारी बनाउँदैन । कम्पनीको मनसाय के छ भन्ने पनि हेर्नुपर्छ । हामीले नेपालमा भूकम्प गएपछि भाइवर आउटलाई केही समय पूर्णतया निःशुल्क बनाइदियौं ।

त्यतिबेला नेपालीलाई सहयोग गर्न पाउँदा हामीलाई खुशी लाग्यो । कुनै प्राकृतिक विपत आएको बेलामा सञ्चारकर्मीका रुपमा तपाईंले सकेसम्म राम्रो कभरेज दिन कोशिष गर्नुहुन्छ । त्यसैगरी हामीले पनि कम्यूनिकेसन एपको भूमिकामा मानिसहरुलाई सकेसम्म राम्रो सेवा दिने प्रयत्न गरेका हौं ।

viber (2)

त्यसैले कुनै पनि प्रोडक्टमा यो फिचर छ, त्यो फिचर छैन भनेर हेर्नु भन्दा पनि त्यसले प्रयोगकर्ताहरुका लागि के गर्न सक्छ भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । यसले पनि हामीलाई नेपालमा अरु एपहरुबाट फरक पहिचान बनाउन मद्दत गरेको छ ।

भिडियो कल गर्नका लागि स्काइप छ, च्याट गर्नका लागि फेसबुक छ । त्यसो भए भाइबर के गर्न चाहिन्छ ?

भाइवरमा नयाँ पुस्तामाझ स्टिकरहरु लोकप्रिय छ भने अरुका लागि सजिलैसँग कुराकानी गर्न सकिने सुविधा छ । नेपालजस्तो मुलुकमा प्रयोग हुने भनेका ८ देखि ९ हजार रुपैयाँसम्म पर्ने स्मार्टफोन हुन् । भाइवर प्रयोग हुने भनेको पनि यस्तै फोनहरुमा हो ।

यस्तो फोनहरुमा मेमोरी र स्टोरेज दुबै कम हुन्छ । धेरैवटा एप एकैसाथ चलाउन मिल्दैन । यदि दुई तिनवटा एपले दिन सक्ने सुविधा एउटै एपले दिनसक्छ भने त्यस्तो एप लोकप्रिय हुन्छ । भाइवर पनि त्यस्तै एप हो ।

हामीले भाइवरलाई फोन भित्रको फोनको रुपमा विकास गर्न चाहेका छौं । र, नेपालका लागि छिट्टै नै नयाँ सुविधाहरु उपलब्ध गराउने छौं ।

भाइवर एउटा म्यासेजिङ एप हो । सोसल मिडिया फर्माटमा जाने सोँचाई छ कि छैन ?

हामीले पब्लिक च्याटमा सोसल मिडियालाई केही पाटोहरुमा छुने प्रयास गरेका छौं । तर, हामी अर्को फेसबुक बन्न चाहाँदैनौं । फेसबुकले जे गर्दैछ, त्यो उसले राम्रोसँग गर्दैछ ।

मैले नयाँ पुस्ताका धेरैसँग कुरा गर्दा उनीहरुको चिन्ताको विषय प्राइभेसी रहेको छ । फेसबुक उनीहरुका बुवा आमा पनि हुन्छन्, उनीहरु के गरिरहेका छन् भनेर चियो चर्चो गरिरहेका हुन्छन् । यो कुरा नयाँ पुस्तालाई मन पर्दैन ।

यो समस्यालाई मध्यनजर गर्दै हामीले हालै सिक्रेट च्याट सेवा सुरु गरेका छौं । यसमा तपाईंले गरेको च्याटलाई पासवर्ड हालेर बन्द गर्न सक्नुहुन्छ । यो कुराकानी पासवर्ड हालेपछि मात्र हेर्न मिल्छ । यो सेवा खासै ठूलो कुरा नभए पनि नयाँ पुस्ताका लागि ठूलो अर्थ राख्छ ।

तपाईंले नयाँ पुस्ताको कुरा गर्नुभयो । भाइवरमा कुन उमेर समुहका प्रयोगकर्ता बढी छन् ?

भाइवरमा महिला र पुरुषको रेसियो ४५ः५५ रहेको छ । त्यस्तै, १६ देखि ३० वर्षभित्रका प्रयोगकर्ता करिव ६५ प्रतिशत रहेको छ । करिव ५० प्रतिशत प्रयोगर्ताले भाइवर दिनदिनै प्रयोग गर्छन् । २५ देखि २७ प्रतिशतले कहिलेकाहीँ प्रयोग गर्छन् । बाँकीले भाइवर डाउनलोड गरेर राखेका छन्, खासै प्रयोग गर्दैनन् ।

नेपालमा अपराध नियन्त्रणमा संलग्न अधिकारीहरुले अन्तर्राष्ट्रिय रुपमा प्रयोग हुने एपहरुको प्रतिनिधि संस्था नेपालमा नहुँदा अपराधको अनुसन्धान गर्न गाह्रो भइरहेको बताउँछन् । भाइबरको नेपालमा प्रतिनिधि संस्था खोल्ने योजना छ ?

तपाइलाई थाहा होला, भाइबर १९३ देशमा प्रयोग हुन्छ । सबै देशमा अफिस खोलेर सम्भव हुँदैन । यसका लागि केन्द्रीकृत अफिस खोलिएको छ, त्यहाँ चौबिसै घण्टा कर्मचारीहरु हुन्छन् । त्यहाँ सम्पर्क गर्न सकिन्छ ।

Anubhav Nayyar Viber Head South Asia (3)

रेमिट्यान्समा पनि भाइवर प्रवेश गरेको भनिन्छ, के हो ?

भाइवरले हालै वेष्टर्न युनियनसँग सहकार्य गरी विश्वका ६५ देशहरुमा अमेरिकाबाट पैसा पठाउन सकिने सुविधा सुरु गरेको छ । तर, यो सेवा अहिले नेपालमा उपलब्ध छैन । हामी छिट्टै नेपालमा पनि यो सेवा सुरु गर्न चाहान्छौं ।

नेपालमा प्रयोगकर्तासँग अन्तर्राष्ट्रिय क्रेडिट कार्ड छैन । भाइबर आउट र स्टिकर खरिद गर्नका लागि पैसा तिर्न असहज छ । यसमा तपाईंहरुले के सोँच्नुभएको छ ?

यसमा तीनवटा विकल्प हुन सक्छन् । पहिलो दुरसञ्चार सेवाप्रदायकसँग सम्झौता गरेर उनीहरुमार्फत बिलिङ गर्न सकिन्छ । दोस्रोमा ई-सेवा जस्ता मोबाइल वालेटको प्रयोग गर्न सकिन्छ । तेस्रोमा रिचार्ज कार्डमार्फत गर्न सकिन्छ । तीनवटै विकल्पमा हामीले सोँचिरहेका छौं ।

भाइवरजस्ता ओभर द टप सेवहरुका कारण संसारभरी नै दुरसञ्चार प्रदायकहरुको भ्वाइस कलबाट हुने आम्दानी घट्दो छ । यस्तो अवस्थामा टेलिकम सेवाप्रदायकहरु भाइवरसँग मिलेर काम गर्न सजिलै मान्लान ?

हामीले अरु देशमा टेलिकम सेवा प्रदायकसँग मिलेर काम गरिरहेका छौं । उदाहरणको रुपमा फिलिपिन्सलाई लिन सकिन्छ । हालैमात्र नेपाल नजिकैको देशसँग टेलिकम सेवाप्रदायकसँग सम्झौता गरिसकेका छौं । एक महिनाभित्र उक्त सम्झौता कार्यान्वयन हुँदैछ ।

टेलिकम प्रदायक कम्पनीहरुलाई थाहा छ कि भाइवरजस्ता सेवा दिने कम्पनीसँग मिलेर अगाडि बढ्नु लाभदायक छ । हामी कुनै पनि संस्थासँग साझेदारी आम्दानी बाँडफाँडको आधारमा गर्छौं ।

उसो भए ५०/५० प्रतिशत हुन्छ त ?

हाहा, साँच्चै भन्दा त्यस्तो निश्चित फर्मुला छैन ।

नेपालको दुरसञ्चार पूर्वाधारमा लगानी गर्ने योजना छ कि छैन ?

भाइवर भनेको कम्युनिकेसन कम्पनी हो । हामीसँग तार बिच्छाउने विशेषज्ञता छैन । र, हामीले अन्त कतै पनि त्यस्तो पूर्वाधारमा लगानी गरेका छैनौं । तर, हामीले वाईफाई हटस्पटहरुमा लगानी भने गरिरहेका छौं । र, यदि नेपालमा इन्टरनेट नभएकै कारण मानिसहरुले भाइवर चलाउन पाएका छैनन् भने हामी नेपालमा हटस्पटहरुमा लगानी गर्ने सोँच्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment