Comments Add Comment

स्थलगत रिपोर्टः कहाँ पुग्यो भारत र चीन जोड्ने किमाथांका सडक ?

सरकार भन्छ- दुई वर्षमा बन्छ, प्राविधिक भन्छन्- बन्दैन

Kimanthanka Map

१० असार, मोरङ । बिराटनरगको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन-भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ । यो बाटो चाँडो  बनाउनुपर्ने र अरुण तेस्रो जलविद्युत आयोजनासमेत छिटो निर्माण हुनुपर्ने संखुवासभाबासीहरुको माग छ ।

किमाथाङ्का पूर्वी नेपालको चीन जोड्ने नाका हो । ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांकालाई पूर्वी नेपालका दुई महत्वपूर्ण चिनियाँ नाका मानिन्छन् । यी दुबै नाकाहरुलाई सडक सञ्जालमा जोड्ने काम हुन सकिरहेको छैन ।

बिराटनगरबाट किमाथाङकासम्म पुग्ने बाटोको अवस्था अहिले कस्तो छ ? यसबारे अनलाइनखबरकर्मी ध्रुव  भट्टराईले संखुवासभा पुगेर तयार पारेको स्थलगत रिपोर्ट:

चीन र भारत जोडने सबैभन्दा छोटो मार्ग मानिएको यो बाटोको दुरी लगभग ३ सय ७६ किलोमिटर छ । जोगवनीदेखि खाँदबारीसम्म अहिले यातायात सेवा सुचारु छ । खाँदबारीबाट ४० किलोमिटर टाढा रहेको नुम बजारसम्म यतिबेला सडक बनिसकेको छ र सवारी साधनहरु चल्न थालेका छन् ।

khadabari num sadak ko durabastha
खाँदबारी-नुम सडकको दुरावस्था

नुमदेखि हेटाङनासम्म सडकको ट्रयाक खोल्ने प्रयास भइरहेको छ भने हेटाङनादेखि बरुणसम्म ट्रयाक खोल्नका लागि टेण्डर आह्वानको प्रक्रिया अघि बढ्न लागेको छ ।

किमाथाङकासम्म करिब ८६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खोलिएको ठाउँलाई सवारी साधन चल्ने योग्य बनाउने र हाल सवारी साधन सलिरहेको सडकलाई स्तरोन्नति गर्न बाँकी छ ।

उतर-दक्षिण  कोशी सडक योजना वसन्तपुर किमाथांका खण्ड कार्यालयका सबइञ्जिनियर अशोक शर्माका अनुसार अहिले खाँदवारीदेखि किमाथांकासम्मको कुल १ सय ६२ किलो मिटर सडक मध्ये ७७ किलो मिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएको छ ।

यसअन्तर्गत किमाथांकाबाट चौकीडाँडासम्मको ९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ भने खाँदबारीदेखि ३९ किलोमिटर दुरीमा रहेको नुम बजारसम्म अहिले गाडी सञ्चालन हुने अवस्था छ ।

num bajar
नुम बजार

सो सडकखण्ड टेजुखोलादेखि पाथीभरा सकुवासम्मको ४० किलो मिटर सडक अहिले स्तरोन्नन्ती गर्ने क्रममा रहेको कार्यालयले जनाएको छ । कुल ५५ करोडको बजेटमा यो सडक खण्डलाई ३ मिटरबाट बढाएर ८ मिटरको चौडा गर्ने काम भइरहेको शर्माले बताए ।

सदरमुकाम खाँदबारीबाट किमाथांकासम्मको दुरी कुल १६२ किलोमिटर छ । जसमध्ये ८६ किलोमिटर ट्रयाक खन्ने काम बाँकी छ । सदरमुकाम खाँदबारीबाट दयाङकुटी १७ किलोमिटर दुरीमा पर्छ भने नुमबजार ४० किलोमिटर दुरीमा पर्छ । नुम बजारसम्म गाडी पुगिसकेको छ । खाँदबारीबाट दयाङकुटी, नुम, हेटाङना, बरुण, हटिया र चेपुवा हुँदै किमाथाङकासम्म दुई वर्षभित्र बाटो पुर्‍याउने सरकारको लक्ष छ ।

वरुण क्षेत्रको नजिकसम्म सडकको ट्रयाक खोल्न टेण्डर आह्वान गर्ने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अरुण नदी बग्ने दोभानमा अहिले १० करोडको लागतमा पुल निर्माणधीन अवस्थामा  छ ।

कोशी राजमार्ग खाँदबारी र किमाथांका दुवै तर्फबाट हाल सडक खन्ने काम सुरु गरिएको छ । सरकारले राष्ट्रिय गौरवका रुपमा लिएपछि यसको निर्माण कार्यले समेत तिव्रता पाएको हो ।

बिराटनगरको रानीदेखि तिब्बतसम्म जोड्ने छोटो नाकाका रुपमा रहेको किमाथाङ्का सडक निर्माणसँगै संखुवासभावासीमा खुशी छाएको छ ।

khadabari num bajar sadak
खाँदबारी-नुम सडक

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष अनन्त गौली किमाथांका सडक निर्माण र अरुण तेश्रो जलविद्युत निर्माणसँगै संखुवासभा जिल्लाकै मुहार फेरिनेमा विश्वस्त छन् । गौली भन्छन्-यी दुई ठूला आयोजना पूरा भएको खण्डमा पूर्वी पहाडी जिल्ला संखुवासभा पर्यटन, कृषि र व्यापारिक केन्द्रका रुपमा चम्कने निश्चित छ, जसले गर्दा संखुवासभाको विकासमा कायापलट ल्याइदिन सक्छ ।

हाल संखुवासभाको नुमसम्म धूलेसडक जोडिएको छ । भारतले केही वर्षअघि चीनसँग व्यापार बढाउन नाथुला नाका खोलेको भए पनि हिउँका कारण उक्त नाका वर्षमा ४ महिनामात्रै खुल्ने गर्छ । जोगवनी-किमाथांका सडक जोडिएको अवस्थामा बाह्रै महिना सञ्चालनमा रहन सक्छ ।

यो सडक बनेमा भारत र चीनमात्रै नभई बंगलादेश र भुटानलाई पनि जोडेर आर्थिक लाभ लिन सकिने खाँदवारीका स्थानीय व्यपारी सुमन श्रेष्ठले जानकारी दिए । उनले हाल तिब्बततर्फ निकासी हुने बहुमूल्य जडीवुटी चिराइतो, यार्सागुम्वा आदि हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था रहेको भन्दै यो सडक सञ्जालले चीनसँग छोएपछि जडीबुटी निकासीमा समेत सहज हुनेछ बताए ।

सरकारी लक्ष्यअनुसार काम गर्न सम्भव छैनः प्राविधिक

किमाथांका जोड्ने सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । तर, भौगोलिक विकटता र काम गर्ने जनशक्तिको कमीले गर्दा दुई वर्षभित्र कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गर्न नसकिने प्राविधिकहरुको निश्कर्ष छ ।

हाल सडकको काम सुचारु भए पनि कतिपय स्थानमा ठूला-ठूला पहाड फुटाउनुपर्ने अवस्था रहेकाले तोकिएकै समयमा सडक निर्माणले पूर्णता पाउन नसक्ने खाँदबारी किमाथांका सडक खण्ड हेर्दै आएका प्राविधिक अशोक शर्माले बताए ।

सोही सडकखण्ड अन्तर्गत पर्ने हाल ट्रयाक खोल्ने तयारीको अवस्थामा रहेको चेपुवा क्षेत्रमा सबैभन्दा ठूलो भीर छ । त्यसक्षेत्रमा सडकको ट्रयाक खोल्न धेरै समय लाग्ने शर्मा बताउँछन् । त्यसैगरी अन्य क्षेत्रमा पनि भीर फुटाएर काम गर्नुपर्ने भएकाले काम कछुवाको गतिमा अघि बढेको छ ।

संखुवासभा सदरमुकामदेखि नुम बजारसम्मको क्षेत्रमा पनि धेरै स्थानमा साडट थप गर्नुपर्ने शर्माको भनाइ छ । अहिले सो स्थानमा एउटा साडट मात्रै रहेको छ, जसमा काम गर्ने जनशक्तिको अभाव छ ।

पूर्वी नेपालको छोटो व्यापारिक मार्ग

गत वर्षको बजेटमा सडक सञ्जाल विकासका लागि सरकारले ९ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, उक्त बजेटमा जोगवनी-किमाथांका मार्ग निर्माणका लागि रकम परेको थिएन । तिब्बतको यो नाकालाई धनकुटा र धरान हुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष छ ।

वि.सं. ०६० सालमा नेपाल र चीनबीच किमाथांका नाका खोल्ने सहमति भएको थियो । भारत र चीन जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो । आगामी बजेटमा यो सडकलाई प्राथमिकतामा राखेर निर्माण गरिए व्यापार मात्र होइन, पर्यटन विकासका लागि पनि कोसेढुंगा साबित हुनेछ ।

यो मार्ग सञ्चालनमा ल्याउन सके यहाँबाट खाद्य, हस्तकलाका साथै जडिबुटी गरेर २ सय ७८ प्रकारका सामान निकासी गर्न सक्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांकले देखाएको छ ।

पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्वपूर्ण नाकाहरु छन् । तीमध्ये एउटा संखुवासभाको किमाथांका नाका हो भने अर्को ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला नाका हो । यी दुबै नाकाहरु भारत र चीनलाई छोटो दुरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट पोइन्ट हुने संखुवासभाका स्थानीय व्यापारी बताउँछन् ।

बिराटनगरको सीमावर्ती जोगवनीसँग यी दुबै नाकालाई जोड्न सके पूर्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि पाउन सक्ने पूर्वाञ्चलवासीको माग रहँदै आएको छ ।

arun tesro nimar hune dobhan dekhaudai isthaniya
अरुण तेस्रो जलविद्युत आयोजना निर्माणस्थल देखाउँदै स्थानीय

संखुवासभा पर्यटकीय हिसावले पनि महत्वपूर्ण छ । एकातिर नजिकै अन्वेषण भइरहेको अरुण तेस्रोको प्रतिक्षा अनि सडक सञ्जाल यही ठाउँ हुँदै किमाथांका हुँदै चीनसम्म पुग्ने छोटो मार्गका रुपमा स्थापित हुँदैछ ।

अरु पनि विभिन्न कारण छन्, जसले स्थानीयवासीलाई उत्साहित बनाएको छ । तर, काम भने कछुवाको गतिमा हुँदा स्थानीयको एउटै भनाइ छ- काम चाँडै सकिएर हामीले आफ्नै जीवनमा सेवा सुविधा पाउन पाए हुन्थ्यो ।

सरकारले ल्याएको योजनाबाट ठूलो आशा बोकेका नुम-५, संखुवासभाका धनबहादुर राईले सडक बन्ने भयो भनेर आफूले जग्गासमेत छाडेको बताए । काम ढीलो हुँदा केही आशंका उब्जिएको बताउँदै राईले यो बाटो निर्माणमा सरकारले अलि बढी ध्यान दिनुपर्ने बताए ।

यो बाटो अन्तरगत हाल चैनपुरदेखि संखुवासभाको सदरमुकाम खाँदवारीसम्म कालोपत्रे गर्ने कार्य भएको छ । केही स्थानमा मर्मत सम्भार भइरहेको छ ।

उता चिनियाँ क्षेत्रवाट निर्माण सामाग्री र कामदार ल्याएर दुईतर्फी रुपमा सडकको ट्रयाक खोल्ने कार्य भइरहेको छ । त्यसमा थपिएको अरुण तेस्रोको निर्माणको हल्लाले झन यहाँका स्थानीयलाई थप उत्साहित बनाएको स्थानीयवासी पुष्प कटुवालले वताए ।

यसैगरी संखुवासभाको वहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको पनि पीडीए भइसकेकाले संखुवासभामा विकासका नयाँ आशाहरु पलाउन थालेका छन् ।

सोध्दैछन्, कहिले बन्छ सडक ?

वर्षातको सुरुवातसँगै पूर्वी पहाडी जिल्ला संखुवासभाको सडक खहरेमा परिणत हुन थाल्छ । १२ महिनामा ६ महिना पनि राम्ररी गाडी गुड्न नसक्ने यहाँको सडकले जनतालाई सुविधा भन्दा सास्ती दिइरहेको छ । वर्षायाम सुरु भएपछि हिलाम्ये हुने सडकमा सुख्खायाममा गाडी गुड्दा यात्रुलाई धुलोले विरुपै बनाउँछ ।

hile chainpur sadak
हिले-चैनपुर सडक

कोशी पहाडी राजमार्गको सिधुँवादेखि चैनपुर हुँदै खाँदबारीसम्म आउने सडकको दुर्दशाले यात्रहरुले ठूलै सास्ती भोग्नुपरेको छ । धनकुटा सडक कार्यालय र तुम्लिङटार सडक डिभिजन कार्यालयले हरेक वर्ष सडक मर्मतका लागि लाखौं खर्च गर्ने गरेका छन् । पहिले चल्ने बसहरु अहिले घट्दै जान थालेको स्थानीय शिक्षक हरिकृष्ण ढकालको भनाइ छ । यसको मर्मत सम्भारमा कसैको पनि ध्यान जान सकेन ।

सडक डिभिजनले करोडौं रुपैयाँ खर्च गरेर मर्मत गरे पनि बालुवामा पानी हाल्नेजस्तो मात्रै भएको छ । वसन्तपुरबाट चैनपुर खण्डसम्म गरिएको कालोपत्रे उक्किएको छ । जति नै मर्मत गरिए पनि एक महिना नटिक्ने स्थानीय बताउँछन् ।

यद्यपि यही बाटो भएर पर्यटक आउँछन् पनि अरुण तेस्रो जलविद्युत आयोजना बन्छ भन्नेमा पनि धेरैको आशा देखिन्छ । अरुण तेश्रो बन्न थालेपछि सबै कुराको बिकास हुन्छ भन्ने जिल्लाबासीको दाबी छ ।

नुमवासी शान्त कटुवाल भन्छन्, अरुण तेस्रोको काम शुरु भएमा सडक पनि राम्रो बन्ने थियो ।

basantpur bajar
बसन्तपुर बजार

 कोशी राजमार्गअन्तर्गत संखुवासभा जोड्ने मुख्य सडक  निर्माण पूरा भएको ६ वर्ष नबित्दै पुरानै अवस्थामा फर्केको छ । एशियाली विकास बैंकको लगानीमा कालोपत्रे गरिएको ७५ किलोमिटर सडकको कालोपत्रे पानीले बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो ।

सुनसरीको धरानबाट १ सय ४२ किलोमिटर सडकमध्ये ६० किलोमिटर सडकको ठाउँ-ठाउँमा ठूल्ठूला खाल्टा परेका छन् । कालोपत्रे र ग्राभेल भएको डेढ वर्षमै नामोनिसान मेटिएको छ । ठेकेदार र सरकारी अधिकारीले कमिशन खाएर कम गुणस्तरको कालोपत्रे गरिएका कारण सडक यस्तो हविगतमा पुगेको स्थानीय बासिन्दाको गुनासो छ ।

कालोपत्रे गरेको भनिएको सडकका ठाउँ-ठाउँमा गाडीसमेत डुब्ने खाल्डा परेका छन् । ६ वर्षअघि एउटा प्याकेजमा चार करोड ५० लाख रुपैयाँका दरले १६ वटा प्याकेजमा करिब ७२ करोड रुपैयाँको लगानी गरी यो सडक कालोपत्रे गरिएको थियो । तर, त्योे रकम कहाँ गयो, अत्तो पत्तो छैन । सरकारले यसमा अनुगमन गरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउनुपर्ने हो, तर त्यो हुन सकेको छैन ।

संखुवासभा जिल्लालाई पर्यटकीयरुपमा अत्यन्तै महत्वपुर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । संखुवासभा, तेह्रथुम र धनकुटालाई पर्यटकीय ‘हब’का रुपमा लिन सकियो भने यसले सुनसरी र मोरङका जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने देखिन्छ ।

khadabari bajar
संखुवासभाको सदरमुकाम खाँदबारी बजार

पूर्वी नेपालको प्रमुख आर्कषणको केन्ऽका रुपमा रहेको राष्ट्रिय फुल लालीगुँरासको राजधानी तीनजुरे-मिल्के-जलजले यही क्षेत्रमा पर्छ । योे क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका लाली गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइन्छन् । यस क्षेत्रमा वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुँरासले आन्तरिक तथा वाहृय पर्यटकको मन तान्न निकै सफल भएको छ । उक्त समय लालीगुँरास फुल्ने क्षेत्रमा पर्यटकहरुको भरिभराउ हुने गरेको छ ।

तर, त्यसलाई व्यवसायिकता दिन सकिरहेको अवस्था देखिँदैन भन्दै पर्यटन व्यवसायी भविश श्रेष्ठ यहाँको पर्यटकीय विकासका लागि होटलहरुलाई व्यवस्थित गरिनुपर्ने  बताउँछन् ।

त्यसो त अहिले पनि विदेशी एवं आन्तरिक पर्यटकहरुले काठमाडौ वा बिराटनगरबाट तुम्लीङटारसम्मको हवाइ यात्रा गरी सिधा केही घण्टाको सवारी यात्रा गर्दै हिमश्रृंखलाको मनमोहक दृश्यावलोकन गर्न सक्छन् । तुम्लीङटार उपत्यकालाई विदेशी तथा स्वदेशी पर्यटकहरुले मन पराउँदै आएका छन् । तर, यसको प्रचार प्रसारको कमी रहेको पर्यटन बोर्डका अधिकृत सुमन पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment